रविलाई दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

कान्तिपुर संवाददाता

काठमाडौँ — रविलाई लामिछानेलाई १२ प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

१. २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका रवि लामिछानेले अमेरिका पुगेर उतैको नागरिकता लिएको आधारहीन हो ?

२. आफ्नो देश नेपाल फर्किए जोखिममा पर्छु भनेर उनले अमेरिकी नागरिक बन्न निवेदन दिएका होइनन् ? उनको निवेदन स्वीकार गरेर २०७० फागुन २१ (२०१४ मार्च ५) मा अमेरिकी सरकारले ५१२९६६९८१ नम्बरको राहदानी दिएको आधारहीन हो ?

३. अमेरिकी राहदानी प्रयोग गरेर रवि गैरपर्यटक (नाता) भिसामा २०७२ वैशाख २८ (२०१५ मे ११) मा नेपाल आएका होइनन् ? तर, अमेरिकी राहदानीमा नेपालको भिसा लगाएर आएको १६ औं दिन जेठ १३ (मे २७) मा नेपालकै राहदानी बनाएको तथ्य आधारहीन हो ?

४. विदेशको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहने कानुनी व्यवस्था पनि आधारहीन हो ? सत्य हो भने उनले २०५० मा नै जिल्ला प्रशासन कार्यालयबाट लिएको १८२२२ नम्बरको पुरानै नागरिकता प्रयोग किन गरेको ?

५. नेपाली राहदानी बनाएपछि २०७२ कात्तिक १ (२०१५ अक्टोबर १८) मा अमेरिका जाँदा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किन अमेरिकी राहदानी नै देखाए ? त्यतिबेला उनको मन नेपाली थियो कि अमेरिकी ?

६. अमेरिकी राहदानीमा नेपालको भिसा लगाएर आएको मौकामा रविले न्युज २४ टेलिभिजनमा काम सुरु गरेका होइनन् ? उनले अध्यागमन विभागलाई लेखेको पत्रमा नेपालमा अमेरिकी नागरिकका रूपमा बस्दा श्रम स्वीकृति लिएको उल्लेख गरेका छन् । तर, अध्यागमन नियमावली, २०५१ को दफा २० को (१) मा स्पष्ट भनिएको छ, ‘पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउनेछैन ।’ त्यसैले नाता भिसामा आएका उनले के कानुनी आधारमा काम गरिरहेका थिए भन्ने प्रश्न आधारहीन हो ?

७. गैरपर्यटक भिसामा नेपाल आएका अमेरिकी नागरिकले टेलिभिजनमा काम गरेको विषयमा प्रेस काउन्सिलले प्रश्न गरेपछि मात्र रविले २०७५ जेठ ४ मा नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकता र राहदानी त्याग गर्न निवेदन दिएको पनि आधारहीन हो ?

८. २०७५ जेठसम्म अमेरिकी राहदानी चलाउँदै आएका उनले २०७२ जेठ १३ (२०१५ मे २७) मा बनाइएको नेपाली राहदानी पनि आफूखुसी प्रयोग गर्न पाउने हुन् ? २०७५ असोज ४ (२०१८ सेप्टेम्बर २०) मा जापान र दक्षिण कोरिया जाँदा उनले नेपालको राहदानी प्रयोग गरेका होइनन् ? दोहोरो राहदानी प्रयोगमाथि उठ्ने प्रश्न आधारहीन हो ?

९. सरकारी निकायलाई गुमराहमा राखेर राहदानी लिएको विषयमा गृह मन्त्रालयमा उजुरी परेको होइन ? अनुसन्धानका लागि गृह मन्त्रालयले जिल्ला प्रशासनलाई र जिल्ला प्रशासनले प्रहरीलाई दिएको निर्देशन कहाँ छ ? उनी गृहमन्त्री भएपछि अनुसन्धान रोकिएको विषय आधारहीन हो ?

१०. रवि नेपालको नागरिक नै नरहेकाले उनका सारा सार्वजनिक पद खारेज भएको फैसला सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको होइन ? सर्वोच्चको पूर्ण पाठमा यो विषयमा विस्तृत विश्लेषण आउँदै छ भनेर अपेक्षा गर्नु उनीमाथि अन्याय हो ?

