३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

इलाम-२ मा कसको पल्ला भारी ?

काठमाडौँ — वैशाख १५ मा इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा २० जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । चुनाव चिह्नसमेत प्राप्त गरिसकेपछि अब इलाममा खास चुवानी प्रचार सुरु भइसकेको छ । एक मात्र क्षेत्रमा चुनाव हुन लागेपनि मुलुकभरका राजनीतिक सरोकारवालाहरूको ध्यान भने इलाम-२ तर्फ खिचिन थालिसकेको छ । किनभने यो उपचुनाव पुराना र नयाँ दलहरूको शक्ति परीक्षणको प्रयोगशाला बन्दैछ ।

इलाम-२ मा कसको पल्ला भारी ?

परम्परागत दलहरुप्रतिको बढ्दो अविश्वासको बीचबाट उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत विगतदेखि नै त्यहाँ जीत हासिल गर्दै आएको एमाले र निकट प्रतिस्पर्धी रहेको कांग्रेससँग प्रतिस्पर्धा गर्नका लागि तीव्र प्रचारसहित चुनावमा होमिएका छन् ।

२०७९ को प्रतिनिधि सभा चुनावमा पार्टी स्थापनाको ६ महिनामै २० सिट हासिल गरेको रास्वपाले तनहुँको चुनावबाट एक सिट थप्यो । अब इलामबाट थप अर्को संख्या बढाउने ध्याउन्नमा छ । त्यसैले नयाँ शक्तिको रुपमा उदाएको पार्टीको उम्मेदवारीले इलामको चुनाव रोचक बन्दैछ ।

यो प्रतिस्पर्धामा कोशीमा चलिरहेको पहिचानको आन्दोलनको एजेण्डा बोकेर जनमत पार्टीका उम्मेदवार मैदानमा उत्रिएका छन् । इलाम-२ मा जितको विरासत भएको एमाले र निकटतम प्रतिस्पर्धीको हैसियतमा रहेको कांग्रेस पनि जितको लक्ष्यसहित प्रतिस्पर्धामा छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टीले साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्वाङलाई मैदानमा ल्याएका छन् । नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलनकुमार लिम्बू तथा पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट जितबहादुर राई उम्मेदवार बनेका छन् ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईँ, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको उम्मेदवारी छ ।

विगतको चुनावी परिणामहरूलाई नियाल्ने हो भने इलाम-२ जितका लागि कुनै पनि दलका निम्ती सहज छैन ।पहिलो र दोस्रो संविधानसभा निर्वाचन र त्यसपछिका दुई प्रतिनिधिसभाका निर्वाचनमा मुख्य दलहरुले ल्याएको परिणामहरु नियाल्दा त्यहाँको मतमा उतारचढाव देखिन्छ । अहिले मुख्य प्रतिस्पर्धामा रहेका दलहरु नेकपा एमाले र नेपाली कांग्रेस तुलनात्मक रुपमा नयाँ दलहरूको भन्दा धेरै प्रश्नका घेरामा छन् ।

कांग्रेस पार्टीले उम्मेदवार छनौट गर्दा भोगेको सकस र केन्द्रसम्मै त्यसले निर्माण गरेको विवादको अर्न्तयमा ईलाम कांग्रेसभित्रको पेचिलो शक्ति संघर्ष छ भन्ने बुझ्न कठिन छैन । पार्टीभित्रकै जग खलबलिएको अवस्थामा कांग्रेस उम्मेदवार डम्बर खड्काका लागि त्यो चिर्नुपर्ने चुनौती छ ।

संविधासभा अध्यक्ष र सालिन नेताको परिचय बनाएका एमाले नेता सुवास नेम्बाङको मृत्युपछि हुन लागेको उपनिर्वानमा उनकै छोरा सुहाङ बाबुको सपना पछ्याउँदै चुनावी प्रतिस्पर्धामा छन् । सुहाङमाथि पारिवारिक विरासतका आधारमा उम्मेदवार भएको आरोप मात्रै लागेको छैन, जिल्लाभित्र दसकौंदेखि राजनीति गरिरहेकाहरु किन प्रतिस्पर्धाबाट बेदखल हुनुपर्यो भन्ने प्रश्नको उत्तर पनि खोजी भईरहेको छ । यी दुवै प्रश्न र आरोपहरुको उत्तर सुहाङकले कति संयमतापूर्वक दिन्छन् भन्नेले उनले प्राप्त गर्ने मतपरिणाम फरक पर्नसक्छ ।

