१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खेतीपातीको बास्ना

फेरिएको प्रकृति, प्रविधि र प्रवृत्तिलाई आत्मसात् गर्दै प्रकृतिसम्मत खेतीपातीलाई उन्नत बनाउनुको विकल्प छैन । हामीले जति चाँडो यो कुरा आत्मसात् गरेर बाटो फेर्छौं, हाम्रो उन्नतिको ढोका उति छिटो खुल्छ ।
कृष्णप्रसाद पौडेल

वर्षायाम सुरु भएसँगै मनमस्तिष्कमा खेतीको बास्ना हरहराउन थाल्छ । यो हाम्रो भूगोलको खानाको बन्दोबस्त गर्ने सबैभन्दा महत्त्वपूर्ण समय हो । यो मौसम सुरु भएसँगै आकाशमा मडारिने कालो मनसुनी बादल, सँगै चम्किने बिजुली र यसको केही बेरपछि कानको जाली नै फुट्लाजस्तो गरी आउने आवाजले दिने खेतीको सन्देश सामाजिक उद्यमी किसानहरूले मात्र बुझ्न सक्छन् ।

खेतीपातीको बास्ना

वर्षाको पहिलो दर्कोसँगै बलेनीदेखि खहरे खोल्सा हुदै कुलापानीको बन्दोबस्तसम्मको रौनक यसको पहिलो बास्ना हो । भ्यागुताको ट्यारट्यारसँगै गड्यौला र अन्य कीराफटेंग्रा बोकेका कमिलाको ताँती दुलहादुलही बोकेर फर्किंदै गरेको जन्तीजस्तै लाग्छ ।

कहिले घामपानी त कहिले सिमसिम त कहिले बिजुलीसँगै दर्कने पानी वर्षभरिको जीवन ऊर्जाको बन्दोबस्त गर्ने जीवनधारा हो । खेतमा लगाइएको मकै भाँच्ने, स्याखु ओढेर बीउ काढ्ने, बोक्ने र रोप्ने खेतारी; छेउकुना मिलाउने बाउसे; जोत्ने गोरुसँगै छतरी ओढेर नारिएका हली; छाता ओढेर टुक्रुक्क बसेका हजुरबा र नाति वा नातिनी बोकेर अर्थ्याउने हजुरआमा — सबै आफ्नै कर्ममा तल्लीन छन् यो बेला ।

हलोले उधिनेका गड्यौला र किथिर्को टिप्न भ्याई–नभ्याई गरिरहेका काग, डांग्रे र चिबेले खेतीमा छुट्टै बास्ना थपेका हुन्छन् । कुलोको पानीमा तरेली परेका भ्यागुताका फुलको लहरा, चेपागाँडाहरूको बथान र हिलो सम्याउँदा झारसँगै गुजुल्टो परेका गड्यौलाले खेतीको प्राकृतिक मर्मको बास्ना छरेका हुन्छन् । कामको चटारोकै बीचमा आउने पोलेको वा उसिनेको मकै, सेल रोटी र पुवाजस्ता खाजाको बास्ना सम्झिँदा मात्र पनि अहिले नै खाएझैं हुन्छ ।

वर्षायाममा खेतबारीमा आउने माटाको बास्ना बहुरूपी हुन्छ । खेतीका सारथि साना जीवसँगै बालीनालीलाई पोषण पुर्‍याउन हालिने तीतेपाती, असुरो, खिर्रोजस्ता औषधिजन्य वनस्पतिको बास्ना हरहराउँछ । झरीसँगै झ्याउँझ्याउँ गर्ने झ्याउँकिरी र रात छिप्पिएसँगैको जूनकिरी दिनभरिको थकाइ बिर्साउन पर्याप्त छन् ।

पहाडका बारीका सुर्कामा मकैभित्र रोपिने कोदो होस् या टारमा लगाइने मास वा तराईका फाँटको धान रोपाइँ या हिमाली भेगको कोदो र कागुनो, यी सबैको आआफ्नै बास्ना छ । खेतीका सारथि याक–चौंरी, गाई–भैंसी, गोरुगाडाको मात्र हैन, बर्सेनि गोठमा ब्याउने गाई–भैंसीको बिगौती, नौनी र कुराउनीको बास्नासमेत सबैतिर छ । पाडा, बाच्छा, पाठापाठी र बछेडाको बुर्कुसी सम्झेर आफैंमा नहराउने को होला ?