११. राहदानीको कसुरमा उनीमाथि फौजदारी अभियोग लाग्ने र पुष्टि हुने स्थिति आधारहीन हो ? राहदानी ऐन २०७६ मा ‘झूटा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिए वा लिन प्रयत्न गरे,’ जरिवाना र सजाय हुने व्यवस्था छैन ? त्यस्तो गर्ने व्यक्तिलाई दुईदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ भनेर मिडियाले उद्धृत गर्नु गैरकानुनी हो ?

१२. दल स्थापना गरेर नेता बनेपछि रवि देशको कानुनभन्दा माथि हुने हुन् ? सुशासन उनको नारा मात्र हो कि प्रतिबद्धता पनि ? रविले गृहमन्त्री नपाएको झोकमा सरकारबाट बाहिरिनु हुँदैन, अरू पनि सक्षम नेता छन् भनेर उनकै दलभित्र आवाज उठेको होइन ? तर, रविले कसैको कुरा नसुनी आफ्नो निर्णय सुनाएको पनि आधारहीन हो ?

सम्बन्धित समाचारहरू :

प्रकाशित : माघ २३, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्

रविले देखाए वास्तविक छवि

आलोचना गर्ने मिडिया हाउसका प्रकाशक र पत्रकारमाथि गालीगलौज
मिडिया हाउस घेर्ने र भीडको नेतृत्व गरेर आफूअनुसार कारबाही गर्ने धम्की
नेपालको नागरिकता नै नभएको व्यक्ति सांसद र गृहमन्त्री भएको विषयमा मिडियाले लेखेको समाचार सर्वोच्च अदालतबाट समेत सावित भएको वास्तविकता ओझेल पार्न खोज्दै लामिछानेले भने, ‘नेपाली पत्रकारिताको लेबल भएन’
जयसिंह महरा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो आलोचना गर्ने सञ्चार संस्था घेर्ने र आफूले चाहेअनुसार कारबाही गर्ने धम्की दिएका छन् । जबकि उनी सर्वोच्चबाट सांसदको रूपमा अयोग्य घोषणा हुनुअघि कानुन कार्यान्वयन गर्ने र शान्ति स्थापना गर्ने निकाय गृह मन्त्रालयमा ३२ दिनसम्म मन्त्री थिए ।

कायम नै नरहेको नागरिकता पेस गरेर उम्मेदवार बनेको सावित गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले सम्पूर्ण सार्वजनिक पद खारेज गरिदिएपछि पनि लामिछाने गृह मन्त्रालयमा फर्कन प्रयासरत थिए । सर्वोच्चको १३ माघ, शुक्रबारको फैसलाले पद खारेज गरिदिएपछि आइतबार नै जिल्ला प्रशासन कार्यालय गएर उनले नागरिकता लिएका थिए । नेपालको नागरिकता लिएकै दिनदेखि गैरसांसदका रूपमा गृह मन्त्रालयमा पुनर्बहाल हुन उनले जोडबल गर्दै आएका थिए ।

तर, उनले दोहोरो राहदानीसमेत लिएको विषयमा गृह मन्त्रालयमा उजुरी परेको र त्यसको टुंगो नलागेसम्म त्यही मन्त्रालय दिन नहुने भन्दै सरकारभित्र र बाहिर पनि विरोध भएको थियो । आफूले गृह मन्त्रालय नपाउने निश्चित भएपछि उनले पार्टीका तर्फबाट मन्त्री र राज्यमन्त्री बनेका तीन जनालाई पनि राजीनामा दिन बाध्य बनाउँदै आलोचकहरूमाथि विषवमन गरेका हुन् ।

