कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

शिक्षक अभाव : दीर्घकालीन रोग

दीर्घकालीन दृष्टिबाट हेर्ने हो भने अहिले पालिकाहरूले विद्यालयमा गणित र विज्ञानका राम्रा शिक्षक तयार गर्नतर्फ लगानी गर्नु उपयुक्त हुन्छ, ताकि चार–पाँच वर्षपछि डाक्टरी र इन्जिनियरिङ पढ्ने धेरै विद्यार्थी तयार हुन सकून् ।
देवीराम आचार्य

साउन २ गते कान्तिपुरमा प्रकाशित दसपटकसम्म विज्ञापन गर्दा पनि गणित विषयको शिक्षक नपाइएको शीर्षकको समाचारले सरोकारवालाहरूको ध्यान खिच्यो । गाउँका विद्यालयहरूमा शिक्षक अभावको यस्तो कथा धेरै पहिलेदेखिकै हो ।

शिक्षक अभाव : दीर्घकालीन रोग

महालेखापरीक्षकको २०४० सालको प्रतिवेदनमा गणित र विज्ञान शिक्षकको अभावलाई शिक्षा क्षेत्रको समस्याका रूपमा उल्लेख गरिएको थियो । गणित र विज्ञान विषयका शिक्षकको अभाव ४० वर्षसम्म पनि उस्तै गरी देखिएको छ । विज्ञान शिक्षकलाई तालिम दिन विज्ञान शिक्षा परियोजना र गणितलाई रुचिकर बनाई यसमा विद्यार्थी बढाउन यूएसएआईडीको सहयोगमा अर्को परियोजना सञ्चालित भएका थिए । तर पनि शिक्षक तयारी, विकास र हरेक वर्ष कति शिक्षक आवश्यक पर्छ भन्ने प्रक्षेपण गर्ने संस्कार र पद्धति विकास नहुँदा ४० वर्षसम्म पनि गणित र विज्ञानका शिक्षकको अभाव भइरहेकै छ । शिक्षक तयार गर्ने काम विश्वविद्यालयहरूबाट हुने गरेको छ तर त्यो पूर्ण छैन र गुणस्तरीय पनि हुन सकेको छैन । विश्वविद्यालयमा शिक्षाशास्त्रका विषयहरू पढाइन्छन्, ती विषय पढेका विद्यार्थीले अध्यापन अनुमतिपत्रको परीक्षा दिन्छन्, तिनीहरू नै शिक्षक छनोट परीक्षामा सहभागी हुन्छन् र शिक्षक बन्छन् । गाउँपालिका वा विद्यालयहरूमा पनि अध्यापन अनुमतिपत्र भएका व्यक्तिहरू अस्थायी, करार, राहत, संघीय अनुदान, प्रदेश अनुदान, पालिका शिक्षक, स्वयंसेवकजस्ता विभिन्न नाममा शिक्षक बन्छन् ।

विश्वविद्यालय अनुदान आयोगको पछिल्लो प्रतिवेदन अनुसार देशभरका १,४४० उच्च शिक्षाका शैक्षिक संस्थामध्ये ५६३ मा शिक्षाशास्त्रको अध्यापन हुने गर्छ । उच्च शिक्षामा अध्ययनरत जम्मा विद्यार्थीमध्ये २२.१८ प्रतिशतले शिक्षाशास्त्रको अध्ययन गर्छन् र तीमध्ये ६३ प्रतिशत छात्रा छन् । शिक्षाशास्त्र संकाय अध्ययन गर्नेहरू मात्र शिक्षक बन्न पाउने प्रावधान छ । केही तोकिएका विषयमा शिक्षाशास्त्र अध्ययन नगरे पनि अध्यापन अनुमतिपत्रको परीक्षा दिन पाइए पनि शिक्षाशास्त्र संकाय अनिवार्य अध्ययन गर्नुपर्ने व्यवस्था छ । त्रिविमा सबैभन्दा कम विद्यार्थी उत्तीर्ण हुने संकायमा शिक्षा पर्छ । यसको उत्तीर्णदर २०७५ मा १६ प्रतिशत मात्र थियो । संकायकै गुणस्तर कमजोर भएको, शिक्षाशास्त्र संकायमा कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थी भर्ना हुने गरेको, अधिकांश ग्रामीण क्षेत्रमा शिक्षाशास्त्रको पढाइ भइरहेको जस्ता कारणले अब्बल शिक्षक उत्पादन हुन सकेका छैनन् । गत वर्ष शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि गरेको विज्ञापनमा तीनै तहमा गरी ३,९६१ पदमा पदपूर्ति हुन सकेन (हेर्नुस्, कान्तिपुर, २०७९ चैत ३) । स्थायी पदमा समेत शिक्षक पदपूर्ति हुन नसकिरहेको अवस्थामा खासखास विषयमा शिक्षक नपाइनु स्वाभाविक पनि हुन सक्छ ।

