कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

बालबालिकाका लागि घातक हुन्छ मोबाइल

बेङ्लोरको त्यो अस्पतालमा एक चोटि यस्तो बच्चालाई ल्याइएको थियो, जो आमाबासँग आमनेसामने बोल्दै बोल्दैनथ्यो, मोबाइलमा मात्रै कुरा गर्थ्यो । यसले गर्दा उसलाई डिप्रेसन भयो । आमालाई यति तनाव भएछ कि परिवार नै टुक्रिने अवस्थामा पुगेको थियो ।
अरुणा उप्रेती

बालबालिका, किशोरकिशोरी कसैलाई पनि पत्रु खाना नदिनोस्; उनीहरूका मुटु, कलेजो, मृगौला बिग्रन्छन्’ भनेर मैले लेख्न थालेको २० वर्षभन्दा बढी भयो । कतिले पत्रु खाना दिन छोडे पनि, कतिले भने ‘आऽ केही हुँदैन, संसारभरि खाइरा छन्’ भन्दै छोराछोरीको बानी बदल्न सकेका छैनन् । उनीहरूले भविष्यमा थाहा पाउनेछन्, जब आफ्ना छोराछोरी युवावस्थामै मधुमेहको, मोटोपनको सिकार भएर अस्पताल धाउन थाल्छन् । तर त्यो बेला धेरै अबेर भइसकेको हुनेछ ।

बालबालिकाका लागि घातक हुन्छ मोबाइल

पत्रु खानाले शरीरको भित्री अंग बिगारेजस्तो अहिले शिशु अवस्थादेखि नै टीभी–मोबाइल देखाएर खाना दिने आमाबाले बच्चाहरूको मस्तिष्कमा यस्ता वस्तुले खराबी गर्छन् भन्ने थाहा पाएका छैनन् । वा, यसबाट त पत्रु खाना खाएजस्तो खराबी हुँदैन भन्ठान्छन् ।

मैले काठमाडौंका कति घरमा देखेकी छु— ६ महिनादेखि (पास्नीपछि) शिशुले खाना खान आनाकानी गरे, मोबाइलमा कार्टुन वा फिल्म लगाइदियो, त्यो हेर्दै बच्चाले खाएपछि ‘ल, यसले त सबै खायो’ भनेर आमाबा दंग पर्ने गर्छन् । तर यसले शिशुलाई त ‘कुलत’ मा फसाइसकेको हुन्छ । अनि मोबाइल नहेरी खानै नखाने भएपछि शिशुको मस्तिष्कको विकास नै राम्ररी हुन पाउँदैन ।

मैले एक ठाउँ पढे अनुसार, भारतमा रेलमा यात्रा गर्दैगर्दा एउटी आमाले राति नौ बजेतिर २० महिनाको बालकलाई खाना खुवाउने सुर गरिछन्, तर बच्चाले चिच्याएर खानै मानेनछ । रेलमा इन्टरनेट नभएकाले आमाबाले उसलाई घरमा जस्तै गरी कार्टुन देखाउन सकेनन् । कार्टुन नदेखाई खानै नखाने २० महिनाको बालकको रेलमा त्यो चाला देखेर आमालाई होस आएछ, ‘छोरालाई कार्टुन देखाएर बडो गल्ती गरिएछ ।’ रक्सी र चुरोटको नशा लागेको व्यक्ति जसरी नशा नखाई बस्नै सक्दैन, त्यसरी नै बालबालिकालाई सानैदेखि टीभी–मोबाइल देखाउँदै खाना खुवाउने गरेपछि अनेक समस्या आइलाग्छन् ।

यस्तो ‘कुलत’ बारे विश्व स्वास्थ्य संगठन पनि मुखर भएको छ । अनेक जनस्वास्थ विज्ञ, बालरोग विज्ञ, मनोचिकित्सकहरूले समेत समाजमा बढिरहेको यो समस्याबारे बोल्दै आएका छन् । खाना खाँदा र अन्य समयमा पनि मोबाइलमा कार्टुन र फिल्म हेर्ने लत शिशु र बालबालिकाको दिमागका लागि बडो घातक हुन्छ भन्छन् बालरोग विज्ञहरू ।

