कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १००

समाजवादी मोर्चासँगै उब्जिएका प्रश्नहरू

नरेन्द्रजंग पिटर

समाजवादी मोर्चा घोषणासँगै राजनीति, दर्शन, राजनीतिक–संस्कृति र समयको चयनसहित अनेकौं तर्कना बहसमा फेरि देखा परे ।

समाजवादी मोर्चासँगै उब्जिएका प्रश्नहरू

महत्त्वाकांक्षाको सही व्यवस्थापन हुन नसक्दा अलग्गिएका मोर्चामा सामेल प्रचण्ड, उपेन्द्र यादव र विप्लव त माओवादीका पूर्वघटकै हुन्; नेकपा एकीकृत समाजवादी भने स्वत्वको टकरावमा एमालेमा अट्न नसकेको हो । विचार र दायित्वलाई केन्द्र बनाउन सकेको भए मोर्चाको आकार अझ धेरै फराकिलो हुन सक्थ्यो । मध्यमवर्गमा विचारको तीव्र परिवर्तन, सामान्यजनमा अन्योल र निराशा बढिरहेका बेला गठन भएको मोर्चाले कसका विरुद्ध, किन मोर्चा गठन गर्नुपर्‍यो भन्ने दृष्टिकोण सार्वजनिक गर्न भने अझै सकेको छैन ।

मोर्चाको आवश्यकता

राष्ट्रिय–अन्तर्राष्ट्रिय अभ्यास र अनुभवले भन्छ- निश्चित उद्देश्यले भिन्न सोचहरूबीच पनि दर्बिलो शक्तिका लागि मोर्चाहरू बन्ने गर्छन् । काम फत्ते भएसँगै त्यस्ता मोर्चा टुट्ने गर्छन् । केहीले भने दीर्घकालीन रणनीतिक आकार ग्रहण गरेर सहयात्रा पनि गर्छन् । मोर्चाहरू बन्नु–भत्कनुको तय शक्ति सन्तुलन र परिस्थितिले गर्छ । जय र पराजयसँगै मोर्चाको आवश्यकता रहिरहँदैन ।

वैदिक साहित्यमा पाण्डव र कौरवका मोर्चा बने । सकिए । लिखित इतिहासमा रुसमा जारशाहीविरुद्ध सन् १९१७ मा लेनिन र अलेक्जेन्डर केसेन्स्कीबीच मोर्चा बन्यो । राजतन्त्रको अन्त्यसँगै भत्कियो । जर्मनीको शक्ति फैलिँदै गएपछि शेष समाजले नयाँ सोच्न थाल्यो । सोभियत रुस, अमेरिका र ग्रेट ब्रिटेनबिच बनेको ‘ग्रेट थ्री’ (स्टालिन, चर्चिल र रुजभेल्ट) मोर्चालाई मित्रराष्ट्र भन्न थालियो; जर्मनी, इटाली र जापानको मोर्चालाई धुरी राष्ट्र । दोस्रो विश्वयुद्धको अन्त्यसँगै दुइटै मोर्चा भत्किए । अमेरिकी राष्ट्रपति रुजभेल्टको मृत्युपछि घोर कम्युनिस्टविरोधी उपराष्ट्रपति ट्रुमेनले सत्ता सम्हाल्नेबित्तिकै मित्रराष्ट्रहरूको मोर्चा टुट्न सुरु भयो । कालान्तरमा रुस बाहिरिएको मोर्चा ‘नेटो’ बनेर अझै सक्रिय छ । जापानी आक्रमणविरुद्ध मोर्चा बनेर लडेका चिनियाँ कम्युनिस्ट माओ त्सेतुङ र कुमिन्ताङ च्याङ काइसेकहरू जापानलाई हराएपछि आआफ्ना भूमिकामा फर्किए । नेपालमा दुई पटक गम्भीर खाले मोर्चा बने । पहिलो २०४६/४७ को पञ्चायतविरुद्धको आन्दोलनमा कांग्रेस र वाममोर्चा, दोस्रो २०६२/६३ मा सात संसदीय दल र माओवादी । तिनले सरकार मात्रै नभई सत्ताको चरित्रै फेर्ने राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेले । समयसँगै मोर्चाले रणनीतिक आकार लिन सक्दैनथ्यो, लिएन । अहिले प्रचण्ड, माधव, यादव र विप्लवबीचको समाजवादी मोर्चा कार्यनीतिक हो कि रणनीतिक, अझै प्रस्ट छैन । किन बन्यो, खुलस्त गरेका पनि छैनन् ।

