कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नेताको चाकडी नभई जनताको सेवा गरेमात्रै प्रहरी संगठन बलियो बन्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ — उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । गृहमन्त्री लामिछानेले प्रहरी संगठनहरू बलियो बनाउनका लागि जनताको सेवा गर्नुपर्ने बताए । 

नेताको चाकडी नभई जनताको सेवा गरेमात्रै प्रहरी संगठन बलियो बन्छ : गृहमन्त्री लामिछाने

नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग खुशीयाली साटासाट गर्न पुगेका गृहमन्त्री लामिछानेले जनताका गुनासा यथोचित ढंगबाट समाधान हुने प्रतिबद्धता पनि बताए । प्रहरी संगठनमा रहेकाहरू जनताको सेवामा खटिनुपर्ने उनको भनाइ थियो ।

'राष्ट्रसेवकहरूलाई कहीँ कतै अन्याय नपरोस्, सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस्,' लामिछानेले भने, 'कसैले नेता चिन्नु पर्दैन, जनता चिने हुन्छ, नेताको चाकडी नभई जनताको सेवा गरेमात्रै संगठन बलियो बन्छ भन्ने सुनिश्चितता हुनेछ ।'

गृहमन्त्री लामिछानेले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाइएको पनि बताए । उनले काठमाडौंमा २४ सै घण्टा सुरक्षा व्यवस्था चुस्त बनाउनुपर्ने बताए । त्यसको सुनिश्चितता व्यवसायीमा हुनुपर्ने उनको भनाइ थियो ।

'सबैजना सुरक्षित हुनुहुन्छ, त्यसकारण सहर जिउँदो छ, उज्यालो छ । सहरमा राति, बिहान, साँझ कतै जानुपर्दा शहरमा खुला ठाउँहरु छन्, सुरक्षित छन् भन्ने सन्देश हरेक देशले दिइरहेको छ, त्यो हुनुपर्छ, आजको बदलिँदो परिस्थितिमा सात, आठ बजे अँध्यारो हुने भन्ने हुँदैन, व्यापार व्यवसाय चलोस्, मानिसहरुको चहलपहल होस् । सुरक्षामा पनि बल मिल्छ, रातिको समयमा पेट्रोल हाल्ने ठाउँ पनि थिएन, हामीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पम्पहरु २४ सै घण्टा खुलेका छन् । अन्य पनि खुल्ने क्रममा छन् भन्ने सुनेको छु,' गृहमन्त्रीले भने, 'त्यसकारणले चलायमान भए अर्थतन्त्र पनि चलायमान हुन्छ, रोजगारीका अवसर पनि हुन्छन् । यो शहर जिउँदो, जाग्दो सहर क्रियाशील सहर हो भन्नेकुरा महसुस गराउनुपर्छ । नियम र कानुनहरु कडाईका साथ पालना हुन्छन्, नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन । प्रहरीको मनोबल अझ बढाउन सकियोस्, सुधारको काम अझै गर्न सकियोस् ।’

नेपाल प्रहरीभित्र देखिएका समस्या पनि समाधान हुने लामिछानेले बताए । 'सबै गुनासाहरु यथोचित ढंगले सम्बोधन हुन्छ, म जानकार छु, यसमा सबै समस्या समाधान हुनेछन् । सेवाअवधि लगायत सबै विषयहरु एकमुष्ट रुपमा सम्बोधन हुन्छ,' उनले भने ।

प्रकाशित : वैशाख १, २०८१ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?