कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

मेयर बनेर भ्रष्टाचार : निर्माण कम्पनी, च्याउ फर्म, सहकारी र जग्गामा लगानी

मातृका दाहाल

काठमाडौँ — गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेकपा माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा बागमती नगरपालिकाको मेयरमा निर्वाचित थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मेयर बनेर भ्रष्टाचार : निर्माण कम्पनी, च्याउ फर्म, सहकारी र जग्गामा लगानी

बिगो कायम गरिएको रकम बराबरको धन घरजग्गा खरिद, कम्पनी स्थापना, सहकारीमा लगानीलगायत रहेको भेटिएको छ । मेयर थापा वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा पनि सोही पालिकाबाट मेयरमा निर्वाचित भएका थिए ।

अख्तियारका प्रवक्ता नरहरी घिमिरेले थापा सार्बजनिक पदमा आएयता देखिएको स्रोत नखुलेको रकमबाट बढे–बढाइएको चलअचल सम्पत्ति पनि जफत गर्न माग दाबी लिइएको बताए । प्रतिवादी बनाइएका थापा सर्लाहीको मानव निर्मित भरत तालका सञ्चालक पनि हुन् ।

अख्तियारले थापाकी श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ रामकुमार र भाइबुहारी द्धारिका राउतलाई समेतसम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ । मेयर थापाले सार्वजनिक पदमा आएपछि गैरकानुनी सम्पत्ति परिवार र आफन्तमार्फत व्यवस्थापन गरेका अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

सार्बजनिक पदको दुरुपयोग गरी थापाले परिवार र नातेदारका नाममा कम्पनी खडा गरेर भ्रष्टाचारको धन व्यवस्थापन गरेको, गैरकानुनी सम्पत्ति सहकारी र जग्गामा लगानी गरेकोलगायत विषयमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसपछि करिब १ वर्ष अघिबाट थापामाथी अनुसन्धान अघि बढेको थियो । अनुसन्धानका क्रममा अख्तियारले थापा र परिवारको सम्पत्तिको खोजविन थालेको थियो ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्र अनुसार थापा गत निर्वाचनमा मेयर भएयता १३ करोड २० लाख३ हजार ३ सय ९१ रुपैयाँ बराबरको चलअचल सम्पत्तिको कारोबार देखिएकोमा ७ करोड ८६ लाख ५० हजार २ सय १ रुपैयाँ बराबरको मात्रै स्रोत खुलेको हो । अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई नै बिगो कायय गरेको छ ।

थापा मेयर रहेकै बखत २०७५ असार ३२ मा नातामा भाइबुहारी द्धारिका राउतले मनोकामना बहुउद्देश्य सहकारीबाट २० लाख ९२ हजार ७ सय २४ रुपैयाँ ऋण लिएकी थिइन् । पछि उक्त सहकारीको ऋण तिरेको देखाइएको छ । त्यसको स्रोत भने खुलेको छैन । मेयर थापाले असार ३२ मा १६लाख १४ हजार ४ सय ७५ रुपैयाँ र आमा कृष्णमाया थापाले साउन ३२ मा १७ लाख ९ हजार ६सय ८८ रुपैयाँ सहकारीमा ऋण तिरेको देखाइएपनि यसको पनि स्रोत खुलेको छैन ।

साउन ३१ मै बुहारी द्धारिका राउतले सोही सहकारीमा १७ लाख ९ हजार ६सय ८८ रुपैयाँ ऋण तिरेको देखाइएपनि स्रोत खुलेको छैन । २०७७ असोज ६मा थापाका भाइ रामकुमारले रौतहटको जुडिबेलामा सरकारी न्युनतम मुल्य कायम गरी ५२ लाख २५ हजारमा १० कठ्ठा जमिन खरिद गरेकोमा यसको स्रोत कतैबाट नखुलेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

मेयर थापाले नै श्रीमती रेश्मीकुमारी घिमिरे (थापा)को नाममा २०७७ असोज १ मै ऋषिपथ मसरुम (च्याउ) फर्म स्थापान गरी ४० लाख लगानी गरेको देखाएका छन् । यसको पनि कुनै स्रोत खुलेको छैन । मेयर थापासहित २ जनाका नाममा २०७७ माघ १७ मा सर्लाहीको हरिवनमा १ बिघा ६कठ्ठा ११ धुर जग्गा सरकारी मुल्यांकन ५१ लख ७२ हजार ७ सय ५० रुपैया कायम गरेर खरिद गरेको स्रोत पनि खुेको छैन ।

भाइ रामकुमारकै नाममा बागमती सहकारीबाट लिएको १० लाख ऋण चुक्ता गरेको रकमको स्रोत पनि उनले देखाउन सकेनन् । ग्लोबल आइएमइ बैंकबाट लिएको १७ लाख २४ हजार ७ सय ३० रुपैयाँ २०७८ असार ३१ म चुक्ता गरेको देखिन्छ । मेयर भएकै बेला थापाले भाइ रामकुमारका नाममा त्रियोग पेट्रोलियम प्रोडक्स डिस्टीबयुटर्स प्रालि र आरबीजेएस कन्स्ट्रक्सन एण्ड सप्लायर्सका नाममा गरेको ६१ लख ३२ हजार ४ सय ५० रुपैयाँ लगानी पनि अवैध सम्पत्तिबाट भएको ठहर गरेको छ ।