दस पटकसम्म विज्ञापन गर्दा पनि शिक्षक नपाइएको, ४० वर्षअगाडिदेखि नै निरन्तर रूपमा त्यही समस्या देखिइरहेको र स्थायी शिक्षकको समेत पदपूर्ति नभइरहेको पृष्ठभूमिमा गणित र विज्ञान विषयको शिक्षक तयारीका सन्दर्भमा फरक र नयाँ अभ्यासहरूको अवलम्बन गर्नु जरुरी छ । गणित र विज्ञान विषयका शिक्षकको अभावका सन्दर्भमा हेर्दा, माध्यमिक तहबाट उच्च शिक्षामा गणित र विज्ञान विषयको अध्ययन गर्ने विद्यार्थीको संख्या तथा माध्यमिक तहमा विज्ञान र गणित विषय पढ्नका लागि योग्यतासहित उत्तीर्ण हुने विद्यार्थी संख्या अझ महत्त्वपूर्ण हुन्छ । गत महिना मात्र प्रकाशित एसईईको नतिजामा सबैभन्दा धेरै विद्यार्थी गणितमा कमजोर पाइए । जम्मा परीक्षार्थीमध्ये ३३ प्रतिशत विद्यार्थीको ई ग्रेड आएको छ । परीक्षामा २० भन्दा कम अंक प्राप्त भएमा ई ग्रेड दिने गरिन्छ । यसरी हेर्दा गणितमा अरू १० प्रतिशत विद्यार्थीको डी ग्रेड र १२ प्रतिशतको डी प्लस ग्रेड आएको छ । जम्मा परीक्षार्थीमध्ये गणित विषयमा ५५ प्रतिशतको सिकाइस्तर ग्राह्य अवस्थाको देखिन्छ । विद्यार्थीको राष्ट्रिय सिकाइ उपलब्धि परीक्षणको नतिजाले समग्रमा करिब ७० प्रतिशत विद्यार्थीले कक्षामा सिक्नुपर्ने न्यूनतम सिकाइस्तर हासिल नगरेको देखाएको छ । कक्षा ३ पूरा गरेर ४ मा जाने ५० प्रतिशत विद्यार्थीमा संख्याको ज्ञानै भएको हुँदैन । ललितपुरको एउटा गाउँपालिकाका १६ विद्यालयका कक्षा ३ का १३७ विद्यार्थीमा गरिएको परीक्षणमा (१३५ लाई एक सय पैंतीस भनेर) पहिचान गर्न सक्ने विद्यार्थी ४१ जना मात्र थिए । कक्षा ५ मा पुगेका ६० प्रतिशतभन्दा धेरै विद्यार्थीले गणितका आधारभूत ज्ञान जोड, घटाउ, गुणन र भागका सीपहरू सिकेका हुँदैनन्, जसले गर्दा माथिल्ला कक्षाहरूमा गणित सिक्न सक्दैनन् ।

राष्ट्रिय परीक्षा बोर्ड अनुसार, कक्षा ११ मा भर्ना हुनका लागि समग्रमा जीपीए १.६ भए पुग्छ । यद्यपि विद्यार्थीले आफ्नो सिकाइस्तरको मूल्यांकन आफैंले गरेरै कुन विषय पढ्ने वा नपढ्ने रोज्ने हुनाले सामान्यतया ५० भन्दा कम अंक ल्याउने विद्यार्थीले गणित विषय पढ्ने सम्भावना ज्यादै कम हुन्छ । खास कारणले परीक्षा बिग्रिएका केही विद्यार्थीले पढ्लान् । यस अर्थमा यो वर्ष ४५ प्रतिशत विद्यार्थी गणित पढ्न योग्य छन् तर तीमध्ये कतिले गणित वा विज्ञान पढ्लान् ? तथ्यांक सार्वजनिक भएको छैन तथापि तीमध्ये कति सामुदायिकबाट होलान् ? र, कति विद्यार्थी शिक्षण पेसाका लागि तयार भई शिक्षक सेवा आयोगबाट अध्यापन अनुमतिपत्र लिएर शिक्षक बन्न तयार होलान् । अहिले २०८० मा विद्यालयमा गणित र विज्ञान विषयका शिक्षक उपलब्ध हुन सकेनन् भने २०८१ मा चाहिँ होलान् ? त्यस्तो आधार पाइँदैन । कक्षा १० को कमजोर सिकाइस्तर भएका विद्यार्थीहरूले विज्ञान, गणित र अंग्रेजी विषय अध्ययन गर्दैनन् । परीक्षामा अंक जेजति आए पनि कुनै विषयमा आफ्नो सिकाइस्तर कति छ र त्यो विषयको रुचि कस्तो छ, विद्यार्थी आफैंले छनोट गर्छन् । विद्यालय तहको कमजोर सिकाइ अवस्थाले उच्च शिक्षामा प्राविधिक विषय पढ्ने विद्यार्थी प्रतिशत घटिरहेको छ र साधारण शिक्षामा बढिरहेको छ । तीन वर्षयता प्राविधिक उच्च शिक्षा पढ्ने विद्यार्थीको संख्या २३ प्रतिशतबाट घटेर २० मा पुगेको छ ।

