कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

मुस्ताङमा जाने बाढीको प्रकृति

कागबेनीमा बाढी गएको दिन त्यस क्षेत्रमा धेरै वर्षा भएको थियो । महिनादिनको वर्षाको लगभग आधा एकै दिनमा हुँदा त्यस्तो क्षति निम्तियो ।
सुदीप ठकुरी

केही साताअघि मुस्ताङको कागबेनी बजार क्षेत्रमा लेदो बाढीले नोक्सान गर्‍यो । काग खोलाको सतह एक्कासि बढेर कागबेनीमा पस्दा ३१ भन्दा बढी घर/होटलमा क्षति पुग्यो । जोमसोम–कोरोला सडकको पक्की पुल, झोलुंगे पुलसहित तीनवटा विद्युतीय पोल र दुइटा गाडी बगे ।

मुस्ताङमा जाने बाढीको प्रकृति

कागबेनीमा बाढीका कारण भएको यो क्षति धेरै हो । मुस्ताङमा आएको यो बाढीबारे विभिन्न किसिमले विश्लेषण भइरहेका छन् । केहीले यसलाई जलवायु परिवर्तनको प्रत्यक्ष असर भन्न पनि भ्याए । घटना भएको दिन जोमसोम जलमापन केन्द्रले कालगण्डकीको जलसतह ८ बजेर १० मिनेटमा २.३५ मिटर, ९ बजे १.६५ मिटर र राति साढे ९ बजे २.१० मिटर, ११ बजे २.७७ मिटर मापन गरेको थियो । जबकि गत वर्ष जलसतह ३.५२ मिटर हुँदा पनि धेरै क्षति भएको थिएन ।

कालीगण्डकी र काग खोलाको दोभाननजिक करिब ४ सय मिटर दूरीमा बाढीले क्षति गरेको देखियो । काग खोलाभन्दा माथि पर्ने तिरी खोलामा पहिरो खस्दा नदी प्रवाह रोकिएकाले कागबेनीमा अकस्मात् भेलबाढी आएर बस्ती क्षेत्रमा फैलिएको थियो ।

काग खोलाको करिब १० मिटर (दायाँबायाँ) क्षेत्रभित्र मानवबस्ती छ । नदी र मानव बस्तीको सतह लगभग उस्तै छ । नदीको बहाव क्षेत्र अति नै साँघुरो भएकाले पानीको सतह घटबढ हुनेबित्तिकै त्यसको असर पर्छ नै । नदीको बहाव क्षेत्र पर्याप्त नभएको र नजिकै घरहरू बनेकाले लेदोसहितको बाढी बहाव क्षेत्र (गाउँ) मा पुगेको हो । त्यही बाढी कागबेनी बस्ती क्षेत्रभन्दा माथि पसेको देखिँदैनÙ नदी गहिरो भएको र गाउँबस्ती नदी सतहभन्दा केही उच्च स्थानमा र टाढा रहेको हुँदा त्यहाँ क्षति नभएको हो ।

कागबेनीमा नदीको बहाव क्षेत्र अत्यन्त साँघुरो छ, गहिराइ पनि त्यति छैन । नदी सतह मानव बस्तीकै हाराहारीमा हुँदा पानी सजिलै गाउँमा पस्यो । खोलाको तटीय बहाव क्षेत्र साँघुरिँदा त्यहाँ बाढीले धेरै नोक्सान पुर्‍यायो । काग खोलामा बाढी पस्नुअघि तिरी खोलाको गेग्रानसहितको भेलले काग खोलानजिकैको तटबन्ध भत्काउँदै आएको थियो । तिरी खोला थुनियो, त्यहाँको बाँध भत्किएर तल आउँदा कागबेनीनजिकैको बाँध पनि भत्काएर खोला गाउँ पस्यो । यस्तै, बाढी फिर्ता अवधि (रिटर्न पिरियड) को अध्ययन नगरी बस्ती बसालिएको हुँदा पनि यो क्षति भएको आकलन गर्न सकिन्छ ।

काग खोलाको जलाधार क्षेत्र करिब ९५ वर्ग किलोमिटर छ । त्यति क्षेत्रभित्र परेको पानी काग खोलासम्म आइपुग्छ । बाढी गएको दिन २५.२ मिलिमिटर वर्षा भएको जोमसोम स्टेसनमा मापन गरिएको थियो । अर्थात्, त्यस जलाधार क्षेत्रमा २३ लाख ९४ हजार क्युबिक मिटर पानी पर्‍यो । यो भनेको त्यहाँ सो दिन २ अर्ब ३९ करोड ४० लाख लिटर वर्षा भएको थियो । विभिन्न माध्यम हुँदै त्यो पानी खोला वा अन्य क्षेत्रमा पुग्यो । सानो जलाधार क्षेत्रमा धेरै मात्रामा भएको वर्षाको प्रभाव पर्ने नै भयो । बाढी ह्वात्तै आउँदा कृत्रिम बाँधले थेग्न नसकेपछि लेदोसहितको बाढी खोलामा पस्यो ।

