प्रमुख दलहरूलाई अस्तित्वरक्षाको हाँक

पुराना दलहरूको अस्तित्वरक्षाको प्रश्न उठ्न थाले पनि नयाँ आउने दलहरूको भविष्यसमेत यकिन छैन । नयाँ दलहरूको सिद्धान्त, संगठनको रूप, नेतृत्वको विश्वसनीयता प्रस्ट नभएकाले लोकतन्त्रको अग्रगामी विकासमा यी कति सहायक र स्थिर हुन्छन्, भविष्यले बताउला ।
लोकराज बराल

दलहरूको क्षयीकरणका केही कारण छन् । पहिलो कारण हो— सिद्धान्तनिष्ठ राजनीतिको अवमूल्यन । यो सबै दलमा व्याप्त छ । नेपाली कांग्रेस देशको सबैभन्दा जेठो र लोकतन्त्रप्रति समर्पित दल भएको आम धारणामा परिवर्तन भइरहेको छ किनभने कागजी सिद्धान्त व्यवहारमा उतार्दा धेरै फरक पर्न थालेको छ ।

प्रमुख दलहरूलाई अस्तित्वरक्षाको हाँक

यस दलले २०१२ सालमा निर्धारण गरेको समाजवादका माध्यमद्वारा सर्वसाधारण जनताको जीवनस्तर उठाउन आर्थिक–सामाजिक सुधार गर्ने र उदार लोकतन्त्रप्रति समर्पित भई देश विकासमा लाग्ने नीतिबाट अब यही दल टढा भएको छ । गाँस, बास र कपासका साथै सामाजिक विभेदको अन्त्य अर्थात् आधारभूत आवश्यकताको पूर्ति गर्न सरकार र दल सबल र सक्रिय हुनुपर्नेमा राजनीतिलाई भ्रष्टीकरण गरी जसरी पनि सरकारमा पुग्ने र केही नेताको स्वार्थका लागि प्रयोग हुने यन्त्र भएको छ नेपाली कांग्रेस । हाल सालै चलिरहेका घोटाला प्रकरण, उच्च तहका पदाधिकारी र तिनका आसेपासेको संलग्नताको प्रचार र सत्यताले माथिका नेताहरू बढी रक्षात्मक भइका छन् र तिनलाई अब कम जनमुखी नेताका रूपमा हेर्न थालिएको छ । अनेक गठबन्धन गरी केही सिट बढाएकामा सन्तुष्टि लिने प्रवृत्तिले आइन्दा यो दलको जनसमर्थन, औचित्य र प्रभावकारिता हराउनेछ । सत्तामा पुग्नु मात्र दलको सफलता होइन, यसको गिर्दो छविप्रति सचेत भई निदान खोज्नु सफल नेताको दायित्व हो । नेपाली कांग्रेसले तीन क्रान्तिको नेतृत्व गरेको छ र प्रत्येक क्रान्तिले राजनीतिक संरचनागत परिवर्तन गर्न सफल भएको छ तर यस्ता परिवर्तनलाई सामाजिक–आर्थिक रूपान्तरण गरी राजनीतिक व्यवस्थालाई स्थायी गर्ने काममा यो दल अलमलिएको छ । यसको संघर्षशील क्षमतामा त्यसैले ह्रास आएको छ ।

तर पनि नेपाली कांग्रेसको सैद्धान्तिक धरातल अरूको भन्दा विश्वसनीय छ । यसको विकल्पका रूपमा देखिएका नेकपा (एमाले) र माओवादी केन्द्रले स्थिर सैद्धान्तिक आधार दिन सकेका छैनन् । किनभने तिनीहरू अझै बढी कम्युनिस्ट को हुने भन्ने प्रतिस्पर्धामा लागेका पाइन्छन् । पहिचानका लागि मार्क्स–लेनिनको नाम मात्र उपयोग गरी आफ्ना कमजोरी लुकाइरहेका छन् । यसमा बाबुराम भट्टराई र माधव नेपालको धारणामा केही व्यावहारिक र समयसापेक्ष विचार पाइन्छ किनभने उनीहरू जडसूत्रवादमा समाज रूपान्तरणको सम्भावना देख्तैनन् तर विचारबाहेक उनीहरूको रूपान्तरण गर्ने भूमिका कमजोर छ । आज विश्वमा बाँकी रहेका साम्यवादी

भनिने केही देश नेपालका लागि नमुना बन्न सक्तैनन् । नेपालमा त्यस्ता व्यवस्थाको सम्भावना नभएरै नेपाल कम्युनिस्ट पार्टीको जन्मदेखि आजसम्म कम्युनिस्ट पार्टीमा एकदलीयता र वर्गसंघर्षप्रति रुझान पाइँदैन ।

