कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

युक्रेनी प्रतिरक्षा शक्तिको अर्थ

शक्तिशाली राष्ट्रको सेनाले अर्को देशमा आक्रमण गरेर केही भूभाग आफ्नो कब्जामा लिन सक्छ । तर त्यस्तो सेनालाई कब्जामा लिएको भूमिप्रति कुनै मोह हुँदैन, जुन उक्त देशका बासिन्दाहरूलाई हुन्छ ।
विनोद सिजापती

एक वर्ष नाघिसक्दा पनि रुस तथा युक्रेन युद्ध टुंगो लाग्ने लक्षण देखा परेको छैन । यसबीच विभिन्न चरणमा मिन्स्क (बेलारुस) तथा इस्तानबुल (टर्की) मा भएका शान्ति वार्ता परिणामविहीन रहे ।

युक्रेनी प्रतिरक्षा शक्तिको अर्थ

युद्ध प्रारम्भ वर्षगाँठको पूर्वसन्ध्या २३ फेब्रुअरी २०२३ मा चीनले शान्ति प्रस्ताव अघि सार्‍यो तर रुसी सेनाको फिर्तीको विषयमा मौन रहेको भन्दै युक्रेनले सो प्रस्ताव स्विकारेन । यसबीचमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्को भ्रमण गरे । रुसले चिनियाँ प्रस्तावको स्वागत गरेको छ । यद्यपि शान्तिको दिशामा कुनै ठोस कदम अघि बढेको देखिँदैन ।

युद्धपीडित ८० लाखभन्दा बढी युक्रेनी शरणार्थीहरूले युरोपका विभिन्न राष्ट्रमा शरण लिइरहेका छन् । युक्रेनका भौतिक पूर्वाधार ध्वस्त भएका छन् । उसको अर्थतन्त्रको आकार खुम्चिएर अत्यन्त नाजुक अवस्थामा पुगेको छ । अमेरीका तथा पश्चिमा राष्ट्रले लगाएको प्रतिबन्धका बावजुद रुसी अर्थतन्त्र भने मौलाइरहेको छ ।

२४ फेब्रुअरी २०२२ मा युक्रेनको राजधानी किभलाई लक्षित गरी उत्तर, दक्षिण तथा पूर्व दिशाबाट रुसले मिसाइल, तोप तथा हवाईजहाजबाट गोला बर्साएर ‘विशेष सैनिक कारबाही’ सुरु गरेको थियो । अत्यन्त छोटो अवधिमा रुसी सेना किभ प्रवेश गरेर युक्रेन नियन्त्रणमा लिन सफल हुने आकलन सुरक्षाविद्हरूको थियो । युद्धभूमिमा युक्रेनी सेना अत्यन्त बहादुरीका साथ भिड्दै छन्Ù रुसले युद्धको सुरुका दिनमा कब्जा जमाएर समायोजन गरेको कतिपय युक्रेनी भूभाग फिर्ता लिन सफल हुँदै छन् । पश्चिमा राष्ट्रहरू (अमेरिका, जर्मनी, ब्रिटेनसँगै रुसको सीमा जोडिएको पोल्यान्ड तथा रुमानिया) ले हतियार उपलब्ध गराएको हुनाले नै युक्रेनी सेनाले प्रतिकार गर्न सकेको धेरैको धारणा छ । आधुनिक हातहतियारले सज्जित सेना युद्धभूमिबाट सुइँकुच्चा ठोकेको घटनालाई अनदेखा गर्छ यस धारणाले । आफूभन्दा धेरै गुणा शक्तिशाली राष्ट्रको सैनिकसँग डटेर भिड्ने राष्ट्रहरू छन् । छिटफुट कारणले युद्धको चारित्रिक गुणमा समानता देखा पर्ने गर्छन् । तिनै समानताका आधारमा झन्डै ३६ वर्षपूर्व भारतले श्रीलंकामा ‘शान्ति स्थापना’ का निमित्त गरेको सैनिक अभ्यासलाई यस आलेखमा प्रस्तुत गरिएको छ ।

