२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

नेपाल–कतारबीच २ सम्झौता, ६ समझदारी

अमिर अल थानीको भ्रमण सफल भएको कतार सरकारको निष्कर्ष 

काठमाडौँ — कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर बुधबार फर्किएका छन् । अल थानीको भ्रमणका दौरान बुधबार दुई देशबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । कतारका अमिर र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीच दुई पक्षीय भेटवार्तापछि ६ क्षेत्रमा सहकार्य गर्ने समझदारी र २ क्षेत्रमा सम्झौता भएको हो । 

नेपाल–कतारबीच २ सम्झौता, ६ समझदारी

संस्कृति र कला, सरकारी तहमा समाचार आदानप्रदान, शिक्षा तथा उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान, युवा र खेलकुद, कानुनी, कूटनीति, शिक्षा तथा निजी क्षेत्रलगायत विषयमा समझदारी र सम्झौता भएको हो ।

सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापनापछि कतारबाट भएको पहिलो महत्त्वपूर्ण भ्रमणमा कतारका अमिरले पहिलो दिन मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए भने बुधबार सोल्टी होटलमा प्रधानमन्त्री दाहालसँग द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए । त्यस अवसरमा नेपालमा लगानीबारे दुई पक्षबीचमा कुराकानी भएको थियो । वार्तामा नेपालमा लगानीको क्षेत्र पहिचान गरी अध्ययन गर्न संयन्त्र बनाउन कतार सहमत भएको छ ।

प्रधानमन्त्री दाहालका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाका अनुसार प्रधानमन्त्री दाहालले नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै अब कतारलाई भौतिक पूर्वाधार, विद्युत्, कृषि र शिक्षासम्बन्धी क्षेत्रमा लगानी गर्न आग्रह गरे । ‘कतारको लगानी गर्न सक्ने हैसियत बिस्तार हुँदै गइरहेको छ । नेपालमा पनि लगानी क्षेत्रहरू विकास र विस्तार भइरहेका छन् । निकट भविष्यमा हामी लगानी सम्मेलन गर्दै छौं । त्यसमा कतारको तर्फबाट महत्त्वपूर्ण सहभागिता र लगानी गर्न आग्रह गर्छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सापकोटाले भने, ‘त्यसमा मुख्य भौतिक पूर्वाधार, विद्युत्, कृषि र शिक्षासम्बन्धी क्षेत्र रहेका छन् ।’

कतारका अमिरले प्रधानमन्त्रीको प्रस्तावलाई सकारात्मक रूपमा लिएको बताए । नेपालमा लगानीको सम्भाव्यता अध्ययन गरी छलफल गर्न दुवै देशले एउटा संयन्त्र बनाउने विषयमा दुवै पक्ष सकारात्मक रहेको सापकोटाले जानकारी दिए । ‘कतार र नेपालको दुवै तर्फबाट संयन्त्र बनाउने समझदारी बनेको छ, सम्भाव्य क्षेत्रको अध्ययन र छलफल गर्न संयन्त्रले काम गर्नेछ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले अमिर अल थानीसँगको भेटमा नेपालको पर्यटन विश्वभरका लागि प्रमुख आकर्षणको केन्द्र रहेकाले यस क्षेत्रमा पूर्वाधारको विकासमा गरेको लगानी खेर नजाने उल्लेख गरे । दाहालले सन् २०१३ को मेमा शेख मोहम्मद बिन अब्दुल्लाह अल थानीले गरेको सफल सगरमाथाको सफल आरोहणले विश्वमा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उल्लेख गरे ।

त्यस्तै उनले कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरे । सापकोटाले भने, ‘नेपाल र कतारबीच धेरै सम्झौता तथा समझदारीपत्र (एमओयू) सम्पन्न भएको छ । समयको मागसँगै दुवै देशबीच भएका सम्झौता तथा समझदारी परिमार्जन तथा अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।’

दाहालले कतारमा कार्यरत करिब साढे ३ लाख नेपाली द्विपक्षीय सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण कडी भएको उल्लेख गरेका थिए । उनले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिक पठाउन नेपालमा व्यावसायिक तालिम र सीप विकास केन्द्र स्थापना गर्न लागिएकाले त्यसमा सहयोग गर्न आग्रह गरे ।

जलविद्युत् उत्पादन, अस्पताल तथा स्वास्थ्य संस्था वा अन्तर्राष्ट्रियस्तरका क्रिकेट तथा फुटबल रंगशालाजस्ता ठूला पूर्वाधार परियोजनाको विकासका लागि कतार सरकारबाट अनुदान प्राप्त हुने विश्वास पनि दाहालले व्यक्त गरे । उनले मर्यादित श्रम सिर्जना र श्रम सहकार्यलाई समयसापेक्ष तथा नयाँ ढंगले सोच्नुपर्ने बताउँदै कतारमा काम गर्न गएका नेपालीले परिवार र देशको अर्थतन्त्रमा योगदान पुर्‍याएको बताए । कतारी अमिरले पनि कतारमा कार्यरत नेपालीको उच्च प्रशंसा गर्दै कतारको विकासमा योगदान पुर्‍याएकोप्रति खुसी व्यक्त गरे । ‘नेपाली कामदारको दक्षता अभिवृद्धि गर्नका लागि कतार सघाउन तयार छ,’ अमिरले भने ।

