कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

संवेदनाहीन बन्दै स्वास्थ्यसेवा

साधना प्रतीक्षा

मानिस रोगमुक्त हुन सामान्यतया डाक्टरकहाँ जाने गर्दछन् अनि रोगमुक्त पनि हुन्छन् । यो हाम्रो समाजको दृश्य यथार्थ हो तर अर्को अदृश्य यथार्थ पनि छ जहाँ डाक्टरको लापरबाही तथा प्रयोग गर्दै जाने प्रवृत्तिका कारण बिरामी निको हुनु सट्टा समस्या झनै बल्झिने गर्दछ ।

संवेदनाहीन बन्दै स्वास्थ्यसेवा

एकपछि अर्को डाक्टरको प्रयोगद्वारा उसको समस्याले गम्भीर रूप पनि लिने गर्दछ तर डाक्टरका लागि यो कुनै गम्भीर विषय बन्दैन । किनभने डाक्टरकहाँ दैनिक यस्ता असंख्य रोगी आउने गर्दछन् तर बिरामी लिएर डाक्टरकहाँ धाउनेहरूका त ती आफ्नो परिवारका सीमित सदस्यजस्तै आमा–बाबु, छोरा–छोरी आदि हुन्छन् । उपचारका नाममा डाक्टरद्वारा गरिने प्रयोगका कारण उनीहरूले भोगेको प्रतिकूलता आरम्भमा देखिएको स्वास्थ्य समस्याभन्दा कैयौं गुणा बढी हुन्छ । क्यान्सरपीडित भएर उपचारका लागि अनेक सास्ती खेप्दै विदेश गएर मुस्किलले मृत्युको मुखबाट निस्केर आएकी एक परिचितको भनाइ अझै ताजा लाग्छ मलाई । उनले आँखाभरि आँसु पार्दै भनेकी थिइन्, ‘डाक्टरले मलाई अनेक अड्कलबाजी गर्दै औषधि नदिएर सुरुमै क्यान्सर अस्पताल वा सर्जनकहाँ जाने सुझाव दिएका भए मैले यति दुःख पाउने थिइनँ नि !’ स्त्रीरोग विशेषज्ञले उनको स्तनको समस्यालाई थुनेलो भनेर उपचार गर्दागर्दै सो क्यान्सर फैलिइसकेको रहेछ ।

डाक्टरको प्रयोगका कारण यसरी सास्ती खेपेर पछुताउनेहरू असंख्य छन् । आफ्नो बच्चाको उपचारका क्रममा डाक्टरले पटक–पटक प्रयोगस्वरूप औषधि दिँदै गएपछि समस्या समाधान हुनु सट्टा झनै जटिल भएपछि लगभग दुई महिनासम्म विभिन्न अस्पताल तथा डाक्टरकहाँ धाउँदा–धाउँदा झेल्नुपरेको विषमता तथा मानसिक पीडाका कारण मनमा प्रश्नहरू उब्जन थाले— डाक्टरहरूको यस्तो प्रयोगका कारण मजस्ता कतिले यस्तै पीडा झेलिरहेका होलान् ? कति बिरामी उपचारका क्रममा थप समस्यामा परिरहेका होलान् ? यस्तो हुनुमा दोष कसको हो ? बिरामी या डाक्टरको ? विश्वास ठूलो कुरा हो । विश्वासकै आधारमा मानवीय व्यवहार चलेको हुन्छ तर यही विश्वास कहिलेकाहीँ घातक पनि हुँदो रहेछ । डाक्टरप्रतिको विश्वासका कारण बिरामी तथा उसका अभिभावकले बिरामीमाथि प्रयोग भइरहेको थाहा पाउँदैनन् । एउटा औषधिले काम नगरे अर्कोले त काम गरिहाल्ला भन्ने विश्वासका कारण डाक्टरले पटकपटक औषधि फेरिरहँदा पनि कुनै प्रश्न उठाउँदैनन् । डाक्टरले उसको समस्यासँग पूर्ण परिचित नभए पनि अनुमानका भरमा उपचार गरिरहेका हुन्छन् । जब समस्या जटिल बन्छ अनि मात्र अन्यत्र जाने सुझाव दिन्छन् । यसर्थ डाक्टरको बिरामीमाथि प्रयोग गरेर आफ्नो विज्ञता बढाउन खोज्ने प्रवृत्ति र बिरामी पक्षको डाक्टरमाथिको एकोहोरो विश्वास दुइटै समस्याका कारक हुन् ।