रविकै दोहोरो राहदानीको विषयमा अनुसन्धान गरिरहेको गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नदिने प्रधानमन्त्रीको अडानपछि उनले आइतबार अपराह्न संसदीय दल र पार्टी केन्द्रीय समितिको संयुक्त बैठक बोलाएका थिए । बैठकलगत्तै आयोजित पत्रकार सम्मेलनमा उनी झन्डै सवा घण्टा कान्तिपुरसहित मिडिया हाउस, प्रकाशक र पत्रकारहरूको नामै किटेर गालीगलौजमा उत्रिए । ‘अब आधारविहीन समाचार लेख्यो भने म कान्तिपुर घेर्न आउँछु । कान्तिपुरमा कुनै पनि आधारसहित हाल्नुस् नो प्रब्लम । तपाईंसँग रिडर छन् होला, मसँग पनि शुभचिन्तक छन्, तपाईंको पत्रिकामा सब्सक्राइबर छन् होला, मसँग पनि मेरो सत्कर्मले जोडेका साथीहरू छन् । सबैलाई लिएर घेर्न आउँछु, गलत समाचार लेख्नुभयो भने, गलत हेडलाइन लेख्नुभयो भने,’ उनले चेतावनी दिँदै भने, ‘खबरदार आई विल नट टोलरेट दिस् । फाइट ब्याक गर्छु । सही ढंगले लेख्नुस् चल्छ । तर गलत ढंगले लेखेमा कुनै पनि मिडियालाई मान्दिनँ ।’ उनले आफ्नोबारेमा लेखिएका कुन समाचार गलत हुन् भन्न सकेनन् ।

नेपाली मिडियाले उनको नागरिकता गैरकानुनी भएको समाचार लेखेको थियो, जसलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले सही ठहर गर्दै उनको उपप्रधान तथा गृहमन्त्री र सांसद पद खारेज गरिदिएको छ । उनले दोहोरो राहदानी लिएको विषयमा पनि गृह मन्त्रालयमा उजुरी छ, तर उनी मन्त्री बनेर अनुसन्धान रोकाएका थिए । आफैं गैरकानुनी नागरिकता र राहदानी बोकेका लामिछानेले नेपालमा सुशासन ल्याउने नारा दिएर चुनाव जितेका थिए ।

यो नारालाई साथ दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध नेताहरू पनि उनको यो हरकत देखेर अन्योलमा परेका छन् । आइतबार केन्द्रीय समिति र सांसदहरूको बैठक बोलाए पनि निर्णय भने एकल रूपमा सुनाएका थिए । तर, सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय पनि उनले सुनाएपछि सहकर्मी नेताहरू बिलखबन्दमा परेका थिए ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेको देब्रेतिर बसेका श्रममन्त्री डीपी अर्याल निराश थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की भने पत्रकार सम्मेलनमा उपस्थित नै भएनन् । अधिकांश सांसदहरू बैठकलगत्तै पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिएका थिए ।

महामन्त्री मुकुल ढकाल, केन्द्रीय सदस्यहरू इश्रा मुल्ला मियाँ, दीपक बोहरा, प्रमिला कुलुजु, सांसदहरू हरि ढकाल र मनीष झा भने सहभागी थिए । एक सांसदका अनुसार मन्त्री खनाल सरकारबाट बाहिरिन नहुने पक्षमा थिए । ‘उहाँले अहिले नै सरकारबाट बाहिरिनु सही निर्णय नहुने कुरा राख्नुभएको थियो । अहिले सरकारबाट बाहिरिने भए पाँच वर्ष सरकारमा जान हुन्न भन्ने निर्णय गरौं भन्नुभएको थियो । अहिले बाहिरिने अनि एक महिनापछि सरकारमा जानु ठीक हुन्न भन्ने उहाँको धारणा थियो,’ ती सांसदले भने ।

तर, अरू कसैको विचार नसुनी निर्णय सुनाएर पत्रकार सम्मेलनमा आएका लामिछानेले मिडियालाई यसरी गाली गरे, जसलाई सही भन्न उनले आफैं पनि सकिरहेका थिएनन् । ‘उपप्रधान तथा गृहमन्त्रीबाट बिदा हुनुपरेकाले यसरी बोलेको भन्ने पनि हुन सक्छ, त्यो झोक पनि हुन्छ,’ उनले यो पनि भने ।

अमेरिकाको नागरिकता लिएपछि कायम नै नगरेको नेपालको नागरिकता लिएको प्रयोग गरेर चुनावमा उठेको विषयलाई भने उनले सामान्य भने । ‘प्रक्रियागत त्रुटि गरें होला । त्यसको सजाय भोग्न तयार छु । तर त्यसका आधारमा टेकेर वल्टाएरै नागरिकता, पल्टाएरै नागरिकता, बिहानै नागरिकता, बेलुकै नागरिकता, त्यहाँ नागरिकता, यहाँ नागरिकता... ।’ अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता परित्याग नगरेको र अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रियामा नगएको स्वीकार गरेका उनले मिडियाप्रति भने त्यसै विषयमा लेखेकामा आक्रोश पोखेका हुन् ।