शिक्षक तयारी कोर्स बीएडमा गणित र विज्ञान पढ्ने विद्यार्थी एकदमै कम छन् र क्रमशः घटिरहेका छन् । बीएडमा गणित र विज्ञान पढ्नका लागि कक्षा ११ र १२ मा गणित वा विज्ञान पढेकै हुनुपर्छ र त्यसका लागि विद्यालयमा राम्रो सिकाइ भएको पनि हुनुपर्छ । कक्षा ११ र १२ मा गणित र विज्ञान पढ्ने विद्यार्थी पनि एकदमै कम छन् र क्रमशः घटिरहेका छन् । कक्षा ११ र १२ मा गणित र विज्ञान पढ्ने निजी विद्यालयका सहरकेन्द्रित विद्यार्थी मेडिकल तथा इन्जिनियरिङतर्फ जान्छन् र त्यो भएन भने उनीहरूको लक्ष्य विदेश हुन्छ । विद्यार्थीहरू विदेश जाने सावलमा अर्कै बहस होला तर आजका दिनमा गणित र विज्ञान पढेका, सहरी क्षेत्रका, मध्यमवर्गीय परिवारका युवायुवती नेपालमा बस्न चाहँदैनन् ।

ग्रामीण क्षेत्रका केही पालिकाले डाक्टरी र इन्जिनियरिङ पढाउने घोषणा गरिरहेका छन् । तर त्यस्ता पालिकाका विद्यालयहरूबाट कति विद्यार्थीले डाक्टरी र इन्जिनियरिङ पढ्न सक्ने ल्याकत राखेर विद्यालय उत्तीर्ण गर्छन् ? त्योभन्दा महत्त्वपूर्ण, विद्यालय तहको शिक्षण सिकाइमा सुधार गरेर अब्बल विद्यार्थी बनाउन सकियो भने उसलाई पढ्न पालिकाले खर्च गर्न नपर्ला र छात्रवृत्तिमै पढ्न पाउला । यदि दीर्घकालीन दृष्टिबाट हेर्ने हो भने अहिले पालिकाहरूले विद्यालयमा गणित र विज्ञानका राम्रा शिक्षक तयार गर्नतर्फ लगानी गर्नु उपयुक्त हुन्छ, ताकि चारपाँच वर्षपछि डाक्टरी र इन्जिनियरिङ पढ्ने धेरै विद्यार्थी तयार हुन सकून् ।

शिक्षक व्यवस्थापन हाम्रो शिक्षा प्रणालीको दीर्घरोग नै भएको छ । शिक्षक तयारी, विकास र व्यवस्थापनका पक्षमा संवेदनशील हुन सकिएको छैन । कतै विद्यार्थी छन् त शिक्षक छैनन्, कतै शिक्षक छन् त विद्यार्थी छैनन् । सहरी क्षेत्रमा शिक्षक अभाव छैन तर ग्रामीण क्षेत्रमा शिक्षक नै पाइँदैनन् र पाइएका शिक्षक पनि लामो समय बस्दैनन् । गुणस्तरीय शिक्षकबाट सिक्ने अधिकारको प्रत्याभूति हुन सकेको छैन । शिक्षक तयारी, शिक्षक विकास, शिक्षक व्यवस्थापनका परम्परागत ढाँचामा परिवर्तन जरुरी छ । सूचना प्रविधिका कारण शिक्षक व्यवस्थापनलाई नयाँ ढाँचाबाट विकास गर्न सकिने अवसर छ । पालिकाहरूले अब बहुविद्यालय शिक्षक, मुख्य शिक्षक र सहायक शिक्षक, प्रविधि शिक्षकजस्ता अवधारणाहरूबाट शिक्षक व्यवस्थापन रणनीति तय गरी शिक्षक व्यवस्थापन गर्न सक्छन् । शिक्षाबाहेक अन्य संकाय अध्ययन गरेका व्यक्तिहरूलाई पनि अवसर दिन र केही छोटो समयका सघन कोर्सहरू सञ्चालन गर्न सकिन्छ । पालिका तहबाटै शिक्षक तयारी र विकासमा लगानी सुरु गर्न सकियो भने अबका पाँच वर्षमा शिक्षक आपूर्ति सहज हुनेछ । अन्यथा यसरी नै अरू ४० वर्षसम्म पनि शिक्षक नपाइने अवस्था रहन सक्छ ।

प्रकाशित : भाद्र ४, २०८० ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?