हामीकहाँ बिरामीको सुसूचित हुने अधिकार कुण्ठित छ । हरेक बिरामी तथा तिनका आफन्तलाई आफ्नो समस्या र त्यसको समाधानको उपायबारे जान्ने अधिकार हुन्छ । बिरामीलाई के भएको छ र त्यसलाई कसरी निको पार्न सकिन्छ भन्नेबारे उसले बुझ्ने गरी बताइदिनु पनि डाक्टरको धर्म हो तर हाम्रा अधिकांश डाक्टर आफ्नो धर्ममा इमानदार देखिँदैनन् । बिरामी जाँचेपछि चुपचाप औषधि लेखेर ‘यो खानुस्, ठीक भैहाल्छ’ भन्ने अनि त्यसले ठीक नभएपछि अर्को औषधि दिएर त्यसै भन्ने परिपाटीले हाम्रो स्वास्थ्य क्षेत्र ग्रस्त छ । यो पनि एक प्रकारको प्रयोग नै हो किनकि यसबाट या डाक्टर बिरामीको समस्यासँग पूर्ण परिचित छैनन् या त उसको अधिकारप्रति सचेत छैनन् भन्ने बुझिन्छ । डाक्टरको यस्तो असचेतताका कारण बिरामी शारीरिक–मानसिक समस्या झेल्न बाध्य हुन्छ ।

हाम्रो स्वास्थ्य क्षेत्रमा देखिएको अर्को समस्या हो— सरकारी अस्पतालका विशेषज्ञ डाक्टरहरू सर्वसाधारणको पहुँचमा नहुनु । सरकारी सुविधा लिएर पनि अधिकांश समय निजी स्वास्थ्य संस्थामा बिताउने उनीहरूले सर्वसाधारणको अत्यन्त चाप हुने सरकारी अस्पतालका ओपीडीमा बिरामी हेर्दैनन् । उनीहरू बस्ने त्यहाँका भित्री क्याबिनसम्म सर्वसाधारण बिरामी पुग्नै सक्दैनन् । यदि कोही पुगिहाले पनि उनीहरूले डाक्टरको सकारात्मक प्रतिक्रिया नै पाउँदैनन् । म आफैं भुक्तभोगी छु । डाक्टरको सकारात्मक प्रतिक्रिया पाउनैका लागि कहिले घाँटीमा परिचयपत्र झुन्ड्याएर त कहिले आफ्नो परिचय बताउँदै हिँड्नुपरेको प्रशस्त अनुभव छ मसँग । त्यसैले प्रश्न गर्न मन लाग्छ मलाई— मेरोजस्तो परिचयपत्र र परिचय नहुने आम नागरिकले के गर्ने ? के उनीहरूप्रति सरकारी सुविधाभोगी डाक्टरको उत्तरदायित्व छैन ?

डाक्टरसाहेब, निजी स्वास्थ्य संस्थामा आफ्नो लगानी हुने र राम्रो प्रतिफल पनि प्राप्त हुने हुँदा त्यसप्रति तपाईं बढी उत्तरदायी हुनु स्वाभाविकै हो तर यो पनि नबिर्सनुस् कि तपाईंले लिने सरकारी सेवासुविधा तिनै सर्वसाधारणको पसिनाको कमाइबाट जम्मा हुन्छ । त्यसैले जनमुखी बन्नुहोस् । सरकारी अस्पतालमा सहजै तपाईंको सेवा प्राप्त गर्ने अधिकार सामान्य नागरिकलाई छैन ? तपाईं बस्ने क्याबिनसम्म पुग्नका लागि उसले कुनै दलको नेता वा सत्तासीन व्यक्तिको घरदैलो चहार्दै उनीहरूको ऋणी भएपछि मात्र तपाईंको सेवा पाउने हो र ? आम नागरिकलाई निजी अस्पताल जान बाध्य पार्ने हो भने तपाईं सरकारी अस्पतालको सुविधा लिएर त्यहाँ बस्नुहुन्छ किन ? तपाईं आम नागरिकका लागि सर्वसुलभ कहिले हुने ? सरकारी अस्पतालको अस्तव्यस्तता, बिरामीको अत्यधिक चाप एवम् कोलाहलमा काम गर्न तपाईंलाई पनि सजिलो त छैन । त्यसैले आवश्यक सुधारका लागि सरकारसँग माग गर्नुहोस् । दबाब दिनुहोस् । आफ्ना तर्फबाट सक्दो प्रयास गर्नुहोस् तर सर्वसाधारण बिरामीदेखि लुकेर भने नबस्नुहोस् । सरकारी अस्पतालको भीडभाड अनि गरिबको पसिनाको गन्धदेखि तपाईं भाग्न पाउनुहुन्न । किनकि तपाईंहरूमध्ये अधिकांशलाई सरकारले निःशुल्क डाक्टर बनाएको हो । सरकारले तपाईंमाथि गरेको त्यो लगानीमा तिनै गरिबको पसिना पनि मिसिएको हुन्छ ।