नेतृत्वका दृष्टिले नेपाली कांग्रेसका तीन प्रकारका नेता छन् । पहिलो पंंक्तिमा सभापति छन् जसलाई विधानले शक्तिशाली बनाएको छ तर उनी रूपान्तरकारी भूमिका खेल्ने हैसियत राख्तैनन् । उनले अनुयायीहरूको समूह बनाएर आफ्नो स्थिति केही समयका लागि बलियो बनाएका छन् । दोस्रोमा केही युवा नेता छन् जसले परिवर्तनका लागि विद्रोहको स्वर निकाल्न थालेका छन् तर निर्णायक मोडमा लाने ताकत आर्जन गरेका छैनन् । यसपल्टको केन्द्रीय समिति बैठकले यही प्रमाणित गरेको छ । तर अरू दलको दाँजोमा नेपाली कांग्रेसका केही युवा नेतामा दललाई अग्रगामी बनाउने दबाब भने बढेको छ । नेता र परिवर्तनकारीबीच एक थरी नेता–कार्यकर्ता पर्छन् जसलाई हामी तेस्रो पंक्तिमा राख्न सक्छौं । उनीहरू आफूलाई सुरक्षित स्थानमा राख्न चाहन्छन् । वास्तवमा एजेन्डा बनाउने अग्रसरता (इनिसिएटिभ)

लिन र कार्यान्वयन गर्न जसले सक्छ, नेता त्यही हुन्छ । अरूका दाँजोमा लोकतान्त्रिक दल रहने आधार नेपाली कांग्रेसमा अझै छ किनभने अरू दल नेपाली कांग्रेसभन्दा विश्वासिलो, दरिलो भई लोकतन्त्रको विकासका लागि नयाँ एजेन्डासहित आएका देखिँदैनन् । सबैजसो यथास्थितिवादी नै छन् । अझै पनि कर्णाली प्रदेश, सुदूरपश्चिमका कतिपय जिल्ला र मधेशको तल्लो तहका जनताको जातीय र आर्थिक विभेदको अन्त्य गर्ने अभियान चलाउन र नीति कार्यान्वयन गर्न कुनै दल लागेको पाइँदैन । दलित उत्थानका कुरा औपचारिकतामा मात्र सीमित छन् ।

दोस्रो पक्ष हो— संगठन । संगठनका दृष्टिमा नेपाली कांग्रेस कमजोर हुँदै गइरहेको छ । यसको जनाधार अति सीमित भैरहेको छ । आज भारतमा राहुल गान्धी एक उदाहरणका रूपमा उदाइरहेका छन् किनभने उनले डुब्न लागेको कांग्रेस (आई) लाई उँभो लगाउने अभियानमा पूरै लागेका छन् र भारतवासीले बिस्तारै उनको मूल्यांकन सही रूपमा गर्न थालेका छन् । यस्तै अभियान चलाउन सके र समाज परिवर्तनका नयाँ ढाँचा प्रस्तुत गर्दै जनविश्वास जगाउन सके मात्र अब नेपाली कांग्रेसको पनि भविष्य यकिन हुनेछ । जसैतसै पहिलो हुने सोचाइले अब यो दलको स्खलन अरू बढ्नेछ । गत चुनावमा यसको लोकप्रिय मत करिब ८ लाखले झरेको र अन्य नयाँ दलप्रति आकर्षण बढ्न थाल्दा सबैभन्दा बढी नोक्सान नेपाली कांग्रेसलाई नै हुँदै गएकाले यस्तो स्खलन भविष्यमा अझ बढ्नेछ । एकातिर भोटरको संख्या बढ्नु र अर्कातिर नेपाली कांग्रेसको लोकप्रियता सन् २०१७ को संसदीय चुनावको तुलनामा ३३.४ प्रतिशतबाट सन् २०२२ मा २५.७ प्रतिशतमा झर्नाले यो दलको भविष्यमाथि नै प्रश्नचिह्न लाग्न थालेको छ । नेपाली कांग्रेसको भोटको आधार नयाँ पिढीका मतदाता भएनन् । अरू कस्ता खालका मतदाताले यसलाई बचाउने ? आँधीजसरी आएका नयांँ दलहरूको अवस्था अहिले नै यकिन गर्न सकिँदैन । ती दलहरूको सिद्धान्त, संगठन, नेतृत्वको सोच, शैली र गराइले तिनको भविष्य निर्धारण हुनेछ ।

