स्टार्टअप नीतिले आशाको सञ्चार गरोस्

सम्पादकीय

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा तयार भएको राष्ट्रिय स्टार्टअप उद्यम नीति–२०७९ को मस्यौदा हाल सुझावका लागि नीति अनुसन्धान प्रतिष्ठानमा छ । सरोकारवाला तथा विज्ञहरूमाझ यसको व्यवस्थाबारे छलफल पनि भइरहेको छ । नेपालमा स्टार्टअपको सफल परीक्षणका लागि यो नीतिलाई बलियो बनाउनुको विकल्प छैन । नवीन सोच भएका, त्यसका लागि समय, ऊर्जा र बजेट लगानी गर्न सक्ने युवाहरूलाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउनु समयको माग पनि हो । तसर्थ, मस्यौदामाथि आएका सुझावअनुरूप यसका प्रावधान र परिभाषालाई परिमार्जन गर्नु अपरिहार्य छ ।

केही समययता नवप्रवर्तन (स्टार्टअप) उद्यमतर्फ युवाहरूको आकर्षण बढ्दो छ । ‘आइडिया’ को जगमा कम लगानीमै मुनाफा आर्जन गर्न सक्ने भएकाले पनि रोजगारी र आर्यआर्जनको खोजीमा रहेका युवाहरूको ठूलो संख्या यसमा संलग्न छ । तर स्पष्ट नीतिको अभावमा स्टार्टअपलाई हुर्कने वातावरण गतिलो छैन । यसका दर्ता तथा सञ्चालनका अन्य प्रक्रिया साना तथा मझौला उद्योगको जस्तै झन्झटिला छन् । यसले गर्दा स्टार्टअप उद्यमीहरू हतोत्साही छन् । नीतिकै अभावमा स्टार्टअप सम्बन्धी सरकारी योजना र बजेटका कार्यक्रमहरूसमेत लागू गर्न नसकिएको अवस्थामा नीतिगत स्पष्टताको आवश्यकता टडकारो छ ।

यस्तो अवस्थामा मस्यौदा आउनु निःसन्देह सकारात्मक छ । मस्यौदामा विगतमा स्टार्टअपका लागि सरकारी तवरबाट भएका पहल, यो समस्या, चुनौती र अवसरको सविस्तार वर्णन हुनुले यसको प्रवर्द्धनप्रति सरकार संवेदनशील रहेको देखाउँछ । मस्यौदामा भएको स्टार्टअपको परिभाषा र यसको प्रवर्द्धनका लागि उल्लेख गरिएको संघ, प्रदेश र स्थानीय सरकारको भूमिका र अन्य उद्योगभन्दा स्टार्टअप फरक रहेको देखाउन प्रस्तुत गरिएको आधार भने प्रस्ट छैनन् ।

मस्यौदाको परिभाषाले विज्ञान, कृषि, वन, पर्यटन, पूर्वाधार, खनिजसमेत १५ भन्दा बढी उद्यम स्टार्टअपभित्र पर्ने भनेको छ । यसको अर्थ यसको परिभाषाभन्दा बाहिर रहेका उद्योम स्वतः स्टार्टअप बाहिर पर्ने भए । तर स्टार्टअप ‘यस्तो हुनुपर्छ’ भन्ने निश्चित आधार हुन्न । यसको सफलताका लागि उद्यमीहरूलाई स्वतन्त्र र सृजनशील बनाइराख्न सक्नुपर्छ । सूचनाप्रविधिको व्यापक विस्तार भइरहेकाले, व्यवसायका प्रकृतिहरूमा पनि व्यापक फेरबदल आइरहेको छ, आइरहनेछ । नीतिले स्टार्टअप व्यवसायको दायरालाई परिभाषामै तोकिदिनुले अलमल सृजना गर्छ । अर्को, स्टार्टअपलाई अरू उद्यमलाई झैं निश्चित पुँजी र आय तोकिएको छ । वार्षिक कुल आय ५० लाख, स्थिर पुँजी २ करोड र चुक्ता पुँजी ५० लाख रुपैयाँभन्दा बढी नभएको हुनुपर्ने भन्नेबित्तिकै यो नियन्त्रित हुन्छ, जुन स्टार्टअपको विशेषता नै होइन । त्यसैले संख्या तोक्ने अवधारणा लादेर स्टार्टअपलाई खुम्च्याउनु हुन्न ।