तर, खेतीपातीको यो बास्ना अब एकादेशको कथा भएको छ । प्रकृतिको रैथाने लय र बास्ना बिर्सेको खेतीकर्मले छाना, नाना र खानाको बन्दोबस्त बास्नाहीन मात्र बनाएको छैन, विकासे दुर्गन्धले खाद्यान्न खानसमेत अयोग्य बन्दै गएको छ । प्रदूषित वायु, पानी र माटाले जैविक विविधता विघटनसँगै जलवायुमा व्यापक फेरबदल आएको छ । पानी पर्ने मौसमी पात्रो फेरिएको छ । प्रचण्ड गर्मी छ, माटाको बास्ना आउने गरी पानी पर्न छोडेको छ । पहाडका मूलहरू सुकेका छन् । खहरे, खोला र इनारमा पानी हराउँदै गएको छ । मुहान सुकेसँगै कुलापानीको बन्दोबस्त गर्नै नपर्ने भएको छ ।

बलेनीको पानी र खहरेको गडगडाहटको अहिले कुनै बास्ना छैन । खहरेले बोकेर ल्याउने अम्ल, प्लास्टिक, गेगर र बालुवाले गर्दा माटो प्राणहीन भैरहेको छ । यसमा जीवनको कुनै बास्ना छैन । माटामा अम्ल र रसायनको दुर्गन्ध मात्र छ । खेतबारीमा न भ्यागुताको ट्यारट्यार छ न छ जूनकिरीको धिपधिप । अहिले गड्यौला र अन्य कीराफटेंग्राको बास्ना होइन, रसायन र विषादीको हस्को छ । ट्याक्टरले धूवाँको मुस्लो फाल्दै जोतेको खेतमा न कीरा खोज्ने चरा छन् न त छन् गाईगोरु र तिनको मलमूत्र ।

कहाँ गए गड्यौला, भ्यागुता र गाइने कीरा ? कहाँ गए कान्लाका माकुराका जालो र बारुला ? कहाँ हरायो रैथाने खाजाको बास्ना ? अहिले सबैतिर चाउचाउ र बिस्कुटजस्ता पत्रु खानाको राज छ । झ्याउँकिरी र जूनकिरीको बास्ना मोबाइलको ट्याइँट्याइँ र पिलिकपिलिकले खोसेको छ । अहिले रैथाने खाना र खाजा, मोही पार्ने ठेकी बसाउँदैन न त बसाउँछ रैथाने जाँडको घैंटो । पाडा, बाच्छा, पाठापाठी र बछेडाको बुर्कुसी हैन, टम र जेरीको लुकामारी हेरेर रमाउँछ हुर्किंदै गरेको पुस्ता । आँखै लोभ्याउने कर्‍याङकुरुङ र मलेवा, आकाशमा रूखै उडेझैं गरी उड्ने सुगा, र धानखेतभरि उडिरहने रंगीचंगी गाइनेकीरा कता गए होलान् ? अब यिनको बास्ना पाका मानिसको सम्झना र हजुरआमाका कथाहरूमा मात्र सीमित छ ।

अहिलेको असारको रौनक र रन्को एउटै छैन । यस वर्षको असार पन्ध्रको चटारो हाम्रो खानाको बन्दोबस्त गर्ने सामाजिक उद्यमी किसानहरूलाई मात्र भएन, दशकौंदेखि असारे विकासमा रमाएका नेता, कार्यकर्ता र तिनका सहयोगी सबैले यो वर्ष पनि धुमधामसँग धान दिवस मनाए । यिनको मात्र के कुरा, वरिष्ठ कर्मचारीदेखि कर्मकाण्डी किसान, खेती सपार्न भन्दै कुराको मात्र खेती गरेर गुजारा चलाउने विकासे, सेल्फी र टिकटकमा रमाउने साना–ठूला कलाकार सबै हिलो खेलेर रौसिए । विडम्बना, खानाको बन्दोबस्तमा रातोदिन खट्ने किसानहरूले भने पर्याप्त पानी, उन्नत बीउ, मल र खेती लगाउन चाहिने श्रम र स्रोतको अभावको पिरलोमै असार पन्ध्रको दिन कटाए ।

यही मेसो पारेर मन्त्री र नेताहरूले किसानले सहजै मल, बीउ र सेवा पाउने बखान गरे । यिनै बखानका भर परेर किसानहरूले मल पाउने आशामा कृषि र सहकारी कार्यालय धाइरहे, तर रित्तो हात फर्किन बाध्य भए । अर्कातर्फ, बिचौलिया र दलालले मिलेमतोमा रातारात मलका मलका बोरा घिसारे र देशी–विदेशी कालो बजारमा बेच्नसमेत सफल भए । यो सबै थाहा पाएका तर गर्न केही नसक्ने निरीह जनप्रतिनिधि र कनिष्ठ कर्मचारीले किसानका गुनासा र खप्की सुन्दै लाज पचाए ।

यो तीतो यथार्थ देशैभरिका पत्रपत्रिका र घन्केका मोबाइल, रेडियो र टीभीमा छ्यापछ्याप्ती भए । खास गरी, असारमा धान रोप्ने बेला यस्ता समाचार बर्सेनि हेर्न र सुन्न पाइन्छन् । धान दिवसका यस्ता तामझामसँगै किसानहरू भने समयमा पानी नपरेर, मल र बीउ र खेतीपातीका लागि चाहिने अन्य स्रोत र साधन जुटाउन