श्रीलंका ४ फेब्रुअरी १९४८ मा स्वतन्त्रता हासिल गरेलगत्तै भारतीय छत्रछायाबाट अलग रहेर आफ्नै पहिचान कायम गर्न प्रयत्नशील रह्यो । दोस्रो राष्ट्रपति पदमा जुलियस रिचार्ड जयबर्दने निर्वाचित ( १९७८) भएपछि श्रीलंकाले नवउदारवादी अर्थतन्त्र अंगिकार गर्‍यो । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन ‘आसियान’ को सदस्य हुने प्रयास गर्‍यो । विश्वकै अब्बल दर्जाको नौसेना बन्दरगाह बन्ने सम्भावना रहेको ट्रिन्कोमालीलाई अमेरिकी नौसेनालाई सुम्पन चाह्यो । आफूहरू उत्तरपूर्वी श्रीलंकाको आदिवासी भएको विश्वास त्यहाँका तमिलले गर्छन् । उनीहरूले समुदायको हित तथा उत्थानका निमित्त छुट्टै तामिल राज्य स्थापनाका लागि स्वतन्त्रतालगतै संघर्ष थालेका थिए । समयसँगै बहुसंख्यक सिंहला (कुल जनसंख्याको ७४ प्रतिशत) हावी भएको राज्यले तमिल समुदाय (९ प्रतिशत) लाई विभेद गर्न थाल्यो । तमिलविरुद्ध हिंसात्मक जातीय द्वन्द्वहरू भए । जातीय द्वन्द्वसँगै अलग तामिल राज्यको माग आन्दोलनमा परिणत भयो । आन्दोलनकारीमध्ये उग्रवादीले अलग तामिल राष्ट्रको निर्माण लक्षित पृथकतावादी सशस्त्र विद्रोह सुरु गरे । तमिल युवाहरू प्यालिस्टाइनी आतंकवादी संस्थाबाट सञ्चालित तालिम केन्द्रहरूमा प्रशिक्षित हुन थाले । तालिम प्राप्त गरेका पृथकतावादी श्रीलंकामा आतंक मच्चाउन सक्रिय भए ।

भारतका निम्ति श्रीलंकन तमिल आन्दोलन सुर्ताको विषय बन्यो । अन्तर्राष्ट्रिय कारणका रूपमा सुरक्षाको हिसाबले अत्यन्त महत्त्वपूर्ण छिमेकी राष्ट्र आफ्नो प्रभाव क्षेत्रबाट उछिट्टिनु जति चिन्ताको विषय थियो, त्यत्तिकै चिन्ता थियो- पालक स्ट्रेट पारिका १२ लाख श्रीलंकन तमिलभन्दा तमिलनाडु प्रान्तका ५० लाख तमिलको । शताब्दिऔंदेखि दुवै राष्ट्रका तमिलबीच धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्ध प्रगाढ छ । र उता, भारतीय तमिलले द्रविड आन्दोलन सञ्चालन गर्दै आएकाले यदि भारतीय तथा श्रीलंकन तमिल पृथकतावादी बृहत् तामिल राष्ट्र निर्माण उद्देश्य प्राप्तिका निमित्त अग्रसर भए भने भन्ने चिन्ता पनि भारतको देखिन्थ्यो ।

श्रीलंकाको सशस्त्र विद्रोहको उत्सर्ग थियो- सन् १९८४ मा लिबरेसन तामिल टाइगर्स अफ इलम (एलटीटीई) ले वाणी जंगलमा गस्ती गर्न खटिएका सेनामाथि गरेको आक्रमण तथा सामूहिक हत्या । त्यसपछि श्रीलंका गृहयुद्धको चपेटमा फस्यो । विद्रोहीले तमिलनाडु राज्यमा शरण पाए । त्यहाँ आतंकवादी तालिम केन्द्रहरू स्थापना भए, तिनले हतियार सहयोग पाउन थाले । भारतीय अन्तर्राष्ट्रिय खुफिया एजेन्सी ‘र’ ले देहरादूनस्थित सैनिक तालिम केन्द्रमा समेत उनीहरूलाई प्रशिक्षण दिन थाल्यो ।