मस्यौदामा केन्द्रीकृत मानसिकता हावी छ । संघीय व्यवस्थामा, स्टाटअर्पको रेखदेखमा प्रदेश र स्थानीय तहको साथ बढी प्रभावकारी हुन्छ । मस्यौदाले आ–आफ्नो क्षेत्रको स्टार्टअप उद्यमको विकासका लागि आवश्यक संस्थागत व्यवस्था गर्न निर्देश गरेको छ । प्रदेश, स्थानीय तह अन्तर्गत स्टार्टअप कोष बनाउने कल्पना गरेको छ, जसबाट उद्यमीहरू सरकारको मुख ताक्ने बन्न सक्ने खतरा विज्ञहरूले औंल्याएका छन् । यस्तै, नीति संविधानले प्रदेशलाई दिएको आर्थिक उन्नतिको स्वायत्तताको मर्म अनुसार पनि नभएको उनीहरूको टिप्पणी छ । अतः, स्थानीय तथा प्रादेशिक सरकारको भूमिका बढाउने गरी यसका प्रावधानहरूको पुनर्व्याख्या गरिनुपर्छ ।

संघीयतापछि पनि स्थानीय र प्रदेशको आवश्यकता अनुरूप नेपालको अर्थ नीति चल्न सकेको छैन । मस्यौदामा पनि यसैको झल्को पाइन्छ । नीति अर्थतन्त्र, उद्योग तथा अर्थ मन्त्रालयका मन्त्रीहरू, सचिवहरू, राष्ट्र बैंकमा कर्मचारीहरू वरिपरि नै घुमिरहेको आभास हुन्छ, जसमा सहजीकरण गर्नेभन्दा पनि कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने प्रवृत्ति हावी छ । मस्यौदाले स्टार्टअपको व्यवस्थापनका लागि परिकल्पना गरेको नेपाल स्टार्टअप परिषद्को प्रावधानमा पनि यही प्रवृत्ति भेटिन्छ । स्टार्टअप उद्यमीहरूका लागि सञ्चालन प्रक्रिया झन्झट र नियन्त्रणरहित बनाउन प्रदेश र स्थानीय तहलाई नै अधिकारसम्पन्न बनाउनुपर्छ । आ–आफ्नो क्षेत्र र आवश्यकता अनुसार स्टार्टअप नीति बनाउने वातावरण दिनुपर्छ ।

‘आइडिया’ सुनाएको भरमा कर्जा दिने बैंकिङ प्रणाली नेपालमा खासै छैन । स्टार्टअपका लागि लगानी जुटाउन पनि उद्यमीहरूलाई हम्मेहम्मे पर्छ । धेरैले आ–आफ्नो बुतामा बीउ पुँजीको जोहो गरेका छन् । त्यसका लागि सहज उपाय विदेशमा भएका आफन्त वा कम्पनीहरूलाई आफ्नो ‘आइडिया’ सहमत गराउनु पनि हो । स्टार्टअप फस्टाउन विदेशिक लगानीको भूमिका पनि अधिक हुने गर्छ । मस्यौदामा भने चुक्ता पुँजीको सीमा किटान गर्दिनाले स्टार्टअपमा विदेशी लगानी भित्र्याउन बाधा पुग्ने देखिन्छ । चुक्ता पुँजीको सीमा ५० लाख छ, यता वैदेशिक लगानी ऐनले न्यूनतम २ करोड रुपैयाँभन्दा कम प्रत्यक्ष वैदेशिक लगानी ल्याउन नपाइने व्यवस्था गरेको छ । यस्तो बेमेललाई मिलाउनु आवश्यक छ । सबाल लगानीको मात्र पनि होइन, लगानीसँगै सहकार्यमार्फत त्यहाँको प्रविधि र सञ्जालमार्फत नेपाली स्टार्टअपहरूले पाउने लाभको पनि हो ।

नीतिलाई सहारामुखी बनाउन सके मात्र पनि अर्थतन्त्रमा हजारौं स्टार्टअप आउने वातावरण बनाउन सकिन्छ । स्वेदशमै भविष्य देख्ने युवाहरूको सपना साकार पार्न सरकारी साथको प्रत्याभूति चाहिएको छ । तसर्थ, मस्यौदालाई सुधार्दै स्टार्टअप उद्यमीहरूलाई उत्साही बनाउने, व्यवसायलाई दिगो बनाउन चाहिने प्रणाली बसाउने गरी राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०७९ आउनुपर्छ ।

