२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रविको रवैयामा ओलीको ऐक्यबद्धता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाबाट कसले न्याय पाएको भन्दै प्रश्न गरेका छन् । उनले नागरिकताका विषयमा उजुरी गर्नेमाथि समेत प्रश्न उठाएका छन् ।

रविको रवैयामा ओलीको ऐक्यबद्धता

प्रतिनिधिसभा बैठकमा आइतबार लामिछानेको प्रसंग निकाल्दै ओलीले भने, ‘उजुरीकर्ता व्यक्तिलाई के मर्का पर्‍यो ? के सरोकार, के सम्बन्ध हो र के मर्का पर्‍यो ? के अन्याय पर्‍यो र न्याय खोजेको हो ? एउटा असम्बन्धित व्यक्तिले निवेदन गरेको छ । यो फैसलाले कसले न्याय पायो ?’ उनले सर्वोच्चको निर्णयलाई भने आफूहरूले मान्ने बताए ।

ओलीले प्रक्रियागत त्रुटिका आधारमा व्यक्तिको पद नै गएको टिप्पणी गरे । ‘रवि लामिछाने ढोका खुला राखेर फुत्त संसद्मा पसेका होइनन्,’ उनले भने, ‘उजुरी परेपछि वैधानिक छ भनेर निर्वाचन आयोगले सदर गरेको, सार्वभौम सम्पन्न जनताले अत्यधिक मतले छानेको हो । पद गयो, केले भन्दा एउटा प्रक्रियागत त्रुटिले । गृहमन्त्री गयो । उपप्रधानमन्त्री पद गयो । रवि लामिछानेलाई न्याय भएन भने कसले न्याय पायो ?’

एमाले अध्यक्ष ओलीले नयाँ सत्ता समीकरणका लागि भइरहेको प्रयासतर्फ संकेत गर्दै कांग्रेसलाई प्रतिपक्षी दलका रूपमा बस्न सकस भएको बताए । एक घण्टा लामो भाषणका क्रममा उनले कांग्रेसले राष्ट्रिय सहमति भन्दै आए पनि व्यवहारमा नदेखिएको बताए । उनले राजनीतिक अस्थिरताले ल्याउने संकट कांग्रेसका लागि प्रत्युत्पादक हुने चेतावनी दिए भने २०५२, २०५८ र २०७२ सालको अनुभवबाट शिक्षा लिन आग्रह गरे ।

कांग्रेसका कारण प्रतिपक्षमा पुग्नुपरेको स्मरण पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराए । ‘कांग्रेसलाई प्रतिपक्षीको परिचयले सकस परेको छ तर बाध्यताले प्रतिपक्षमा बस्नुपरेको छ,’ उनले भने, ‘यतिबेला कांग्रेस पानीबिनाको माछोजस्तै छटपटाएको देखिन्छ । सत्ताबाहिर कांग्रेसले आफ्नो अस्तित्व आफैंले विश्वास गर्न नसक्ने अवस्था छ । सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेससँग निकै छ ।’

ओलीले निषेधको राजनीति गरेको कांग्रेस पुस १० मा ‘उत्तानो परेको’ भन्दै व्यंग्यसमेत गरेका छन् । उनले कांग्रेसलाई हिँड्न नसक्ने बुढो बाघ र माओवादीलाई लोभमा फसेको बटुवासँग तुलना गरे । बाघको लोभमा फसेर सिकार बनेको बटुवाको नीतिकथा उनले सुनाए । ‘एक दिन बुढो बाघले एक जना महिलालाई झम्टिएर मारेछ । महिला खाइहाल्यो तर उनले लगाएको सुनको बाला बच्यो, त्यसपछि हिँड्ने बटुवालाई बाला देखाउँदै मलाई के काम यो बालाको भन्दै बोलाउँदो रहेछ । बाला हातैमा दिने भन्दै बाला लिन आएकालाई छ्याम्मै पारेर खाँदो रहेछ । साथीहरू बाला देखेर नलोभियौं,’ अध्यक्ष ओलीले भने ।

कांग्रेसले असल रूपमा सरकारलाई समर्थन नदिएको भन्दै सम्पन्न भइसकेको सभामुख निर्वाचनमा नसघाएकामा ओलीले संशय व्यक्त गरेका थिए । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर ‘ढोक्सा थाप्ने’ काम गरेको आरोप उनको भनाइ थियो ।

सम्बन्धित समाचारहरू :

प्रकाशित : माघ २३, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?