कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

पर्यटकलाई चिढ्याउने कि रिझाउने ?

राजेन्द्र मानन्धर

दोलखाको कालिञ्चोक देशकै एउटा महत्त्वपूर्ण पर्यटनस्थलका रूपमा स्थापित भइरहेको छ । कालिञ्चोक फेदैको कुरीमा निम्न, मझौला र अब्बल खाले होटल खुलेका छन् । आजकल कालिञ्चोक आउने पर्यटक ठगिएका सम्बन्धी गुनासो सामाजिक सञ्जालमा प्रशस्तै सुनिन्छ, यदाकदा सञ्चार माध्यममा पनि आउँछ ।

पर्यटकलाई चिढ्याउने कि रिझाउने ?

धार्मिक तथा पर्यटकीय स्थलका रूपमा सर्वत्र परिचित हुँदै गइरहेको क्षेत्रबारे यस्तो विषय आउनुले उक्त क्षेत्रको पर्यटन व्यवसायलाई नै कमजोर बनाउँछ । तसर्थ कालिञ्चोक घुम्न आउनेहरू आफू ठगिएको महसुस नगरून् भन्नेमा सर्तक हुनु आवश्यक छ ।

सर्वप्रथम पर्यटकले पहिल्यै दरभाउ बुझ्ने, मेनु हेरेर मात्र वस्तु र सेवा लिने गर्नुपर्छ । अर्को, कालिञ्चोकका पर्यटन व्यवसायीहरूले पनि आफ्नो धर्म निर्वाह गर्नुपर्छ । कालिञ्चोक महँगो हुँदै गएको मलाई पनि अनुभव छ । खाना तथा बासको पनि पैसा बढी लिइन्छ । अझ मद्यपान गर्नेहरूका खल्ती रित्तिएको पत्तै हुँदैन । मनोरञ्जन मात्र होइन दर्शन गर्ने मनसायले आश्रय लिनेहरूलाई पनि कालिञ्चोक महँगो हुँदै गइरहेको छ । त्यसो त करिब ३ हजार ८ सय ४२ मिटर अग्लो कालिञ्चोकमा ढुवानी कठिन छ । बेंसी र राजमार्ग छेउछाउभन्दा ठण्डीमा व्यवसाय गर्दा अधिक कठिनाइ हुन्छ नै । चिसो छल्न विशेष लगानी गर्नुपर्ने भएकाले सेवा र वस्तुहरूको मूल्य स्वाभाविक रूपमा बढी पर्न जान्छ । तर, पर्यटकहरूले आफू ठगिएकै महसुस गर्नु, आफ्ना व्यथाहरू ओकल्नै पर्ने अवस्था आउनुका कारणहरू भने सबैभन्दा पहिला व्यवसायीहरूले खोजी गर्नुपर्छ ।

कालिञ्चोक मात्र होइन, त्यहाँको प्रवेशमार्ग अरनिको राजमार्गमा पनि ठगिएको महसुस गर्नेहरू छन् । अरू पर्यटकीय स्थानको हालत पनि उस्तै छ । राजमार्गका होटलहरूमा मूल्यसूची नभएकाले साहुजीले भनेको हिसाब तिरिन्छ । जोडजाडमा वास्ता गरिन्न । केही होटलले किस्तीभर विभिन्न प्रकार खान्की ग्राहकको टेबलमा राख्दिन्छन् । देख्दा गज्जब लाग्छ तर पैसा तिर्ने बेला खङ्ग्रङ्ङ परिन्छ । कतिपय स्थानमा बासी खाना पनि खुवाइन्छ । ती स्वास्थ्यकर र गुणस्तरीय हुँदैनन् । म आफैंले यस्तो अनुभव गरेको छु । अरनिको राजमार्ग छेउका रिसोर्टमा प्रतिव्यक्ति एक रातको २५ सयदेखि ३५ सय रुपैयाँसम्म तिरिन्छ । सामान्य होटलमा पनि शुल्क बढी नै हुने गर्छ । अझ सुनकोसी किनारका रिसोर्ट तथा होटलहरूको भाउ त झन् चर्को छ । कतिमा त व्यवस्थापन पनि राम्रो छैन ।

केही दिनअघि मेरो एक साथी अफिसका अरू कर्मचारीसँगै प्याकेजमा नगरकोट गएका थिए । होटलसँग ५० हजारको सम्झौता रहेछ । उनले एक बोतल नेपाली वाइन थप लिएछन् । भोलिपल्ट ७ सय ५० रुपैयाँ लेबल गरेको नेपाली वाइनको ३ हजार तिर्नुपरेछ । व्यवसायीका अनुसार उद्योगबाट अन्तःशुल्कसहित एक बोतल वाइन ४ सय रुपैयाँ जतिमा बाहिरिन्छ । तर, रिसोर्ट तथा होटल हेरी ६ हजार रुपैयाँसम्म तिनुपर्छ । पैसा तिर्नुपरे पनि सो अनुसार सुविधा र सन्तुष्टि मुख्य कुरा हो, जुन पर्यटकले विरलै अनुभव गर्ने गर्छन् ।