सानो उमेरमा बच्चाको मस्तिष्कले नयाँनयाँ कुरा सिकिरहेको हुन्छ । त्यस बेला टीभी–मोबाइलमा कार्टुन हेर्ने बानी बसे मस्तिष्कको विकास नै हुन पाउँदैन । विशेषज्ञहरू भन्छन्, ‘जसरी दुई वर्षभन्दा मुनिको बच्चालाई कुनै पनि हालतमा पत्रु खाना दिनु हुँदैन, त्यसरी नै दुई वर्षभन्दा सानो उमेरकालाई टीभी–मोबाइल हेर्नै दिनु हुँदैन ।’

दुई वर्षदेखि पाँच वर्षसम्मका बच्चाका लागि दिनमा एक घण्टा ‘स्क्रिन टाइम’ (टीभी–मोबाइल हेर्ने समय) तय गर्न सकिन्छ, त्यो पनि लगातार होइन । दिनभरिमा अलिअलि गरी । टीभी–मोबाइलमा एक घण्टाभन्दा बढी समय बिताउँदा बाल मस्तिष्कमा अनेक समस्या उत्पन्न हुन सक्छन् ।

बच्चाले खाना नखाँदा पहिलेपहिले आमाबा, बाजेबज्यै त फकाएर फल, चरा, बिरालाका कथाको सहारा लिने गर्थे । त्यस्ता कथा सुनाउँदै खुवाउँथें । अहिले अभिभावकसँग बच्चालाई कथा हालेर कुराकानी गर्ने फुर्सद छैन अनि टीभी–मोबाइल देखाएर खुवाउँछन् । यसले गर्दा बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव पर्दै जान्छ, उसको कल्पनाशीलता हराउँछ । उफ्रनु, चटपटाउनु, चकचक गर्नु, दौडनुको सट्टा उसले टीभी–मोबाइल बढी मन पराउँछ र उसको मस्तिष्कमा रंगीचंगी टीभी र मोबाइलकै संसार बस्छ । ‘बच्चाको मस्तिष्कमा मोबाइलले टीभीको रेडिएसन पठाउँछ,’ भारतका बालरोग विज्ञहरूले चेतावनी दिएका छन् । बच्चाहरूलाई टीभी–मोबाइलमा भुलाइरहँदाको खतराबारे भारतमा भएका अनुसन्धानहरूले ‘समस्या हामीले सोचेभन्दा धेरै गहिरो रहेको’ देखाउँछन् ।

दुई वर्षभन्दा सानालाई टीभी, कम्प्युटर, मोबाइल आदि देखाउनु हुँदैन भनेर चेतावनी दिँदादिँदै पनि कति परिवारमा १२ महिनाभन्दा मुनिका बच्चालाई समेत मोबाइलको ‘कुलत’ भइसकेको छ । भारतमा विभिन्न समुदायमा गरिएको अनुसन्धानबाट थाहा भए अनुसार, टीभी–मोबाइल धेरै हेर्ने बानीले विशेष गरी कोभिडपछि बच्चाहरूका आँखामा सुक्खा हुने, निद्रा नलाग्ने, पेट दुख्ने समस्या बढ्दै गएको छ । भारतको बेङलोरस्थित एउटा मानसिक रोग अस्पतालमा अहिले टीभी–मोबाइलको कुलतबाट प्रभावित भएका बालबालिकाका लागि ‘कुलत छुटाउने केन्द्र’ नै स्थापना भएको छ ।

नेपालमा भारतमा जस्तो यसरी स्क्रिन टाइमको कुलतबारे अध्ययन–अनुसन्धान त भएको छैन तर समस्याचाहिँ रहेको विभिन्न मानसिक रोग विज्ञहरू बताउँछन् । बेङ्लोरको त्यो मानसिक रोग अस्पतालका डाक्टरले भनेका छन्, ‘हामीकहाँ हप्तामा २०–२२ जना अभिभावक यस्तो कुलतको समस्यामा परेका आफ्ना बालबालिका लिएर आउँछन् । कति जनामा त काउन्सिलिङपछि बिस्तारै सुधार देखिँदै आउँछ, कति जनालाई चाहिँ अस्पतालमै भर्ना गर्नुपर्ने हुन्छ ।’