मुस्ताङ क्षेत्रमा पहिले पनि बाढी गएकै हो । खोलानजिकै भेटिने ठूला ढुंगाहरू पहिलेको बाढीले नै ल्याएको हो । जोमसोम भएर बग्ने खोलाहरूमा पनि ठूलठूला चट्टान तथा ढुंगाहरू टाढाबाट बगेरै आएका हुन् । तर, त्यति बेलाको बाढी के कारणले आयो भन्नेबारे वैज्ञानिक अनुसन्धान भएको छैन ।

जोमसोम वर्षा मापन केन्द्रमा वार्षिक २९२.७ मिलिमिटर वर्षा औसत मानिन्छ । जुलाईमा ४६.८ र अगस्टमा ४३.९ मिलिमिटर वर्षा औसत हो । कागबेनीमा बाढी गएको दिन त्यस क्षेत्रमा धेरै वर्षा भएको थियो । महिनादिनको वर्षाको लगभग आधा एकै दिनमा हुँदा त्यस्तो क्षति निम्तियो ।

दक्षिणबाट उत्तरतर्फ आएको मनसुनी वायु नेपालका अग्ला हिमालका दक्षिण मोहडामा ठोक्किएपछि वर्षा हुने गर्छ । भौगोलिक अवस्थिति हिमालको उत्तरी मोहडामा भएका कारण मुस्ताङलाई हिमालपारिको जिल्ला भनिन्छ । अर्थात्, मुस्ताङ पानी पर्ने क्षेत्रको ठ्याक्कै अर्कोपट्टि, ‘रेन स्याडो’ क्षेत्रमा पर्छ । यस्तो क्षेत्रमा पानी कमै पर्ने गर्छ । मनाङ एवं हुम्ला र डोल्पा जिल्लाका केही स्थान रेन स्याडो क्षेत्रमा पर्छन् । पानी कम पर्ने भएकाले यी क्षेत्र प्रायः सुक्खा छन् । सुक्खा क्षेत्र हुनुको अर्थ हो वन तथा वनस्पति पातलो हुनु । सुक्खा क्षेत्रको माटोमा सजिलैसँग पानी सोस्न सक्ने क्षमता पनि हुँदैन । पहिलादेखि नै भिजेको जमिन हुँदा पानी सोसिएर जान सक्छ । तर मुस्ताङको हकमा सुक्खा माटो भएकाले जमिनले चाँडै वर्षाको पानी सोस्ने सामर्थ्य राख्दैन । यसै कारण तल्लोतटीय क्षेत्रमा लेदोसहितको बाढीको जोखिम हुन्छ । यसलाई आकस्मिक बहाव (फ्लास फ्लड) पनि भन्ने गरिन्छ । सुक्खा माटोमा धेरै वर्षा हुनेबित्तिकै आकस्मिक बहाव हुन्छ र त्यसले जमिनको सतहमा भएका संरचनालाई सोहोरेर लैजान्छ ।

अर्को कुरा, नदी नजिकैको क्षेत्रमा मानव बस्ती बसाउँदा सम्भावित जोखिम आकलन गर्नुपर्छ । कागबेनीमा त्यस्तो भएको पाइएन । पहिरो थुनिएर बनेको बाँध फुटेपछि आएको बाढीलाई विषयान्तर गरेर अन्यत्र जोड्नु उपयुक्त हुँदैन । त्यहाँको क्षतिमा मानवीय कारण बढी देखियो ।

निश्चित समयमा नियमित रूपमा यस्ता घटनाहरू बढ्दै गएका हुन् भन्ने पर्याप्त आधार हामीकहाँ छैन । समग्र नेपालमा बाढीपहिरो प्रत्येक वर्ष घटबढ भइरहेको देखिन्छ । तर, बाढीका ठूला हानिनोक्सानीको अभिलेख हेर्दा तिनमा जलवायु परिवर्तन सम्भावित कारक रह्यो कि भन्न सकिन्छ । मुस्ताङमा त्यो पहिरो जानुमा पनि मानवीय कारण छ कि नदीले धार परिवर्तन गरेको हो, निश्चित हुनुपर्छ । त्यसैले कागबेनी घटनामा मानवीय क्रियाकलाप मुख्य र जलवायु परिवर्तन सम्भावित कारक रह्यो भन्न सकिन्छ ।

ठकुरी जलवायु विज्ञ तथा मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन हुन् ।

प्रकाशित : भाद्र १२, २०८० ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?