आम नेपालीको आर्थिक क्षमताले निजी अस्पतालका डाक्टरको चर्को शुल्क तिर्न भ्याउँदैन । सरकारी अस्पतालका तुलनामा दोब्बरभन्दा बढी महँगो प्रयोगशालाको सुविधा उनीहरू कसरी लिन सक्लान् ? बिनापरीक्षण गम्भीर समस्याको निदान पनि त हुन सक्दैन । कतिपय डाक्टरहरूले त आवश्यकताभन्दा बढी परीक्षण गर्न लगाउनुका साथै अन्यत्र गरेको परीक्षणलाई नमान्ने गरेको गुनासो पनि निजी स्वास्थ्य संस्थामा जाने बिरामीहरूले गरेको पाइन्छ । यदि हो भने, डाक्टरको यस्तो व्यवहार शोभनीय पक्कै छैन ।

प्रत्येक दिन थरीथरीका बिरामी तथा थरीथरीका रोगसँगको तपाईंको दिनचर्या सहज र सरल भने पक्कै छैन । तर पनि यो पेसा तपाईंको आफ्नै रोजाइ हो, बाध्यता होइन । त्यसैले आफ्नो पेसाप्रति इमानदार बन्नुहोस् । असाध्य रोगीलाई पनि नयाँ जीवन दिन सक्ने पवित्र पेसा रोजेकाले सेवा नै धर्म हो भन्ने मर्मलाई पनि नबिर्सनुहोस् । आम नागरिकमैत्री बनेर तपाईं आफूमाथि राष्ट्रले गरेको लगानीको सम्मान गर्नुहोस् । तपाईंले रोजेको पेसा सामान्य होइन, जीवनदायिनी शक्ति छ यसमा । त्यसैले त डाक्टरलाई हामीकहाँ भगवान्को रूप मानिन्छ । मानिसलाई पुनर्जीवन दिन सक्ने अद्भुत चमत्कार छ तपाईंको हातमा तर पनि तपाईंहरूमध्ये धेरैले यसलाई आत्मसात् गरेको देखिँदैन । कतिपयको व्यवहारमा त मानवीय संवेदनासम्म पनि पाइँदैन । त्यसैले तपाईं भगवान् बन्न नसके पनि मान्छे त बन्नुहोस्, एउटा संवेदनशील मन–मुटु भएको मान्छे !

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र यसरी असंवेदनशील बन्दै जानुमा कुनै एक पक्षको मात्र कमजोरी भने पक्कै छैन । यससँग सम्बन्धित सबै पक्ष र निकायले यसलाई गम्भीरतापूर्वक लिनैपर्छ । सर्वसाधारणले सरकारी अस्पतालबाट स्तरीय सेवा लिन सक्ने वातावरण बनाइनैपर्दछ । सरकारी अस्पतालका भौतिक संरचना तथा व्यवस्थापन पक्षमा विगतका तुलनामा हाल केही सुधार भने पक्कै भएको छ र पनि यो पर्याप्त छैन । बिरामीको चाप थेग्न सक्ने गरी त्यहाँको सेवा विस्तार हुनैपर्दछ ताकि बिरामीले त्यहाँका विशेषज्ञ डाक्टरको सेवा प्राप्त गर्न र शल्यक्रिया गराउनका लागि ठूला नेता र मन्त्रीको दैलो चहार्न नपरोस् । हरेक बिरामी आफ्नो सेवाको उत्तिकै हकदार हो भन्ने भावना लिएर सेवा प्रदान गर्नु अनि आफ्नो क्षमता र क्षेत्रभन्दा बाहिरको बिरामीमाथि अनावश्यक प्रयोग नगर्नु नै सच्चा डाक्टरको धर्म हो । त्यसैले डाक्टरसाहेब, आफ्नो धर्मको निर्वाह गर्नुहोस् ।

प्रकाशित : भाद्र ८, २०८० ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?