नसकेर सधैं पिरोलिन बाध्य छन् । यो वर्षौंदेखि दोहोरिँदै आएको नियति हो । विडम्बना, जतिजति क्यामरा र मोबाइल बोकेर तामझामसँग हिलोमा पस्ने जमात थपिँदै गएको छ, त्यतित्यति खेतीपाती छोड्ने र सहर हुँदै बिदेसिने क्रम निरन्तर बढिरहेको छ । यस्तो साइनोको मुख्य जड भने निकम्मा र अक्षम नेतृत्वको राजनीतिक र स्थायी सरकारको अकर्मण्यता हो ।

यस्तो किन भयो ? यसले गर्दा भविष्यको खानाको बन्दोबस्त के हुन्छ ? हामी सबैको चासो छ । सबैलाई थाहा छ, आधुनिक र विकासे हुने होडसँगै अहिले खाना, खेतीपाती, आपसी लेनदेन, सहकारिता लगायत सामाजिक जीवन पद्धतिका सबै परम्परागत धरोहर भत्किएका छन् । सारांशमा, हामीले यस्तो बाटो किन समात्यौं भनेर बुझ्न महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘प्रश्नोत्तर’ कविताका यी दुई हरफको मर्म सम्झे पुग्छ—

के हो ठूलो जगत्‌मा ? पसिना विवेक

उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ।

देवकोटाले भनेको पसिना र विवेकको महत्त्व बिर्सेर चन्द्रमा छुने मात्र दिवास्वप्नसँगै खेतीपातीको बास्ना र यसका सारथिहरूको पनि रूपरंग फेरिएको छ ।

केही दशकअघिसम्म हाम्रो आफ्नै अजम्बरी खेतीपातीको प्रणाली थियो । पुर्खाको सम्झनास्वरूप यसको अब केही बास्ना मात्र बाँकी छ । खाना र खेतीपातीको उत्पादन र उपभोगमा रहेका समाज व्यवस्थाका विभेदपूर्ण पक्षलाइ हटाउँदै प्रकृतिसम्मत र विविधतापूर्ण यस्तो खेतीपाती संस्कृतिलाइ उन्नत बनाउनुको साटो विकासे खेती भित्र्याउने नाममा अरूकै नक्कल गर्ने सिको गरेसँगै यो प्रणाली भत्केको हो । यस्तो खेती प्रणालीको सबल पक्षलाई उन्नत बनाउने सोच पुगेको भए बहुसंख्यक किसान रहेको कृषिप्रधान देशले आयातित र विषाक्त खाना र खेतीपातीको यो दुर्दशा देख्नु र भोग्नुपर्ने थिएन ।

यसरी हेर्दा हाम्रो खेतीपाती उन्नत बनाउने कर्ममा ठूलै फेर परेको छ । आधुनिक विकास नेपाली समाजमा भित्रिएसँगै यी र यस्ता खेतीपातीको बास्ना र यिनका सबै सारथि हराएका हुन् । यस्तो बास्ना किन हरायो भनेर फर्केर हेर्ने र सम्भव सबै सच्याउने विवेक फर्किएन भने हाम्रो अकर्मण्यताले प्रकृतिमा आएको ठूलो उथलपुथलको आँधीबेहरी सम्हाल्न भावी पुस्तालाई ठूलो सकस हुने पुष्टि भैरहेको छ । फेरिएको प्रकृति, प्रविधि र प्रवृत्तिलाई आत्मसात् गर्दै प्रकृतिसम्मत खेतीपातीलाई उन्नत बनाउनुको विकल्प छैन । हामीले जति चाँडो यो कुरा आत्मसात् गरेर बाटो फेर्छौं, हाम्रो उन्नतिको ढोका उति छिटो खुल्छ । यसमा द्विविधा छैन ।

अन्त्यमा, खेतीपातीको बास्ना कति फर्काउन सकिएला ? यसै भन्न नसकिएला तर यस्तो बास्नाको मर्म बुझ्ने विवेक फर्काउन सकेनौं भने हाम्रो खेतीपातीले बिराएको बाटो फेला पार्न कठिन छ । यो कुरा आत्मसात् गर्न मानवसम्मत विवेक चाहिन्छ । यन्त्रमानवको मति र भौतिक विकासको गतिका भरमा मात्र समृद्धि र सुख फलाउने सपना बोकेको जमातलाई हाम्रो नियति सम्हाल्ने जिम्मा लगाएर यस्तो विवेकको मर्म कहिले र कसरी फर्केला खै ? तसर्थ आउनुहोस्, हाम्रो खेतीपातीको बास्ना फर्काउने आँट गरौं । केही फरक पर्छ कि ?

प्रकाशित : श्रावण ११, २०८० ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?