नेपालको नागरिकता नभएको व्यक्ति सांसद र मन्त्री भएको विषयमा मिडियाले लेखेका समाचार सर्वोच्च अदालतबाट समेत सावित भइसकेको सत्य पनि ओझेल पार्न खोज्दै लामिछानेले भने, ‘नेपाली पत्रकारिताको लेबल भएन । नेपाली जर्नालिजमले आफ्नो लेबल गुमायो । भविष्यमा कुनै पनि पत्रिकाले लेखेको समाचारको गलत चिज गर्‍यो भने म त्यो पत्रिकाको कार्यालयमा त्यो अनलाइनको कार्यालयमा धर्ना बसेर हुन्छ कि आफ्ना साथीहरूलाई लिएर गएर हुन्छ कि, म त्यसलाई आफ्नो ढंगले कारबाही गर्छु ।’

माघ १३ मा सांसद बन्न अयोग्य भई मन्त्री पद गुमाएका लामिछानेले अहिलेसम्म सरकारी क्वार्टर छाडेका छैनन् । उनले सरकारी क्वार्टरमा तालाचाबी लगाएको तर त्यहाँ नगएको दाबी गरे । त्यहाँ नजानुको कारण पनि मिडिया नै भएको उनको आरोप थियो । उनले गैरसांसदका रूपमा गृहमन्त्री बनेर जाने लामो प्रयाससमेत गरेका थिए, तर सफल हुन सकेनन्, अब भने मिडिया साक्षी राखेर मात्र छाड्न खोजेका पनि दाबी पनि गरे ।

लामिछानेले अमेरिकी नागरिक रहेको बेला नेपालको राहदानी लिएको, लाइसेन्स लिएको, संस्था खोलेको भने स्वीकार गरे । तर यो विषयमा आफूमाथि कारबाही भए त्यसको जिम्मेवारी भने मिडिया हुने भन्दै भीडलाई उत्तेजित पनि बनाए । ‘नेपाल आएँ । आउनेबित्तिकै पासपोर्ट बनाइहाल्नुपर्छ भनेर बनाएँ । दुरुपयोग, सदुपयोग, उपयोग गरेको छैन । राखिरहें, अमेरिकी बुझाएपछि प्रयोग गरें तर त्यसको विषयमा मिडियाले दिनहुँ समाचार बनायो,’ उनले भने । उनकै पार्टीका नेताहरूले भने मिडियामाथि सभापति लामिछानेले लगाएका आरोप व्यक्तिगत भएको बताएका छन् । केन्द्रीय सदस्य गणेश कार्कीले लामिछाने पार्टी सभापति भए पनि आधिकारिक नभएको प्रतिक्रिया दिए । ‘लोकतन्त्रमा प्रेस चाहिन्छ, त्यसमा सेन्सरसिप हुनुहुँदैन, पार्टीका धारणा यही हो,’ उनले भने, ‘व्यक्तिगत रूपमा मिडियाको आलोचना गर्न पाउने/नपाउने उहाँको कुरा हो । हाम्रो पार्टीले प्रेस स्वतन्त्रता कसैको अधीनमा हुनुपर्छ भन्ने कुरा मान्दैन ।’

लामिछानेले आफूविरुद्ध परेको संसद् अयोग्यतासम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएर फैसला दिएकामा पनि असन्तुष्टि व्यक्त गरेका छन् । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी मुद्दाको कार्यकाल सकिएसम्म पनि सुनुवाइ नभएको तर आफूविरुद्धको मुद्दालाई भने अतिरिक्त तीव्रता दिएर ‘अनागरिक’ बनाइएको उनले आरोप लगाए । तर, नेपालको वैधानिक नागरिकता नै नभएको व्यक्ति देशको गृहमन्त्री भएको विषयमा सर्वोच्च अदालत मौन बस्नुपर्थ्यो र फैसला पछि दिए पनि हुन्थ्यो भन्ने लामिछानेको उदय भने सुशासनको नाराका भरमा भएको हो ।

सम्बन्धित समाचारहरू :

प्रकाशित : माघ २३, २०७९ ०६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×