कुरा समाजवादका

संसारमा ‘समाजवाद’ लोकप्रिय राजनीतिक पदावली बन्दै आयो । यो मानवताकेन्द्रित आदर्श र दर्शनको राजनीतिक–आर्थिक संस्कृति हो । यसले पार्टी र व्यक्तिको सोच, भूमिका र सांस्कृतिक आचरण निर्धारण गर्छ । सभ्यताको विकाससँगै कतिपय दर्शन भावना र उपदेशमा मात्र सीमित रहे भने कतिपयले राज्य संस्कृतिमा हेरफेरसमेत गरे । सभ्य समाजको सुरुआतदेखि नै मानवकेन्द्रित दार्शनिक र विचारकहरू निजी र पुँजीमा मात्रै नभई समाजको समान विकाससँगै व्यक्तिको पनि विकास हुन्छ भन्ने मान्यता राख्थे । उपदेश दिँदै रहे । सबै धार्मिक ग्रन्थमा यी सन्दर्भ पाइन्छन् । तर शक्ति र धर्मको घोलमेल भएपछि समाजलाई श्रेणीगत तुल्याउन भने छोडिएन । पूर्वजन्मको फलले कर्ममा फेरिएको भन्ने मिथक तयार गरियो अनि निजी पुँजीलाई दैवीशक्ति र भाग्यको खेल भनियो । तर, त्यसलाई आदर्शवादी चेतले भने स्विकारेन । बृहदारण्य उपनिषद्मा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः / सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्’ भन्ने समाजवादी सोच देखियो भने अझ महोपनिषद्मा त ‘अयं निजः परोवेति गणना लघुचेतसाम्/ उदारचरितानां तु वसुधैवकुटुम्बकम्’ भन्ने विश्व साम्यवादी समाजको परिकल्पनासमेत पाइयो ।

कालान्तरमा धर्म धन्दा बन्दै गयो भने राज्यसत्ता अभिजात वर्गको सुरक्षाछाता बन्न पुग्यो । तब कल्पना र आदर्शमा रहेको सोचलाई कसरी राज्य र समाजमा फेर्ने भन्ने चिन्तामा विश्वकै दार्शनिकहरू सक्रिय रहे । युरोपमा ज्ञान र विज्ञानको विकाससँगै प्रविधिले उद्योगमा फड्को मार्‍यो, चिन्तनमा वैज्ञानिकता र भूमिकामा मानवता रहे पनि सामाजिक असमानता भने त्यत्तिकै चुलिँदै गयो । तब काल्पनिक समाजवादी रोबर्ट ओवन, चार्ल्स फुरियर, सेन्ट साइमनजस्ता दार्शनिक एवं अभियन्ता देखा परे ।

असमानताको कारक निजी पुँजी हो, समाजवादी आदर्श र स्वैरकल्पनाले मात्र समानता हुन सक्दैन, हस्तक्षेपको आवश्यकता हुन्छ भन्ने कार्ल मार्क्सको धारणा रह्यो । अर्थशास्त्र, समाजशास्त्र, सत्ताको सूक्ष्म अध्ययन गरेका कार्ल मार्क्स र एंगेल्सले कल्पना र आदर्शमा रहेको समाजवादलाई राजनीतिको केन्द्रमा पुर्‍याए । तब वैज्ञानिक समाजवादको ‘भूत’ ले युरोपलाई सतायो । एउटा मोर्चा पोप र जार, मेटरनिख र गुइजोट, फ्रान्सेली कट्टरपन्थी र जर्मन पुलिस–जासुसबीच बन्यो । त्यो समाजवादी ‘भूत’ भगाउन अभिजात र बैंकरहरू पनि सामेल भए । तब समाजवाद एउटा उदाउँदो शक्ति हो भन्ने निष्कर्ष सरकार र विपक्षले मात्रै हैन, विद्वान्, लेखक र चिन्तकहरूले पनि निकाले । हेर्दाहेर्दै सन् १९१७ मा रुस सोभियत संघमा फेरियो । समाजवादको तीव्रताले चीन आधुनिक चीनमा फेरियो । दोस्रो विश्वयुद्ध सकिएसँगै राष्ट्रपति ट्रुमेनकालमा समाजवादबाट बच्न अमेरिकामा बर्बर म्याकार्थीकालको ताण्डव देखा पर्‍यो ।