एमालेको अवस्था नेपाली कांग्रेसभन्दा अलिकति फरक छ । यसको संगठनात्मक संरचना अझै विखण्डित नभएको र वैकल्पिक वाम शक्ति मौलाउन नसकेकाले यसले केही समय आफ्नो आजको अवस्था धान्ने तर अब बढी लोकप्रिय भई एक्लै शक्ति आर्जन गर्ला भन्ने आधार भने छैन । सन् २०२२ को निर्वाचनमा नेपाली कांग्रेसको जस्तै यसको लोकप्रिय मत घटे पनि यसले प्राप्त गरेको मत कांग्रेसको भन्दा १ प्रतिशतले बढी नै छ । एमालेले केही ठाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टीसित तालमेल गरे पनि यसले अन्य दलको गठबन्धनविपरीत एक्लै २६.९ प्रतिशत लोकप्रिय मत ल्याउनु पनि सफलता नै मान्नुपर्छ । तर यस्तै मत कायम रही दलको लोकप्रियतामा अब एकनासको स्थिरता रहने सम्भावना कम छ । एमालेका नेताको कार्यशैली र व्यक्तिकेन्द्रित सोचले गर्दा दल बलियो हुन सकेको छैन । भविष्यमा त्यस्तो विश्वासिलो र दरिलो नेतृत्वको उदय होला भन्न सकिने आधार पनि पाइँदैन । सुध्रिने लक्षण नदेखिँदा यो पनि नयाँ दलहरूको उर्लंदो छालमा नपर्ला भन्न सकिन्न । काठमाडौं र अन्य कतिपय ठाउँका पालिका र संसदीय निर्वाचनबाट यी ठूला भनिने दलहरूको अस्तित्वलाई चुनौती मिलेको छ । यस्तै अवस्था रहे नयाँ पिढीका मतदातालाई कुनै पनि पुरानो दलले आकर्षित गर्ने सम्भावना झन्झन् हराउँदै जानेछ ।

माओवादी केन्द्रको भविष्य झन् निराशाजनक छ । न यसले जनयुद्धताकाको उचाइ बचाउन सकेको छ न त नयाँ सन्दर्भमा आफूलाई नेपाली कांग्रेस र एमालेकै बराबरीमा राख्न सकेको छ । यसले पहिलो संविधानसभामा पाएको पहिलो स्थान पछिका चुनावमा हराउँदै गएको र माओवाद नारामा सीमित भएकाले संसदीय अभ्यासमा असान्दर्भिक प्रमाणित भएको छ । नेपाली जनता दलहरूलाई वादभन्दा पनि तिनका नेता–कार्यकर्ताको छवि, कार्यक्षमता, विश्वसनीयताका आधारमा समर्थन र विरोध गर्छन् । तर कुनै दलमा यी आधार हराउँदै जाँदा जनता नयाँ विकल्प खोज्छन् जसरी गत स्थानीय र राट्रिय चुनावमा उनीहरूले आफ्नो मत देखाए । नेपालका कम्युनिस्ट पार्टी फुट्ने, टुक्रिँदै अनेक समूह बन्ने परिपाटी पुष्पलाल र केशरजंग रायमाझीबीचको सैद्धान्तिक झगडा हुँदै सुरु भएको र २०१७ सालको परिवर्तनपछि अरू बढी चिरा पर्दै यो ठाउँसम्म आएको हो । रणनीतिमा अस्पष्ट फरक

धार देखिएको माओवादी जनयुद्ध हो तर यो पनि पछि संसदीय परिपाटीमा समाहित भएकाले अरू समूहजस्तै एउटा भएको छ । यसरी विखण्डित हुने परिपाटीमा व्यक्तिकेन्द्रित सोच बढी र सैद्धान्तिक आधार कम देखिन्छ । यसप्रति औंल्याउँदै हालको केन्द्रिय परिषद् बैठकले पनि गम्भीर हुनुपर्ने जनाएको छ । सबैको जीवनशैलीमा आमूल परिवर्तन भएकाले यी नेता र कार्यकर्ता पनि सुविधाभोगी भएका छन् । अब पुरानो समर्पण, सादा जीवन र जनमुखी हुनेभन्दा पनि कसरी पद र पैसा आर्जन गर्ने भन्ने धन्दामा माओवादीहरू अरू दलका नेतासरह लागेका छन् ।

दलबिनाको लोकतन्त्र एक कल्पना मात्र हो भन्ने तथ्य स्थापित भैसकेको छ । त्यसैले दलहरू सुध्रिनुबाहेक अर्को विकल्प छैन । तर पुराना दलहरूको अस्तित्वरक्षाको प्रश्न उठ्न थाले पनि नयाँ आउने दलहरूको भविष्यसमेत यकिन छैन । नयाँ दलहरूको सिद्धान्त, संगठनको रूप, नेतृत्वको विश्वसनीयता प्रस्ट नभएकाले लोकतन्त्रको अग्रगामी विकासमा यी कति सहायक र स्थिर हुन्छन्, भविष्यले बताउला । तर, यस्ता दलहरूको उदयले भने पुराना दलहरूको स्थिति केही हदसम्म खलबल्याउन सफल भएको तथ्य चुनावी परिणामले देखाइसकेको छ ।

प्रकाशित : श्रावण २८, २०८० ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?