नेपाली पर्यटकले आफ्नो आर्थिक सामर्थ्य अनुसार स्वदेशका सानाठूला होटल र रेस्टुराँ चहारेकै हुन्छन् । ठमेलका डिस्को, डान्स र अन्य मनोरञ्जनस्थलमा सयको वस्तुलाई हजारसम्म तिर्नुपर्छ । किन्तु, यसबारे पर्यटकलाई पहिल्यै जानकारी हुन्छ । र, अतिरिक्त मूल्य भार बोक्न तयार भएरै मनोरञ्जन गरिन्छ । केही समयअघि राजधानीको ठमेलको एउटा होटलमा बस्दा साथीहरू सबैको खल्ती रित्तिने गरी बिल आएको थियो । अस्वाभाविक लाग्ने बिल लिएर ठगीको आरोप लगाएर प्रहरी चौकी नै पुग्नुपरेको थियो । उल्टो प्रहरीबाट ‘थाहा हुँदाहुँदै किन जानुभयो’ भन्ने जवाफ आयो । पोखरा, चितवनजस्ता पर्यटकीय स्थलका व्यथाहरू पनि यस्तै छन् । तर यसबारे खुलेर बाहिर आउँदैनन् ।

दुई–तीन दशकअघिसम्म कालिञ्चोकका साँघुरा गोठहरूले हजारौं पर्यटकलाई आश्रय दिन्थे । त्यहीँ गोठका रैथानेहरूको सहारामा हजारौं धार्मिक र प्राकृतिक पर्यटकहरू गीत गाउँदै, नाच्दै रातभर मज्जा लिन्थे । जनैपूर्णेका दिन हजारौं मानिस चरिकोटबाट करिब छ घण्टाको पैदलयात्रापछि कालिञ्चोक पुग्थे । रातभर गोठ, ओडार, कुटी र जंगलहरूमा आगो तापेर रमाइलो गर्थे । म आफैंले ती जात्राहरूमा, यस्तो परिवेशको मज्जा लिएको छु ।

समयसँगै फेरिएको कालिञ्चोकमा प्रशस्त सुविधा थपिएका छन् । तैपनि त्यो बेलाजस्तो मज्जा अहिले छैन । पर्यटकहरूका लागि सुविधासम्पन्न वातावरणसँगै त्यसको शुल्कलाई पनि ध्यान दिनुपर्छ । कसै गरी पनि पर्यटकलाई ठगिएको महसुस गराउनु हुन्न । त्यस्तै पर्यटन क्षेत्रमा सकारात्मक प्रचारको जरुरी हुन्छ । पछिल्ला दिनहरूमा सकारात्मकभन्दा नकारात्मक प्रचारबाजीले दोलखा छिर्नेबित्तिकै उमङ्गित हुने ठाउँहरू क्रमशः ओझेल पार्दै छन् । कालिञ्चोक बदनाम हुँदा दोलखाका चर्चित जिरी, शैलुङ, लामाबगर, दोलखा बजारको भीमेश्वर र रोल्वालिङजस्ता पर्यटन क्षेत्र ओझेलमा पर्दै छन् ।

कालिञ्चोकमा भूस्वामित्व विवादले तारे ब्रान्डका होटलहरू खुल्न सकेका छैनन् । गुठी र सामुदायिक वनको खिचातानी छ । दुई सरकारी निकायको द्वन्द्व समाधान नभएसम्म कालिञ्चोक व्यवस्थित हुन सक्दैन । लगानीहरूकर्ताहरू जहिल्यै त्रासमा छन्; मनग्गे लगानी गरेर थप जोखिम मोल्नुभन्दा जेनतेन चलाऊ पैसा कमाऊ भन्ने नीतिमा देखिन्छन् । वार्षिक करिब एक लाख स्वदेशी तथा विदेशी पर्यटकले यात्रा गर्ने चरिकोटदेखि कालिञ्चोकसम्मको सडकलाई हालसम्म पक्की नहुनुले तीनै तहका सरकारहरू पर्यटन उद्योगप्रति गम्भीर नभएको देखिन्छ । यसले पर्यटकको यात्रालाई असहज त बनाएकै छ, उनीहरू महँगोमा पनि पर्छन् । कच्ची सडकको फाइदा लिँदै सवारीसाधनहरूले सकेको भाडा उठाउने गरेका छन् । भाडादर तोकिदिने, त्यसको नियमन गर्ने निकाय मौन छन् । प्रहरीले पनि कालिञ्चोक चल्ने गाडीहरूको नम्बर मात्र टिप्छन् । नियामक निकायहरू नै कालिञ्चोकका होटल र केबलकारका ‘स्पोन्सर’ को पासोमा फस्ने गरेको सुनिन्छ ।

खासमा दोलखाका पर्यटकीय क्षेत्रहरू लामो समय राजधानीबाट दोलखा जोडिने लामोसाँघु–जिरी सडकको स्तरोन्नतिको सिकारमा परे । २०७२ सालको भूकम्पको झड्काले पर्यटन व्यवसायीको दाँत फुकालिदियो; कोभिड महामारीले थलै बसालिदियो । जारी विश्वव्यापी आर्थिक मन्दीको मार पनि परिरहेको छ । यो कठिनताका बीच दोलखाका पर्यटन व्यवसायीले इज्जत धान्न आत्मसमीक्षा गर्नैपर्छ । व्यापारमा नाफा लिनु धर्म हो, ठग्नु अपराध हो । नाफा अनुसार सेवा–सुविधा दिँदा उपभोक्ताले ठगिएको ठान्दैनन् । यो क्षेत्रका व्यवसायीले अण्डा खाइरहने कि कुखुरा भन्नेतर्फ विचार पुर्‍याउनुपर्छ । कमीकमजोरी सच्याएर कालिञ्चोकको पर्यटन फस्टाउने वातावरण बनाउने अन्ततः त्यहाँका लगानीकर्ताहरू नै हुन् ।

मानन्धर एमाले, दोलखाका उपाध्यक्ष हुन् ।

प्रकाशित : फाल्गुन ४, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?