यो निर्वाचन क्षेत्रमा माओवादीको आकार कस्तो छ भन्ने प्रश्न नै सबैभन्दा महत्त्वपूर्ण देखिन्छ । किनकी पहिलो र दोस्रो संविधानसभापछि माओवादी गठबन्धनको छाता ओडेर चुनाव लडिरहेकाले यो क्षेत्रमा पछिल्ला दुई निर्वाचनमा माओवादीले आफ्नो उम्मेदवार नै उठाएको छैन । पहिलो संविधानसभा निर्वाचनमा झण्डै दस हजार मत ल्याएको माओवादीले दोस्रो संविधानसभामा आधाभन्दा कम अर्थात ५ हजार मत पनि नपुर्‍याएको तितो विगत छ । यही दुई निर्वाचनका आधारमा यहाँ माओवादीको हैसियत कत्रो छ भनेर अनुमानसम्म गर्न सकिन्छ । माओवादीले अहिले एमाले उम्मेदवारलाई सघाएको छ ।

मूलधारका दलहरुको असन्तुष्टी र आक्रोशबाट जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट १३ सय ८० मत पाएर तेस्रो भएको थियो । कांग्रेस र एमाले पाएको मतसँग तुलना गर्ने हो भने त यो मत निकै कम हो । तर तनहुँ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनको परिणामलाई उदारहण लिने हो भने त्यो परिणामलाई कम आँक्न मिल्दैन ।

तनहुँमा रामचन्द्र पौडेलले २५ हजार ३ सय ३१ मत ल्याएर निर्वाचित भएका बेला रास्वपा उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत ल्याएर चौथो भएका थिए । पौडेल राष्ट्रपति भएपछि त्यहाँ भएको उपनिर्वाचनमा रास्वपाका स्वर्णिम वाग्लेले काग्रेस उम्मेदवार गोविन्द भट्टराईले भन्दा १४ हजार ७ सय मत बढी ल्याएर निर्वाचित भएका थिए ।

इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिकासँगै माङ्सेबुङ फाकफोकथुम, चुलाचुलीका पुरै तथा माई नगरपालिकाको को ६, ७, ८ नम्बर वडा समेटिएका छन् । गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले र इलाम नगरपालिकाको मेयर र चुलाचुली गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो । २०४९ सालको स्थानीय निर्वाचनपछि पहिलोपटक इलाम नगरपालिकामा कांग्रेसले जितेपछि एमालेले धक्का महशुस गरिरहेको छ । यो धक्का यसपालीको चुनावमा एमालेमाथी कसरी प्रकट हुन्छ भन्ने चाहिँ यसै भन्न सकिन्न । किनकी स्थानीय तहको चुनावयता माईखोलामा धेरै पानी बगिसक्या छ ।

स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने इलाम–२ मा कांग्रेसले एमालेभन्दा चार सयभन्दा बढी मत ल्याएको देखिन्छ । कांग्रेसले ३२ हजार ९ सय ७८ मत पाउँदा एमालेले ३२ हजार ५ सय २७ पाएको थियो । माओवादीले २ हजार ७ सय १७, जसपाले ५ सय ५४, एकीकृत समाजवादीले २ सय ७७ र राप्रपाले १ सय ३० मत पाएका थिए ।

चुनौती भोगिरहेको एमालेले माओवादीको साथमा मात्रै चुनाव जित्छ कि, देशैभरका मूलधारका दलहरुप्रतिको बढ्दो बितृष्णाबाट प्राप्त मत यसपाली पनि रास्वपाले पाएर चुनावी धक्का दिन्छ यसै भन्न सकिन्न । विपक्षमा बसेर संसद्‍मा पेचिलो प्रश्न गरेकै आधारमा कांग्रेसको मतभार बढछ की, कांग्रेस सरकारमा बस्दा गरेका कामहरुको हिसाबकिताब खोजीले उसको मतभारमा असर पार्छ भनेर हेर्न बाँकी छ । अनि सहकारी विवादको चंगुलमा परेर यसैको प्रतिरक्षामा सारा समय खर्चिरहेको रास्वपाको हैसियत बुझाउन पनि यो निर्वाचन एउटा प्रयोग हुनेछ ।

प्रकाशित : चैत्र २८, २०८० १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?