कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

मधेशका मुख्यमन्त्रीलाई चौथो पटक विश्वासको मत

मुख्यमन्त्रीको पक्षमा ६१ मत, प्रदेश सरकारबाट बाहिरियो लोसपा
अजित तिवारी

जनकपुर — मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभामा कांग्रेस, जनमत र लोसपाको बहिष्कारबीच मुख्यमन्त्री यादवले विश्वासको मत पाएका हुन् । 

मधेशका मुख्यमन्त्रीलाई चौथो पटक विश्वासको मत

सत्ता गठबन्धनका जसपा, एमाले, माओवादी, एकीकृत समाजवादीबाट गरी मुख्यमन्त्रीको पक्षमा ६१ मत खसेको थियो । प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, जसपाका १९, माओवादीका ९ र नेकपा एसका ७ सांसद छन् । मुख्यमन्त्री यादवलाई १–१ सांसद भएका नागरिक उन्मुक्ति र संघीय समाजवादीले पनि मत दिएका छन् । १ सय ७ सदस्यीय प्रदेशसभामा सरकारका लागि ५४ सांसदको समर्थन आवश्यक थियो । प्रदेशसभामा कांग्रेसका २२, जनमतका १३, लोसपाका ९ र राप्रपाका १ सदस्य छन् ।

सत्तारूढ तथा विपक्षी दलहरूले भने प्रदेश सरकारले कामै गर्न नसकेको आरोप लगाउँदै आएका छन् । मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिँदा प्रदेशसभाको बैठकमा सत्ता साझेदार दलका सांसदहरूले प्रदेश सरकारले कामै गर्न नसकेको आरोप लगाएका थिए । सत्ता साझेदार दलको बैठक नराख्ने, छलफल नगर्ने र एक्लै हिँड्न खोज्ने मुख्यमन्त्री यादवको स्वभावले सत्ता गठबन्धन दल उनीसित रुष्ट छन् । मुख्यमन्त्री यादव भने पटकपटक विश्वासको मत लिनुपर्दा र प्रमुख सचिवहरू फेरिँदा प्रदेश सरकारको गति सुस्त भएको दाबी गर्छन् । आफ्नो डेढ वर्षको कार्यकालमा थाहै नदिई तीन जना प्रमुख सचिव फेरिएको उनले बताएका छन् । पछिल्लो समय मधेशका प्रमुख सचिव दिनेश घिमिरेको सरुवा भएको थियो ।

मधेशमा तेस्रो शक्ति रहेको जसपाका यादव निर्वाचनपछि एमाले र माओवादीको सहयोगमा मुख्यमन्त्री बनेका थिए । पहिलो पटक विश्वासको मत लिँदा प्रदेशसभा बैठकमा उपस्थित १ सय २ जना सांसदले नै उनलाई मत दिएका थिए । केन्द्रमा माओवादीले एमालेको साथ छोड्दै कांग्रेससँग गठबन्धन गरेपछि यादवले दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला प्रदेशसभा बैठकमा उपस्थित १ सय ३ जना सांसदले नै उनको पक्षमा मत दिएका थिए । जनमत पार्टी सरकारबाट बाहिरिएपछि लिएको तेस्रो पटकको विश्वासको मतमा ३५ जना सांसद मुख्यमन्त्री यादवको विपक्षमा उभिएका थिए ।

मंगलबार नै आफ्ना मन्त्री फिर्ता बोलाउँदै लोसपा सरकारबाट बाहिरिएको छ । लोसपाले मधेश सरकारमा रहेका वन तथा वातावरणमन्त्री रमेश कुर्मी पटेललाई फिर्ता बोलाएको हो । उनले राजीनामा गरिसकेको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिए । महतोले मधेश सरकारका गतिविधि सन्तोषजनक नलागेको र उसको नराम्रो कामको आफ्नो दल हिस्सेदार नबन्ने निचोडमा पुगेर समर्थन फिर्ता लिएको बताए ।

प्रदेशसभामा तोडफोड

यादवले विश्वासको मत लिने क्रममा जनमत र कांग्रेसका सांसदहरूले प्रदेशसभामा तोडफोड गरेका छन् । सांसदहरूले सभामुख रामचन्द्र मण्डलको माइकसमेत तानेका थिए । घटनापछि सभामुख मण्डलले केही समयका लागि बैठक स्थगित गरे । जबर्जस्ती बैठक चलाउन खोजिएको भन्दै सांसदहरू विरोधमा उत्रिएका थिए ।

त्यसअघि जनमतले आफ्ना मन्त्री र सांसदमाथि मुख्यमन्त्री यादवकै उपस्थितिमा गत माघ ८ मा राजविराजमा भएको सांघातिक हमलाको संसदीय छानबिन समिति बनाउन माग गर्दै रोस्ट्रम घेराउ गरेको थियो । जनमत पार्टीका प्रवक्ता एवं प्रदेश सांसद चन्दन सिंहले हमलाको संसदीय छानबिन समिति, रकमान्तरको छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन सार्वजनिक र कार्यव्यवस्था परामर्श समितिको बैठक नबसी मंगलबार प्रदेशसभाको बैठक डाकिएकामा आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

एमालेका सांसद दीपेन्द्र ठाकुरले जनमत पार्टीका तत्कालीन मन्त्री महेशकुमार यादवमाथि भएको कुटपिट व्यक्तिगत रहेको र व्यक्तिगत विषयमा संसद् अवरोध गर्न नपाइने बताएपछि जनमत र कांग्रेसका सांसदहरूले आक्रोशित हुँदै रोस्ट्रम घेराउ गरेका थिए । त्यसपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।

करिब ५ घण्टापछि बसेको अर्को बैठकमा सभामुख मण्डलले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्रस्तुत गर्न समय दिएपछि जनमत र कांग्रेसका सांसद आक्रोशित हुँदै तोडफोडमा उत्रिएका थिए । फेरि १० मिनेटका लागि स्थगित गरिएको बैठक पुनः सुरु गर्दा कांग्रेस, जनमत र लोसपाका सांसदले बैठक बहिष्कार गरेका थिए ।

प्रकाशित : वैशाख ५, २०८१ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?