दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए कतारका अमिर
काठमाडौँ — कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ व्यक्तिहरूले उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरे ।
उनको बिदाइमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठलगायत विमानस्थल पुगेका थिए ।
कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारद अर्पण गरेको थियो । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मंगलबार नेपाल आइपुगेका कतारी अमिरले राष्ट्रपति र प्रधानमन्त्रीसँग अलग-अलग भेटवार्ता गरेका थिए ।
बुधबार प्रधानमन्त्री दाहाल र कतारका तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो । उक्त वार्ताका क्रममा दुई देशबीच आपसी सहकार्यसम्बन्धी विभिन्न विषयमा समझदारी भएको छ । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो ।
नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा सन् २०११ अगष्टमा राजदूतावास स्थापना गरेको थियो ।
प्रकाशित : वैशाख १२, २०८१ १४:१६