विचार गर्नुस् त, रक्सीको कुलत छुटाउनेजस्तै गरी यदि बालबालिकालाई टीभी–मोबाइल हेर्ने कुलत छुटाउनुपर्ने भयो भने कस्तो लाग्दो होला ? यस्तो कुलत भएका बच्चाहरूमा अहिले देखा परेको मानसिक समस्या हो— आमाबा, घरका मान्छे, साथी, घरमा आउने पाहुना कोहीसँग पनि गफ गर्न नचाहनु; एक्लै धुमधुमती बसिरहनु । ती डाक्टरका अनुसार, उक्त अस्पतालमा एक चोटि यस्तो बच्चालाई ल्याइएको थियो, जो आमाबासँग आमनेसामने बोल्दै बोल्दैनथ्यो, मोबाइलमा मात्रै कुरा गर्थ्यो । यसले गर्दा उसलाई डिप्रेसन भयो । आमालाई यति तनाव भएछ कि परिवार नै टुक्रिने अवस्थामा पुगेको थियो ।

कतिपय आमाबा हताश भएर भन्ने गर्छन्, ‘के गर्ने, टीभी वा मोबाइलमा कार्टुन नदेखाई बच्चाले खानै मान्दैन ।’ तर यो समस्या आमाबाले नै सुरु गरेका हुन् । भारतका बालरोग विज्ञ डा. तारिक भन्छन्, ‘यदि आमाबाले अलिकता ध्यान दिए यस्तो समस्या पर्दैन । आमाबा आफैंले खाना खाँदा टीभी वा मोबाइल हेर्ने गरेपछि, बच्चालाई फकाएर खुवाउन अल्छी गरेपछि समस्या त पर्ने नै भयो ।’

बच्चालाई खाना खुवाउँदा टीभी वा मोबाइल नदेखाई आफैंले गीत गाउने, कविता–कथा भन्ने, कोठामा भएका विभिन्न सामान वा रंगीचंगी किताब देखाउने बानी गर्नुपर्छ । मेरी नौ महिनाकी नातिनीलाई पनि केही खुवाउन सजिलो थिएन । कहिले फूलपात देखाएर, कहिले घण्टी बजाएर, कहिले किताब देखाएर कथा भन्दै खाना खुवाइयो । कहिले दुइटा कचौरा बजाएर, कहिले कुकुर र बिरालोको स्वर निकाल्दै पानी र दूध खुवाइयो । यसो गर्दा आफूलाई सजिलो त भएन तर नातिनीलाई टीभी–मोबाइलको ‘रंगीन दुनियाँको काला जादु’ बाट सकेसम्म बचाइयो । उनी अहिले १३ महिनाकी भइन् ।

अझै गीत–कविता भन्दै, किताब देखाउँदै खुवाउने गरिन्छ । तर पहिलेको भन्दा धेरै सजिलो भएको छ । शिशु र बालबालिकाको मस्तिष्कलाई टीभी–मोबाइलको कुलतबाट बचाउन हरेकले आफ्नै तरिकाले समाधान निकाल्लान् तर एउटा सजिलो चाहिँ— आँगनमा घुमाएर अनेक कुरा देखाउँदै कथा बनाई सुनाउन, अनेक रंगीन कलमले चित्र बनाउन लगाउन सकिन्छ । बच्चाहरूले ३ देखि ६ महिनादेखि नै तपाईंले बोलेको कुरा बुझ्न सक्छन् । त्यसैले उनीहरूसँग बोलेको बोल्यै गर्नुपर्छ ।

बच्चालाई के कथा सुनाउने भन्ने कतिलाई लाग्छ होला; आफूले सानामा सुनेका, पढेका कथाहरू नै भन्ने हो । बच्चाहरूको मस्तिष्क बडेबडे कल्पनाले भरिपूर्ण हुन्छ । एकादेशमा एउटा घर, ठूलो नदी थियो भन्दा बच्चाको मस्तिष्कमा घर वा नदीको कल्पना आउँछ । टीभी–मोबाइलले त त्यो कल्पनाशक्ति नै कम गरिदिन्छन् । बच्चाको भाषा पनि कमजोर हुन्छ । त्यसैले शिशुलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाएर हुर्काउने कि अस्वस्थ बनाएर समस्यामा पार्ने, अभिभावकहरूले विचार गरौं ।

प्रकाशित : असार १४, २०८० ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×