राजनीतिमा फेसन नै बन्दै गयो समाजवाद । कालान्तरमा अनेकौं फुर्का जोडिन थाले । युरो कम्युनिज्म, सोसलिस्ट इन्टरनेसनल, अरब समाजवादीहरू । भारतमा पनि तीन थरी समाजवादी देखा परे- कम्युनिस्टहरू, समाजवादी (राममनोहर लोहिया, जयप्रकाश नारायण, नरेन्द्र देव ) र राष्ट्रिय समाजवादी (जवाहरलाल नेहरू) । त्यस्तै, नेपालमा समेत तीन प्रकारका समाजवादी रहे- कम्युनिस्टहरू, सोसलिस्ट इन्टरनेसनलसँग आबद्ध नेपाली कांग्रेस, लोकप्रियताका लागी पार्टीलाई समाजवादी भन्ने अन्य दल ।

संसारका मजदुर एक हौं भन्ने कम्युनिस्टहरू पनि अनेकौं फुर्का गाँसेर अनेकौं रूप र रङमा समाजवादी भन्दै सक्रिय भए । नेपालमा अझै जनमत वाम–ढल्को छ, त्यसैले ‘समाजवाद’ फुर्कोलाई फेसन वा ट्रेडमार्कका रूपमा कांग्रेस र कम्युनिस्टले राख्दै आएका छन् । अब त्यही अवस्था भने रहिरहनेछैन ।

किन बन्यो मोर्चा

नयाँ हुन नयाँ देखिनु पनि पर्छ । भनिरहनै परेन- नेचर, कल्चर र सिग्नेचर फेर्न औधी गाह्रो पर्छ । मूल नेतृत्वको आचरण कार्यकर्ताको जीवनशैली र आदर्श बन्ने गर्छ । नयाँ जगमा नयाँ घर बनाउन जति सहज हुन्छ, पुरानो घर भत्काएर त्यहीँ नयाँ महल ठड्याउन अझ मिहिनेत गर्नुपर्छ । देखिएको कुरा पत्याउने आधार व्यवहार, जीवनशैली र कर्म हो । भूमिका हो । जनताको अदालतमा पार्टी र नेताले सधैं बकपत्र गरिरहनुपर्छ । आदेशले समाज परिवर्तन हुँदो रहेनछ, इतिहासको भूमिका वर्तमानको व्यवहारमा माग हुँदो रहेछ । सिद्धान्तको राजनीतिलाई सुविधाको राजनीतिमा अभ्यास गर्दा फेरिने कि सक्किने भन्ने प्रश्न पार्टीसामु खडा भयो । रैतीबाट जनतामा फेरिएका मतदाता फेरि भीडमा फेरिँदा मौलिक चरित्र गुमाइरहेका पार्टीहरूसामु चुनौती थपियो ।

गठबन्धनले मात्रै नपुगेर मोर्चा बन्न र बनाउने बाध्यताले पार्टीहरूलाई घचेट्यो । समान विचारधारा राख्ने बीचमा मोर्चा मात्रै हैन, पार्टी नै एकता गर्दा हुन्छ । तर स्वाभिमानले अहंकारको रूप लियो भने दायित्व तपसिलमा पुग्छ । राजनीतिको मोर्चामा सबै कुरा भुल्ने अनुमति हुन्छ तर इतिहासले कहिल्यै भुल्दैन । पुरानाहरू नयाँ बन्न चाहँदैनथे, बरु नयाँहरू पुराना बन्दै जाँदा अन्योल उत्पन्न हुन थाल्यो ।

तीन दशकदेखि राजनीतिको केन्द्रमा रहेका प्रचण्डको हैसियत गिर्दै जानु, पार्टी टुक्रिँदा पनि नयाँ अवस्थामा गुट समाप्त नहुनुको पीडा उनले बेहोरे । नियतिको बन्दी बनेका उनले पछिल्लो चुनावमा कांग्रेससँग गठबन्धन त गरे तर साझेदारले यथोचित सहयोग गरेन । पार्टीभित्रै जनार्दन शर्मा गुट र वर्षमान पुन गुटलाई नियन्त्रण गर्न पनि सकेनन् । पूर्वी तराईमा जनयुद्ध लडेका र नलडेकाको तुसलाई मातृका यादव गुट र गिरिराजमणि गुटको भिडन्तले गहिर्‍याउँदै लगेपछि प्रचण्ड नयाँ तरिकाले सोच्न बाध्य भए । माओवादीमा भावनात्मक एकता हुन सकेकै थिएन । समस्याको डाइग्नोसिस गरेपछि प्रतिकूलताभित्र अनुकूलता र नयाँ उपाय खोज्न प्रचण्ड विवश भए ।