त्यसैबीच, भारत तथा श्रीलंकाबीच सन् १९८७ जुलाई २९ का दिन शान्ति सम्झौता सम्पन्न भयो । यसको दोस्रो दिन भारतीय शान्ति सेनाको अवधारणामा १० हजार सैनिक जत्था उत्तर श्रीलंकाको जाफ्नास्थित पलाले हवाई मैदानमा उत्रियो । उद्देश्य थियो— लिबरेसन तामिल टाइगर्स अफ इलम (एलटीटीई) विद्रोही समूहको सैनिक अड्डा नियन्त्रणमा लिने तथा हतियार समर्पण गर्न बाध्य तुल्याउने । प्रधानमन्त्री राजीव गान्धीलाई भारतीय सेनाप्रमुख तथा ‘र’ ले २४ घण्टाभित्र एलटीटीईले भारतीय सेनालाई हतियार सुम्पनेछ भन्नेमा विश्वस्त तुल्याएका थिए ।

उत्तरपूर्वी श्रीलंकामा तैनाथ हुँदै गरेका भारतीय शान्ति सेना (आईपीकेएफ) लाई बिनाअवरोध केही तामिल विद्रोही समूह जस्तै इलम पुपिल्स रेभोलुसनरी लिबरेसन फोर्स (ईपीआरएलएफ) तथा पुपिल लिबरेसन अर्गनाइजेसन अफ तामिल इलम (पलोट) ले हतियार सुम्पिए । एलटीटीईले पनि तामझामबीच जाफ्ना खेल मैदानमा केही थान हतियार समर्पण गर्‍यो । तर भारतीय नौसेनाले कब्जामा लिएको १३ एलटीटीई कार्यकर्तालाई श्रीलंकन सेनालाई बुझाउने आईपीकेएफको निर्णयपछि एलटीटीईले विद्रोह गर्‍यो । हतियार समर्पण गर्नुको बदलामा उसले भारतीय शान्ति सेनाविरुद्ध युद्ध घोषणा गर्‍यो । उत्तरपूर्वी श्रीलंकास्थित ८ जिल्ला (आमपराई, बाट्टिकोला, ट्रिन्कोमाली, मुलाइतिभु, किलोनोची, मनार, बबुनिया तथा जाफ्ना) मा छरिएका १ हजार ६ सय (अनुमानित) एलटीटीई गुरिल्लाको चुनौती सामना गर्न शक्ति विस्तार गर्दै आईपीकेएफले १ लाख ३ हजारभन्दा बढी सैनिकलाई युद्ध मैदानमा परिचालन गरेको थियो ।

आईपीकेएफको श्रीलंकन भूमिमा भएको ३१ महिना लामो उपस्थिति अत्यन्त हिंसात्मक रह्यो । एलटीटीईले आईपीकेएफ समर्थकको निर्मम हत्या गर्ने अभियानै सञ्चालन गर्‍यो । उसको आज्ञापालना नगर्ने सरकारी, अन्य विद्रोही समूहका नेता/कार्यकर्तालगायत सर्वसाधारणको हत्या गर्ने रणनीति अख्तियार गर्‍यो । धम्काउने, जबर्जस्ती चन्दा असुली तथा सम्पत्ति कब्जा गर्ने कार्यलाई निरन्तरता दियो । आईपीकेएफकै नियन्त्रण क्षेत्रमा रहेका सरकारी अधिकारीलाई सुरक्षा दिन सकेन ।

