कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

नयाँ शैक्षिक सत्रको सुरुआत यसरी

सम्झना शर्मा

विद्यालय औपचारिक शिक्षा प्राप्तिको आधारभूत थलो हो । विद्यालय यस्तो शैक्षिक संस्था हो जसले विद्यार्थीलाई शिक्षकको निर्देशनमा सिक्ने स्थान र वातावरण दिन्छ । विद्यार्थी त्यस्तो व्यक्ति हो, जो सिक्न विद्यालय जान्छ ।

नयाँ शैक्षिक सत्रको सुरुआत यसरी

शिक्षा भनेको ज्ञान र सीप सिक्नु हो; कुनै काम कसरी गर्ने भनेर सहयोग गर्नु र उनीहरूले के सिके भनेर सोच्न मद्दत गर्नु पनि हो । शिक्षाद्वारा नै समुदाय, देश र विश्वबारे ज्ञान पुस्तान्तरण हुन्छ । तसर्थ देशभक्त, इमानदार र सचेत नागरिक बनाउनु पनि शिक्षा हो ।

केही विद्यालय शैक्षिक सत्रको सुरुआतसँगै पाठ्यपुस्तक मात्रै पढाउनमा सीमित हुने गरेका छन् । त्यस्ता विद्यालयलाई अतिरिक्त र सहशैक्षणिक क्रियाकलाप वाहियात लाग्छन् । ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त कक्षाका नाममा बिहान सबेरैदेखि बोलाएर साँझ अबेरसम्मै पठनपाठनमा राख्छन् । विद्यार्थीलाई पाठ कण्ठस्थ गर्न लगाएर प्रत्येक विषयमा उच्च ग्रेड ल्याउन हरबखत दबाब दिन्छन् । हरेक विषयमा वर्षभरिमा प्राप्त गरेको ग्रेड प्वाइन्ट मात्रै तिनीहरूलाई विद्यार्थीको वास्तविक उपलब्धि लाग्छ ।

शैक्षिक सत्रको सुरुआतमै शिक्षकले गत वर्षको शैक्षिक गतिविधिको समीक्षा गरी असल अभ्यासको निरन्तरता, व्यवस्थित पठनपाठन विधिको अवलम्बन, बालबालिकामा सिर्जनात्मक सिकाइ तथा सिकाइमा अभिरुचि जगाउने वातावरण निर्माण, कक्षाकोठा व्यवस्थापन, दैनिक पाठ योजना निर्माण, समय व्यवस्थापन, पक्षपातरहित शिक्षण सिकाइ क्रियाकलाप, समाहित शिक्षाको अवलम्बन, शैक्षिक सामग्रीको निर्माण तथा प्रयोग, जंकफुडरहित दिवा खाजा व्यवस्थापन, सन्दर्भ सामग्रीको खोज, विपद् व्यवस्थापन, लैंगिक संवेदनशीलता, शारीरिक दण्ड–सजायरहित शिक्षण सिकाइ, दुर्व्यवहार र शिक्षकको पेसागत मर्यादा जस्ता विषयमा कार्यशाला गर्नुपर्छ । विद्यालयको वार्षिक कार्यतालिकामा उल्लेख भएका अतिरिक्त क्रियाकलापहरू सञ्चालन र व्यवस्थापनप्रति जिम्मेवार र जवाफदेह बनाउन पनि सम्बन्धित शिक्षकलाई अभिमुखीकरण आवश्यक हुने गर्छ ।

विद्यार्थीलाई विभिन्न सचेतनामूलक कार्यक्रममार्फत अधिकार र कर्तव्यबारे जानकारी गराउनुपर्छ । जातीय विभेद र छुवाछूतविरुद्धको अधिकार, दलित र अपांगता भएका व्यक्तिहरूको अधिकार, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार, ज्येष्ठ नागरिकको अधिकार, महिलाको अधिकार, बालबालिकाको अधिकार, सीमान्तीकृत तथा अल्पसंख्यकको अधिकार, आदिवासी जनजाति–मधेशी–थारू–मुस्लिमको अधिकार, वातावरण र विकासको अधिकार, मानव अधिकारमुखी विकास पद्धति, नैतिक शिक्षा, सामुदायिक भावना, सामाजिक सद्भाव र आपसी भाइचारा, नागरिक अधिकार र कर्तव्यबारे सचेत गराउनुपर्छ । विभिन्न दिवसमा विद्यालयले के–के कार्यक्रम गर्ने भन्नेबारे कार्ययोजना निर्माण, कार्यक्रमहरूको पहिचान एवम् पूर्वतयारी पनि गर्न सकिन्छ ।

लैंगिकमैत्री वातावरण के हो, किन आवश्यक छ, विद्यालयलाई लैंगिकमैत्री बनाउन के गर्नुपर्ला, हाम्रो भूमिका कस्तो हुनुपर्छ, विभेद के हो, विद्यालय र घर–समुदायमा विभेद महसुस भएमा के गर्ने भन्नेजस्ता विषयमा विद्यार्थीहरूलाई सचेत गराउन सके विभिन्न विभेद न्यूनीकरण गर्न सकिन्छ ।