विप्लवका लागि बाह्र वर्षमा पनि खोलो फर्केन । राजनीतिको क्यालकुलेटर सोचेजस्तो हुँदो रहेनछ । आयोजक देखिएको तर प्रायोजक नदेखिएर एक हप्ता नटिकेको धोबीघाट मोर्चा माओवादीलाई नेपोलियनलाई वाटर लु बनेजस्तै भयो । बाह्र जनाको मृत्यु र दुई दर्जनभन्दा बढी कार्यकर्ता जेलमा हुँदा पनि विप्लवले पार्टी फुट्नबाट जोगाउन सकेनन् । चन्दाको चर्चा रहे पनि अस्तित्वको लडाइँमा उनलाई नयाँ मोर्चाको आवश्यकता थियो । हुन त २०७० को दोस्रो आम चुनावमा प्रचण्डलाई लक्ष्य गरी कञ्चनपुरको बेलौरी कानदेवमा ठूलो धराप थापिएकै हो ।

मधेशमा वर्चस्वका लागि मातृकासँग भिडन्तमा रहेका उपेन्द्रले माओवादी छोडेर अनेकौं अभ्यास गरे । २०६३ चैत ७ मा गौरमा भएको २७ माओवादीको बीभत्स हत्या नकारात्मक नजिर बन्यो । मधेशको भावनात्मक नेतृत्वमा अब सीके राउतको प्रभाव बढ्दै गएकामा उनी छटपटाए । क्षेत्रीय पार्टीलाई राष्ट्रिय स्वरूप दिने मनोकांक्षा पनि डा. बाबुराम भट्टराईसँगको सहयात्राबाट पूरा हुन नसक्दा उनलाई नयाँ मोर्चाको आवश्यकता पर्‍यो ।

ठूलो पार्टीको ठूलो नेता रहिसकेका माधव नेपाल र एकीकृत समाजवादीमा पनि अहिलेको आकार र हैसियतले हीनताबोध गराएको थियो । ठूलो शक्तिका लागि मोर्चाको आवश्यकता थियो । सबैलाई आआफ्ना बाध्यताले घचेटेर मोर्चामा पुर्‍यायो । यसबाट प्रचण्डलाई माओवादीमा उत्साह र मनोबल ल्याउन अनि गुट नियन्त्रण गर्न सहज हुन सक्नेछ । तर मोर्चाका तत्कालीन र दीर्घकालीन योजना राखेर नयाँ बन्ने हिम्मत गर्न नसके ‘टेस्टेड’ नेताहरूको हैसियतमा फेरि नकारात्मक नजिर बन्नेछ ।

मोर्चाले राजनीतिक आकार ग्रहण गर्न सक्छ ?

विकसित घटनाक्रम हेर्दा अब सरकारका असहजताहरू बढेका छन् । विश्वासको पुनःस्थापना गर्नु प्रचण्डसहित मोर्चाको सबभन्दा ठूलो चुनौती हो । मोर्चामा डा. बाबुराम भट्टराई सामेल हुन कुनै समस्या थिएन, तर पछिल्लो समय उपेन्द्र र भट्टराईबीच बढेको तिक्तता अवरोध बन्यो । शक्तिसँग गरिने एकता भएकाले मोर्चामा भट्टराईभन्दा उपेन्द्र स्वीकार्य भए । वैचारिक भिन्नता र परिचय दिन नसकेका अनेकौं साना दल छन्, उनीहरूका महत्त्वाकांक्षाको व्यवस्थापन पनि मोर्चाका लागि चुनौतीपूर्ण छ । नयाँ उदाएका, भीडको राजनीति गर्ने पार्टीहरूको वैचारिक शून्यता मोर्चाको लागि फाइदाजनक त छ, तर वैचारिक भनाउँदा पार्टीहरूको नियतको मापन तिनको संगठन र जनतासम्मको डेलिभरीबाट हुन्छ । मोर्चा त्यसमा खरो उत्रिन सक्छ ? यसले नै समाजवादी मोर्चाको भविष्यको निर्धारण गर्नेछ ।

प्रकाशित : असार १५, २०८० ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?