प्रकाशित : चैत्र १३, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्

कालीमार्सीको बीउ भिजाउँदै किसान

तुलाराम पाण्डे

कालीकोट — हिमा गाउँपालिका–५ जुम्लाका नमराज रोकाया गत मंगलबार १ सय ४० भेडाको बथानसहित घर फर्किन दैलेखको भेल्तडीमा भेटिए । उनीसहितका १३ जनाको समूह गत मंसिर ७ मा जाडो सुरु भएपछि जुम्लाबाट तातो ठाउँको खोजीमा अछामको जैगढ झरेका थिए ।

भेडासँगै कुकुर र जहान परिवार लिएर कर्णाली राजमार्ग हुँदै फर्किंदै गरेका रोकाया चैत १२ मा बीउ रुझाउने (भिजाउने) दिन नजिकिएकाले घर जान हतार गर्दै थिए । ‘बीउ रुझाउने दिनसम्म त घर पुग्नैपर्छ,’ उनले भने, ‘अघिपछि जता गए पनि चैत १२ मा बीउ रुझाउने दिनसम्म घर नपुगे हरिखबरी (खोजखबर) गर्ने चलन छ ।’

हिउँदको सिजनमा जुम्लामा जाडो अत्यधिक हुने भएकाले न्यानो ठाउँ र भेडाका लागि चरनको खोजीमा अछाम, दैलेख, डोटी, कैलालीलगायतका ठाउँमा झर्ने भेडापालक किसान चैत लागेपछि फर्किने परम्परा जस्तै छ । ‘चिसो (जाडो) पनि बाइगो (भाग्यो), ताता दिन लाइगयो (गर्मी सुरु भयो), अब त फर्किनै पर्‍यो,’ पिठ्युँमा डोको र काखीमा १८ दिनको भेडाको पाठो च्यापेकी नन्दकली रोकायाले स्थानीय लवजमा भनिन्, ‘केटाकेटी (बच्चाबच्ची) पनि स्कुल भर्ना गर्ने दिन आइगयो ।’ उनको समूहका सबैजसोले हिउँदमा भेडाबाख्राको गुवालो (गोठालो) सँगै बुनेका राडीपाखी पनि सँगै ल्याएका थिए ।

‘केही त उतै (अछामको मंगलसेन, कमलबजार) बेच्यो,’ पाखी बुन्न सिपालु धनवीर शाहीले भने, ‘बिक्री नभएका मात्र ल्याएका हौं ।’ आफूले मात्र ३५ हजारको राडीपाखी बेचेको उनले जनाए । जुम्लाका हिमा मात्र नभएर सिंजा, कनकासुन्दरी, तिला तातोपानी, गुठीचौर पातारासी, कालीकोटको चिल्खाया, रुरु, रतडा, मुगुको सोरु, खत्याड, रारा छायानाथलगायत ठाउँबाट जाडो छल्न औल झरेका भेडी गोठाला लेक उक्लिन थालेका छन् । जाडो कम हुने कालीकोटका बेंसीतिरका खर्कबाट किसानले गाईभैंसी, भेडा, बाख्रा पनि लेकतिर सार्न थालेका छन् ।

चैतमा धानको बीउ रुझाएर सुरु हुने धानको मौसमी पात्रो कात्तिक पहिलो साता भित्र्याएपछि अन्त्य हुन्छ । मंसिरमा यहाँका स्थानीय ज्याला–मजदुरी, व्यापार, कृषि कामका लागि घर छाडेर अन्यत्र जाने चलन रहेको नागरिक समाज जुम्लाका अगुवा धनबहादुर गौतमले बताए । साविकको कर्णालीका जुम्ला, कालीकोट, मुगु र हुम्लाका लेकाली भेगमा चैत १२ मा धानको बीउ रुझाउने परम्परा छ । मार्सी धानको लेभलिङ र प्याकेजिङका लागि मूल्यवान लोगो दिने काम भइरहेको कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए ।

प्रकाशित : चैत्र १३, २०७९ ०७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×