हिंसा र दुर्व्यवहार भनेका के–के हुन्, के कसरी र कोबाट हिंसा र दुर्व्यवहार हुन सक्छ, कसरी बच्ने, कहाँ उजुरी दिने, लागूऔषध र मानव बेचबिखनबाट कसरी जोगिने, साइबर अपराध भनेको के हो, इन्टरनेटको सही प्रयोग कसरी गर्ने, सामाजिक सञ्जालको लतबाट कसरी जोगिने, बुलिङ के हो र कसरी हुन्छ, यसबाट बच्न के गर्ने, ‘गुड टच’ र ‘बयाड टच’ लाई कसरी छुट्याउने भन्ने जस्ता विषयहरू सुन्दा अति सामान्य लाग्ने भए पनि विद्यालयदेखि नै विद्यार्थीहरूलाई यसबारे सचेत गराउन सके त्यस्ता घटनाहरूको रोकथाम, न्यूनीकरण र नियन्त्रणमा मद्दत पुग्छ ।

पुस्तकालयको प्रयोग, समय व्यवस्थापनको महत्त्व, नेतृत्व विकास, व्यवस्थापन कौशल, प्रस्तुतीकरण सीप, शैक्षणिक तथा सहशैक्षणिक क्रियाकलापको महत्त्व आदि विषयबारे सुरुआती दिनमै स्पष्ट पार्न सकेमा यसतर्फ विद्यार्थीको आकर्षण बढ्न सक्छ । यसका अलावा ज्ञानमूलक सिनेमा, उत्प्रेरणामूलक मन्तव्य, सफल व्यक्तित्वको जीवनी, आत्मकथाका किताबहरू आदि पढ्ने बानी बसाल्न सकिएमा उनीहरूको मनोबल उच्च बनाउन सकिन्छ ।

लिखित परीक्षा विद्यार्थी मूल्यांकनको एउटा विधि मात्र हो । मूल्यांकनका थुप्रै विधि हुन्छन् । प्रत्येक दिन विद्यालयमा उपस्थित भएदेखि नै कुनै न कुनै तरिकाले मूल्यांकन भइरहेको हुन्छ भनेर विद्यार्थीलाई परीक्षादेखि नतर्सिने बनाउँदै लैजान सकिन्छ ।

अभिभावकहरूलाई विद्यालयको वर्षभरिका कार्यक्रमबारे जानकारी गराउनुपर्छ । केही अभिभावक विद्यालयका गतिविधिमा चासै नराख्ने, कतिपय आवश्यकताभन्दा बढी चासो राख्ने र केही सचेत अभिभावकले विद्यालयको विकासमा कसरी समन्वयकारी भूमिका खेल्ने भन्ने खालका हुन्छन् । त्यसैले अभिभावकहरूसँग नियमित रूपमा अन्तर्क्रिया गर्नुपर्छ । शैक्षिक सत्रको सुरुवाती दिनदेखि नै पूर्वप्राथमिक तहमा प्रवेश गरेका बालबालिकाले लेख्नपढ्न नजानेको जस्ता गुनासो गर्ने प्रकृतिका अभिभावकलाई बालबालिकाको उमेरअनुसारको सिकाइ हुनेबारे जानकारी गराउनुपर्छ । अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, परियोजना कार्य गराउँदा शिक्षकहरूले नपढाएको भनेर गुनासो गर्न आउने अभिभावकलाई यी कार्यक्रमको महत्त्वबारे सम्झाउनुपर्छ ।

विद्यार्थीहरूको पठनपाठनसहित सर्वाङ्गीण विकासको जिम्मा विद्यालयको मात्रै हो भनेर घरमा आफ्ना बालबालिकाबारे चासो नराख्ने तथा व्यस्त जीवनचर्याका कारण बाध्यात्मक अवस्थामा रहेका श्रमक्षेत्रका अधिकांश अभिभावकलाई पनि बालबालिकाका लागि उपयुक्त समय दिन र घरमा समेत पढाउन आवश्यक छ भनी बुझाउनुपर्छ । कतिपय अभिभावक आफू पढेलेखेको नहुँदा बालबालिकालाई घरमा सिकाउन नसकिएको भन्नेसमेत गुनासो गर्ने गर्छन् । त्यस्ता बालबालिका दैनिक रूपमा विद्यालय आए–नआएको, विद्यालयमा पठनपाठन भए–नभएको, पठनपाठनसम्बन्धी सहजता वा कठिनाइ, ठीक समयमा खाने–सुत्ने–खेल्ने, सरसफाइ लगायतका विषयमा दैनिक अन्तर्क्रिया गर्ने गरेमा उनीहरू स्वयम् सिक्ने वातावरण बनाउनपट्टि लाग्छन्; नबुझेका विषयमा शिक्षकसँग निर्धक्क भई प्रश्न गर्न सक्ने हुन्छन् भन्नेबारे अभिभावकलाई अभिमुखीकरण गर्न आवश्यक छ ।

राम्रो पूर्वतयारीका साथ थालिएको शैक्षिक सत्रले राम्रो प्रतिफल दिन्छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले शिक्षकहरूमा माथि उल्लिखित सवालबारे सचेतना बढाउने वातावरण बनाइदिए र स्रोतसाधनको जोहो गरिदिए वार्षिक शैक्षिक गतिविधिले सार्थकता पाउने विश्वास गर्न सकिन्छ ।

प्रकाशित : वैशाख १९, २०८० ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?