फूलमाला तथा बाजागाजाका साथ स्वागत गर्ने तामिल सर्वसाधारण आईपीकेएफ उपस्थिति जनाएको महिना नपुग्दै पछुताउन थाले । आईपीकेएफले ध्वस्त पारेको भौतिक संरचनाको अभिलेख तयार छैन । जानकार भन्ने गर्थे, श्रीलंकन सेनाले विद्रोहीलाई निसानीमा राख्यो, भौतिक संरचना ध्वस्त पारेन । तर जुन समुदायको सुरक्षाका लागि आईपीकेएफ खटिएको थियो, त्यही समुदाय उसबाट असुरक्षित रह्यो । ‘इन्डियन पिस किपिङ’ मिसनको नाम परिवर्तन गरेर तामिलहरूले ‘इन्नोसेन्ट पिपुल किलिङ’ फोर्स भन्न थाले । आईपीकेएफले जाफ्ना अस्पताल, बदम राची, चाभा कचेरीजस्ता स्थानमा गरेको सामूहिक हत्यालाई तामिलहरूले अमेरिकी सेनाले भियतनाममा गरेको सर्वसाधारणको हत्यासँग तुलना गर्छन् । अन्ततः भारतीय सेना अत्यन्त लज्जास्पद हार बेहोरेर श्रीलंकाबाट पलायन हुन बाध्य भयो । निर्वाचित राष्ट्रपति प्रेमदासाको ‘मेरो भूमिबाट विदेशी सैनिक फिर्ता नहुन्जेल शपथग्रहण गर्दिन’ भन्ने प्रण आईपीकेएफका लागि वरदान साबित भयो ।

भारतीय सैनिक सेना बिनातयारी श्रीलंका गएको थियो । पलाले हवाई अड्डामा अवतरण भएको आईपीकेएफ कमान्डरसँग जाफ्ना सहरको भौगोलिक नक्सा थिएन । गुगल म्याप पूर्वको त्यो कालखण्डमा जाफ्नाको सडकसडक सञ्जालप्रतिको अनभिज्ञता कति घातक भयो होला, कल्पना गर्न सकिन्छ । राशनपानीको उचित व्यवस्था थिएन । स्थानीय व्यापारीसँग खाद्यान्न र आउने–जाने ट्रकबाट खोसिएका माछा खानुपरेको थियो । अधिकांश श्रीलंकन तमिल शान्तिप्रेमी हुने गर्छन् । तमिल राष्ट्र उनीहरूको कल्पनाबाहिरको विषय थियो । स्वतन्त्र नागरिकको हैसियतमा श्रीलंकाको नागरिक हुँदा प्राप्त गरेको लाभबाट उनीहरू गौरवान्वित थिए । तिनको अनुभवमा विदेशी सेना स्वदेशीभन्दा अत्याचारी प्रमाणित भयो ।

यसको मतलब के हो भने, शक्तिशाली राष्ट्रको सेनाले आक्रमण गरेर केही भूभाग आफ्नो कब्जामा लिन सक्छ । तर त्यस्तो सेनालाई आफूले कब्जामा लिएको भूमिप्रति मोह हुँदैन । जबकि राष्ट्रवासीका लागि त्यो भूमिले पहिचान दिन्छ, स्वतन्त्रता दिन्छ तथा यो मेरो देश भन्ने अधिकार दिन्छ । विदेशी सेना वास्तवमा आदेशको पालना गर्दै अर्को राष्ट्रको सार्वभौमिकता हनन गर्दै पुगेका हुन्छन् । युद्धसँग तिनको कुनै अपनत्व हुँदैन । आक्रमणकारीविरुद्ध लड्ने सेना लगायत सर्वसाधारणका निमित्त स्वाधीनता तथा स्वतन्त्रता अत्यन्त प्यारो हुन्छ । उनीहरूको मनोबल उच्च तुल्याउन सक्षम नेतृत्वले जुनसुकै मूल्य चुकाएर पनि स्वतन्त्रता कायम गर्न कटिबद्ध तुल्याउँछन् । विवादित छविका पाँचौं राष्ट्रपति पेट्रो पोरोशेंकोले रुसी आक्रमण तथा क्रिमियाको विलयविरुद्ध जनपरिचालन गर्न सकेनन् । तिनका उत्तराधिकारी राष्ट्रपति जेलिनिस्की फरक साबित भएका छन् । पदभार सम्हालेको तीन वर्ष नपुग्दै रुसले गरेको हमला डटेर सामना गर्न अग्रसर छन् । एक साधारण हास्य कलाकारले अभूतपूर्व साहस देखाएर आक्रमणकारीविरुद्ध देशवासी विशेष गरी सुरक्षाकर्मीलाई एक ढिक्का पार्न सफल भएका छन् । र आजको विश्वमा एक लोकप्रिय नेतामा दर्ज भएका छन् ।

प्रकाशित : चैत्र २४, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?