भाइ बुहारी द्धारिका राउतले चुक्ता गरेको यो रकमको पनि स्रोत खुलेको छैन । छोरालाई काठमाडौंको एक बोर्डिङ स्कुलको शुल्क तिरेको रकमाके पनि स्रोत खुलेको देखिदैन । मेयर थापा र उनका परिवारका सदस्यहरुका नाममा विभिन्न बैंकबित्त संस्थााम देखिएको नगद २२ लाख ८६हजारको पनि स्रोत खुलेको छैन ।

अनुसन्धानमा सामेल अख्तियारका एक अधिकारीका अनुसारर मेयर जापाले आफूपदमा रहदा पदको दुरुपयोग गरी आर्जन गरेको धन जग्गा, सहकारी, निजी कम्पनीलगायतमा व्यवस्थाप गरेको देखिन्छ । यसमध्ये जग्गा, सहकारी र बैंकको ऋण चुक्तासहित विभिन्न १४ वटा कारोबारको ३ करोड ५७ लाख ६८ हजार ६सय ३२ रुपैयाँ बराबरको शतप्रतिशत स्रोत नखुलेको हो ।

मेयर थापा र उनकी श्रीमती, आमा, भाइ–बुहारीलगायतमार्फत भएका १० वटा कारोबारको रकममध्ये आंशिक स्रोत नखुलेको रकम १ करोड ७५ लाख ८४ हजार ५ सय ५७ रुपैयाँ देखिन्छ । यसरी शतप्रतिशत १४ र आंशिक १० वटा लेनदेन–कारोबारबाट स्रोत नखुलेको कूल सम्पत्ति ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ बराबर हुन आउछ । मेयर बनेपछि विभिन्न १२ वटा कम्पनी र संस्थामा थापाले संकास्पद लगानी गरेकओ देखिएको छ ।

अख्तियारले मेयर थापा र उनको परिवारको २०७४ असोज ७ देखि २०७९ माघ २९ सम्म्को करीब ५ वर्षको कारोबारलाई अनुसन्धानको दायरामा ल्याएको थियो । अख्तियारले गैरकानुनी सम्पत्तिबाट बढेवढाइएको सम्पत्ति पनि गैरकानुनी नै हुने भन्दै त्यस्तो सम्पत्ति जफत हुने अभियोगपत्रमा उल्लेख गरेको छ ।

भ्रष्टाचारबाट आर्जित रकमबाटै जग्गा खरिद गरेको देखिएको भन्दै रौतहटको जुडिबेलाको १० कठ्ठा र सर्लाही हरिवनको १ बिघा १४ धुर जग्गा, श्रीमती रेश्मीका नाममा खोलिएको ४० लाख लगानीसहितको च्याउ फर्म पूर्ण रुपमा जफत गर्न मागदावी लिइएको छ । हरिवनकै ८ कठ्ठा जग्गामध्ये ४.३१ प्रतिशत हिस्सा जफत गर्नुपर्ने मागदावी छ ।

‘आफ्नो हैसियत भन्दा बढी रकम बराबरको आफू र एकासगोल परिवारका सदस्यहरु समेतको नाममा घर जग्गा, कम्पनीमा लगानी, शेयर खरिद, बीमा प्रिमियम भूक्तानी, सवारी साधन खरिद लगायतका चल अचल सम्पत्तिहरु खरिद गरेको, छोरा छोरी तथा भतिजाहरुको अध्ययनमा आफ्नो हैसियत भन्दा बढी महँगो खर्च गरेको देखिँदा निजको बैधानिक आयको तुलनामा खर्च एवं लगानी सहितको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएबाट बैधानिक रुपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको निज भरत कुमार थापा र निजको एकासगोल परिवारका सदस्यहरुले अमिल्दो र अस्वभाविक उच्च स्तरको जीवन यापन गरेको प्रमाणित हुन आएकोले पाँच करोड तेत्तीस लाख त्रिपन्न हजार एक सय उनानब्बे रुपैया छैसठ्ठी पैसा बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि हुन आयो,’ अख्तियारके अभियोगपत्रमा भनिएको छ ।

थापाले स्रोत नखुलेको सम्पत्ति आफन्तका नाममा व्यवस्थापन गरेको भन्दै अख्तियारले त्यस्तो सम्पत्ति पनि जफत गर्न मागदावी लिएको छ । ‘थापाले सार्वजनिक सेवाको पदमा रहादाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरूबाट निजको एकासगोल परिवारका सदस्यहरुको नाममा खरिद गरिएका जग्गाहरू, कम्पनी लगानी, शेयर खरिद, जीबन बीमा प्रिमियम भूक्तानी र बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चहरु वरावरको घर/जग्गा खरिद र कम्पनी लगानीको पुरै स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको, आंशिक स्रोत खुलेको र पुरै स्रोत खुलेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ रेश्मी कुमारी घिमिरे थापा, राम कुमार थापा र द्वारीका राउतलाई प्रतिवादी कायम गरिएको छ,’ अख्तियारको अभियोगपत्रमा भनिएको छ, ‘यसरी स्रोत नखुलेको घर जग्गाहरु र कम्पनीमा भएको लगानी समेतबाट विगो असुल र जफत गरी पाउन मागदावी लिइएको छ ।’

प्रकाशित : चैत्र २८, २०८० २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?