कतारी अमिरको भ्रमणलाई सरकारले निकै महत्त्व दिएको थियो । भ्रमणको पहिलो दिन मंगलबार सार्वजनिक बिदा दिइएको थियो । अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल नै विमानस्थल पुगेका थिए भने बिदाइमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव गएका थिए । स्वागत र बिदाइ गर्ने दुवै अवसरमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री दाहाल लगायत मन्त्रीहरू तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो ।

कतारको मन्त्रिपरिषद्ले समेत नेपालसहित एसिया भ्रमणका क्रममा अमिरलाई मिलेको आतिथ्यताले सबैसँगको प्रगाढ सम्बन्धको गहिराइलाई प्रतिबिम्बित गरेको उल्लेख गरेको छ । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले बुधबार राखेको मन्त्रिपरिषद्पछि न्यायमन्त्री र मन्त्रिपरिषद् मामिला राज्यमन्त्री इब्राहिम बिन अली अल मोहनादीले विज्ञप्तिमा भनेका छन्, ‘मन्त्रिपरिषद्ले महामहिम अमिरको एसियाली भ्रमणको नतिजाको प्रशंसा गर्‍यो । भ्रमणका क्रममा प्राप्त गरेको असाधारण स्वागत र आतिथ्यले ती देशसँगको कतार राज्यको सम्बन्धको गहिराइ र बललाई प्रतिबिम्बित गरेको छ । ती देशका जनताले कतार र यहाँको नेतृत्वलाई सम्मान र कदर गरेको मन्त्रिपरिषद्ले पुष्टि गरेको छ ।’

कतारका लागि नेपालका पूर्वराजदूत नारदनाथ भारद्वाजले अमिरको भ्रमण दुई मुलुकबीचको सम्बन्ध विस्तारका लागि महत्त्वपूर्ण बनेको टिप्पणी गरे । ‘कतारको मनोभाव, संघर्षको इतिहासलाई नबुझीकन अपेक्षा गर्नुको औचित्य हुन्न । सम्बन्ध भनेको पारस्परिक लाभका कुरामा समेट्नुपर्छ । हाम्रा मात्रै अपेक्षा अगाडि राखेर हुँदैन । त्यतिकै अनुदान र सहयोग मागेर हुँदैन,’ पूर्वराजदूत भारद्वाजले भने, ‘प्रत्येक देशका रणनीतिक लक्ष्य र प्राथमिकता हुन्छन् । कतारको एउटा सपना छ । भिजन छ । हामीले त्यसमा ठोस रोडम्याप दिन सकेनौं । कतारको बढ्दो कूटनीतिक छवि छ । ती कुरामा हाम्रो ध्यान हुनुपर्दथ्यो । द्विपक्षीय पारस्परिक फाइदा हुने गरी व्यावहारिक फाइदा हेर्नुपर्थ्यो ।’

कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल अमिरको भ्रमण ऐतिहासिक भएको दाबी गर्छन् । ‘दुई मुलुकबीच केही हुँदै छ भन्ने अवस्थाको सुरुवात भएको छ,’ उनले भने, ‘घरेलु कामदारको सवालमा अझ छलफल गरेर टुंग्याउने श्रम सम्झौतालाई परिमार्जन गर्ने समझदारी भएको छ । कृषि, विद्युत् र पर्यटन क्षेत्रमा लगानीको सम्भाब्यता अध्ययन गर्न दुवैतर्फका अधिकारी रहने गरी उच्चस्तरीय संयुक्त समिति बन्ने भएको छ । यसले कतारी लगानीलाई सुरक्षित बनाउन र नयाँ प्रोजेक्ट पहिचान गर्न प्रस्ताव राख्छ ।’

गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टले कतारमा रहेका नेपाली समुदायले एक दशकदेखि कतार र नेपालबीच उच्च तहको संवाद खोजिरहेको उल्लेख गर्दै अमिरको नेपाल भ्रमणले त्यसलाई पूरा गरेको टिप्पणी गरे ।

विपिन जोशी छुटाउन चासो

प्रधानमन्त्री दाहालले पनि हमासको आक्रमणमा बेपत्ता विपिन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन बुधबार कतारका अमिरसँग आग्रह गरेका छन् । मंगलबार राष्ट्रपति पौडेलले जोशीलाई प्यालेस्टाइनी लडाकु समूह हमासबाट छुटाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए । गत असोज २० मा इजरायलमा आक्रमण गरेपछि हमासले जोशीलाई बन्धक बनाएर लगेको छ । कतार र हमासबीचमा राम्रो सम्बन्ध भएका कारण नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले अमिरलाई रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् । ‘म उनको शीघ्र तथा सुरक्षित रिहाइका सहजीकरण गर्न कतार सरकारसमक्ष पुनः अनुरोध गर्न चाहन्छु,’ दाहाललाई उद्धृत सापकोटाले भने, ‘यस विषयमा महामहिमको व्यक्तिगत ध्यानाकर्षणका लागि अनुरोध गर्दछु ।’

प्रकाशित : वैशाख १३, २०८१ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?