कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

सरकार स्थिर नहुँदा संसदीय भूमिका प्रभावकारी भएन : सभामुख घिमिरे

माधव अर्याल

पाल्पा — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्थिर सरकार नहुँदा संसदीय भुमिका पनि प्रभावकारी हुन नसकेको बताएका छन् । उनले संसदीय भूमिका प्रभावकारी बनाउन सुशासन आवश्यक रहेको र त्यसका लागि सरकारको स्थायीयत्व जरुरी भएको बताए । 

सरकार स्थिर नहुँदा संसदीय भूमिका प्रभावकारी भएन : सभामुख घिमिरे

पाल्पाको तानसेनमा पत्रकार महासंघ जिल्ला शाखाले शनिवार राखेको पत्रकार भेटमा बोल्दै सभामुख घिमिरेले सरकारको स्थायित्व नहुँदा संसदीय व्यवस्थामा धेरै असर गरेको बताए । ‘अब निर्वाचन पद्धतिका बारेमै नै नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘निर्वाचन सरल, स्वभाविक ढंगबाट लाने प्रबन्ध गर्नुपर्ने हुन्छ ।’

उनले निर्वाचित जनप्रतिनिधिको स्थिर सरकार बन्नका लागि बहुमत आउने खालको प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । सभामुख घिमिरेले यी विषयमा समेत बहस र छलफल हुनुपर्नेमा जोड दिए । उनले ऐन कानुनहरु बन्नुअघि ध्यान दिनुपर्ने कुराहरु के के हुन सक्छन् र कानुन बनेपछि कार्यान्वयन कसरी भएको छ भन्ने विषयमासमेत ध्यानदिनुपर्ने बताए ।

कानुन बनेपछि यसको प्रभावकारिताका विषयमासमेत संघीय र प्रदेशसभाका सभामुख, उपसभामुखले सरकारलाई निर्देशन र सहयोग गर्नुपर्ने बताए । ‘कानुन कार्यान्वयन गर्नका लागि सरकारले केके कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘सुधार्नुपर्ने वा संशोधन गर्नुपर्ने भएमा कार्यान्वयनमा के समस्या देखियो भन्ने विषयमासमेत ध्यान दिनुपर्छ ।’

लुम्बिनी प्रदेशसभाले पाल्पाको तानसेनमा राखेको अन्तरव्यवस्थापिका भेलामा सहभागी हुन आएका सभामुख घिमिरेले पूर्वविद्यायकी, विद्यायकी र उत्तरविद्यायकीका विषयमा छलफल हुनुपर्ने बताए । यसको महत्वलाई कार्यान्वयन गर्नका लागि अध्ययन गर्नुपर्नेमा उनको जोड थियो । संघ र प्रदेशको बीचबाट उत्तरविद्यायकी कार्यलाई अघि लैजानुपर्छ भन्ने योजना बनाउनुपर्ने सभामुख घिमिरेले बताए ।

प्रकाशित : वैशाख १५, २०८१ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?