२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६
सम्पादकीय

रवि लामिछानेको धम्कीपूर्ण घृणावाद

सम्पादकीय

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको अनियन्त्रित अभिव्यक्ति सर्वथा आपत्तिजनक र आलोच्य छ । प्रतिनिधिसभाको चौथो ठूलो दलका प्रमुखले सञ्चारमाध्यम र सम्पादक/प्रकाशकलगायतमाथि यो तहको गालीगलौज गर्नु, अप्रमाणित लाञ्छना लगाउनु र ‘कारबाही गर्ने’ धम्कीमा उत्रिनु अनपेक्षितमात्र होइन, अस्वास्थ्यकर पनि छ ।

रवि लामिछानेको धम्कीपूर्ण घृणावाद

उपप्रधान तथा गृहमन्त्री गुमाउनुपरेको र पुनर्प्राप्त गर्न नसकेको झोकमा आफ्नो पदीय हैसियत बिर्सेर निज लामिछानेले जे–जस्तो बर्बराहट गरेका छन्, त्यसले उनकै कदमात्र नराम्ररी घटाएको छैन, नेपाली समाज–राजनीतिमै दूषित सन्देश सञ्चार गरेको छ । र, प्रेस स्वतन्त्रतामाथि ठाडो धावासमेत बोलेको छ । नागरिकताको प्रक्रियागत त्रुटि र दोहोरो राहदानीको फौजदारी अपराध आकर्षित हुने आफ्ना कसुरलाई समेत माथ गर्ने गरी उनले सार्वजनिक रूपमा आफूलाई जसरी निर्लज्ज प्रस्तुत गरेका छन्, त्यसले सरासर घृणाको वातावरणलाई प्रवर्द्धन गर्न खोजेको छ । नवोदित दलका नेताको यो रवैया कसैका लागि पनि सुपाच्य छैन, र हुन सक्दैन । देश, समाज र वैकल्पिक राजनीति कुनै पनि क्षेत्रमा यसखाले घृणाको संक्रमण रोक्नु आजको चुनौती हो ।

सञ्चारमाध्यम र पत्रकार/सम्पादकहरूप्रति अक्सर धेरै राजनीतिकर्मीको गुनासो हुने गर्छ । देश चलाउने तथा त्यस्तो ध्येय राख्ने जोकोही जवाफेदेहीको कसीमा घोटिनुपर्ने भएकाले उनीहरूमाथि निरन्तर प्रश्नहरू हुनु स्वाभाविक हो; जसप्रति उनीहरू धेरैले चित्त बुझाउन सक्दैनन्, र प्रश्नकर्ता सञ्चारमाध्यमप्रति असन्तोष व्यक्त गर्छन् । तर यतिविघ्न अमर्यादित तवरमा ओर्लिएर मिडियामाथि विषवमन गर्ने प्रवृत्तिचाहिँ विरलै देखिन्छ, जो यो तहको ‘राजनीतिक’ व्यक्तिबाट निकटविगतमा कहिल्यै प्रकट भएको थिएन । परम्परागत दलका नेताहरूले मर्यादाको एउटा लक्ष्मण रेखाको सदैव हेक्का राखेका थिए । लामिछानेले त पुरानामध्ये पनि अक्सर सञ्चारमाध्यमलाई गाली गरिरहने एक शीर्षस्थ नेताको पनि निकृष्ट द्वितीय संस्करणका रूपमा आफूलाई प्रस्तुत गरेका छन् । मतदाता र शुभेच्छुकले नयाँ राजनीतिक संस्कारको अपेक्षा गरेकैबाट यसरी अनर्गल बकबक बाहिरिनु कुनै पनि दृष्टिमा शोभनीय मान्न सकिन्न । सुशासनको पैरवी गर्दै उदाएको नवदलका नेताको यो नैतिक स्खलन यस मानेमा दुःखदायी छ र टीठलाग्दो पनि ।

सामुन्नेका हरविकृति र जवाफदेह बन्नुपर्ने व्यक्ति/अधिकारीहरूका असंगत पक्ष उजागर गर्नु समाचारमाध्यमको धर्म हो । आखिर लामिछाने स्वयं पनि हिजो मिडियामार्फत यसैगरी प्रश्नहरू सोधेर र जवाफदेही खोजेर लोकमा स्थापित भएका हुन् । भलै उनले अपनाएको शैली पत्रकारिताको मापदण्डभित्र पर्थ्यो–पर्दैनथ्यो, त्यो बहसको छुट्टै पाटो हो । अहिले सार्वजनिक ओहोदामा पुगेपछि उनीतर्फ पनि स्वाभाविक रूपमा सवालहरू तेर्सिएका हुन्, त्यसप्रति उनले अस्वाभाविक उत्तेजना प्रकट गरिरहनु संगतिपूर्ण छैन । अरू सार्वजनिक व्यक्तिहरूका विषयमा कुनै सवाल उठ्दा पत्रकारहरूले जे गर्नुपर्थ्यो, उनका हकमा पनि त्यही गरिएको हो । बरु नयाँ सपना बोकेर आएका लामिछानेले कतिपय मिडियाबाटै पनि केही अवधि अतिरिक्त शंकाको सुविधा पाएको सत्य हो । अब प्रमाणहरू पर्याप्त बोल्दा पनि मिडियाले नलेखुन्/नबोलुन् भन्छन् भने त प्रस्टै छ— लामिछानेले कि पत्रकारिता बुझेका छैनन्, कि उनी प्रेस स्वतन्त्रताको पक्षधर होइनन् ।

निश्चय पनि कुनै पनि मिडियाले कहिल्यै गल्ती गर्दैन वा सबै सञ्चारकर्मी ‘दूधले धोएका’ छन् भन्ने होइन । तर कसैले तथ्यभन्दा बाहिर गएर सामग्री प्रकाशन वा प्रसारण गरेको छ भने पनि एउटा जिम्मेवार नेता यसरी टोलेगुन्डा जसरी प्रस्तुत हुने होइन । र, सोलोडोलो सबैलाई एकै घानमा मुछ्न पनि पाइँदैन/हुँदैन । हिजो सञ्चारकर्मीका रूपमा काम गरिसकेका व्यक्तिलाई थाहा हुनुपर्छ— सञ्चारमाध्यममा आएका विषयवस्तुउपर चित्त नबुझे त्यसविरुद्ध उजुर गर्ने आफ्नै प्रक्रिया हुन्छ । सोझै मिडियामा खण्डन पठाउन सकिन्छ । त्यतिले नभए प्रेस काउन्सिलमा उजुरी गर्न मिल्छ । तैपनि चित्त नबुझे अदालत जान सकिन्छ । तर सम्पूर्ण राज्य–प्रशासनै मुठीभित्र भएजसरी देशकै कानुन हातमा लिएर मिडियाको कार्यालय घेर्न जान्छु, ‘कारबाही गर्छु’ भन्न किमार्थ पाइँदैन । प्रतिनिधिसभामा २० सिट होइन, दुई तिहाइ थियो भने पनि यसरी डर देखाउनु स्विकार्य हुन्न । कम्तीमा हाम्रो संविधान र यसले कल्पना गरेको लोकतन्त्रमा यस्तो धम्कीलाई पचाउन सकिँदैन । र, जहाँसम्म कान्तिपुर दैनिकको सवाल हो, मुलुकको एउटा अग्रणी मिडिया यस्तो धम्कीको कारण आफ्नो जिम्मेवारीबाट पछि हट्दैन । आफ्ना कार्यहरूप्रति जवाफदेह हुँदै सार्वजनिक जीवनका हरेक व्यक्तिहरूसित पनि निरन्तर जवाफदेही खोजिरहन्छ ।

उदेकलाग्दो त लामिछानेको यो अवतार पटाक्षेप भएसँगै नयाँ राजनीतिको सम्भावना पनि तीव्र गतिमा अवसानोन्मुख हुने भय बढेको छ । यसले प्रकारान्तरले राज्यकलामा अक्षम सावित भएका पुरानै दल र तिनका नेताको मनोमानी बढाउनेछ, सायद उनीहरूको बूढो हड्डी आइतबारबाट बढी हाँस्न थालिसकेको छ । त्यसैले समय छ, लामिछाने सुध्रिऊन्, आफ्ना गल्तीहरूप्रति प्रायश्चित गरून् र उक्त घृणास्पद अभिव्यक्ति फिर्ता लिऊन् । नेता भएपछि आलोचना र प्रश्नहरू सहन सिकून्; सके त्यसबाट शिक्षा लिऊन्, नसके पनि वैरभावचाहिँ नराखून् । र, मुख्य कुरा त चुनावी जितको अनावश्यक उन्माद त्यागून् । २०६४ सालको निर्वाचनमा विजयी भएपश्चात् दम्भ नबढेको र सम्हालिन जानेको भए अहिले माओवादीको कद सायद यति सानो हुँदैनथ्यो, लामिछानेले यही उदाहरणबाट पनि सिकून् र आफूलाई सम्हालून् । मिडिया चलाउनेले आफूसित चुनाव उठेर देखाऊन् भन्ने केटाकेटी उर्दी अब फेरि नदोहोर्‍याऊन् । कुनै पनि आधुनिक राष्ट्रमा दलीय राजनीति र मिडियाको आ–आफ्नै विशिष्ट भूमिका हुन्छ भन्ने तथ्य राम्ररी हेक्का राखून् ।

नैतिक मर्यादाको पैरवी गर्ने स्वतन्त्र पार्टीका अन्य सांसद र नेताहरूले अब लामिछानेका नवसामन्तवादी हैकमलाई नतमस्तक भएर स्वीकारिरहन्छन् कि उनका निजी महत्त्वाकांक्षासिर्जित घृणास्पद उग्रवादप्रति औंलो ठड्याउनेछन्— नेपाली समाजले यसलाई पनि पक्कै ख्याल राखिरहेकै छ ।

सम्बन्धित समाचारहरू :

प्रकाशित : माघ २३, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?