१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

कसुर ठहर भएको ३८ वर्षपछि अर्कै व्यक्ति पक्राउ

क्षतिपूर्तिबारे मौन बस्दै सर्वोच्च अदालतले गर्‍यो निर्दोषको रिहाइ

काठमाडौँ, सिन्धुपाल्चोक — एउटाको कसुरमा अरु कसैलाई राज्यले थुन्यो भने के हुन्छ ? विधिशास्त्रको सामान्य नियमले भन्छ– राज्यले निज निर्दोषमाथि अपराध गरेको ठहर्छ । सिन्धुपाल्चोक सिपा गाउँका एक वृद्धविरुद्ध राज्यले हालै यस्तै काम गरेको ठहर गर्दै सर्वोच्च अदालतले सोमबार उनलाई जेल मुक्त गरेको छ ।

कसुर ठहर भएको ३८ वर्षपछि अर्कै व्यक्ति पक्राउ

अठ्तिस वर्षअघि मानव बेचबिखन मुद्दामा अदालतले प्रतिवादी काले सार्कीलाई दोषी ठहर गरी कैद सजाय तोकेको थियो । तर, काले सार्की भने फरार थिए । अदालतले पुराना फैसला कार्यान्वयनका लागि सरकारलाई ताकेता गरेपछि प्रहरीले खोजबिन गर्नेक्रममा ७३ वर्षीय कृष्णबहादुर सार्कीलाई पक्रिन पुग्यो गत महिना ।

‘प्रहरीलाई कसैले कृष्णबहादुर नै काले सार्की हो भनेका भरमा पक्राउ गरेका रहेछन्’ पक्राउ परेका कृष्णबहादुरको रिहाइका लागि बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी सिन्धुपाल्चोक जिल्ला अदालतकी वैतनिक वकिल लक्ष्मी (नानी) थापा भन्छिन्, ‘पछि नागरिकता जाँच्दा त उहाँ कृष्णबहादुर सार्की भन्ने अर्कै भन्ने थाहा भयो, तर पनि पक्राउ गरिसकेकाले प्रहरीले अदालतको आदेश नभई छाड्न मानेन र सर्वोच्चमा मुद्दा दायर गर्नु पर्‍यो ।’

पक्राउ परेको एक महिना ९ दिनपछि सर्वोच्चले कृष्णबहादुरलाई झिकाएपछि दायाँबायाँ प्रहरीका साथ लगाएर सिन्धुपाल्चोक कारागारले सोमबार उनलाई न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र महेश शर्मा पौडेलको इजलाशमा पठायो । उक्त इजलाशमा थापाका अतिरिक्त अधिवक्ता कमल कोइरालाले कसरी प्रहरीले निर्दोष वृद्धलाई शंकाका भरमा पक्राउ गरे भनेर बहस गर्दा कृष्णबहादुरले नि:शब्द सुनिरहे ।

जीवनमा एकै पल्ट ३५ वर्षअघि आमा पुतली सार्की बितेको वर्ष पशुपतिमा सद्विउ छर्न आएका बेला बाहेक गाउँ छाडेर कतै नगएका कृष्णबहादुरको सर्वोच्चसम्मको यात्रा उनले हालसम्म तय गरेको सबभन्दा लामो यात्रा थियो । ‘म त्यस दिन घरैमा सञ्चो नभएर सुतिरहेको थिएँ’ जीवनभर ज्याला मजदुरी गरेर पेट र परिवार दुबै पाल्दै आएका कृष्णबहादुर भन्छन्, ‘केही प्रहरीहरु आएर मलाई समातेर लगे ।’

त्यस दिनदेखि सिन्धुपाल्चोक कारागारमा बस्दै आएका कृष्णबहादुरको आफू चेलिबेटी बेचबिखनको कसुरमा पक्राउ परेको सुन्दा होसहवास् उड्यो । ‘म काममा गएको थिएँ, बुबालाई समात्न पुलिस आएको खबर थाहा पाएपछि घर गएँ,' उनका कान्छा छोरा अम्बरबहादुर भन्छन्, ‘बुबा बिरामी हुनु भएकाले आजलाई छादिनुस्, निको भपछि हामी आफैं आउँछौं भन्दा पनि मानेनन्, पक्राउ पुर्जी देखाउनुस् भन्दा पनि देखाएनन्, बुबालाई पक्रेर नलगी घरै छाड्न मानेनन् ।’

यसरी, साइनो न सपनाको घटनामा बाबुलाई पक्राउ गरेर लगेपछि अम्बरबहादुरले हारगुहार गरे । वैतनिक वकिल थापाले कागजात जाँचेर हेर्दा पक्राउ परेका वृद्ध काले सार्की होइनन् भन्ने प्रष्टसँग खुल्यो ।

‘कानूनी शासनमा निर्दोष व्यक्तिलाई राज्यले एक मिनेट पनि थुन्न पाउँदैन,' थापा भन्छिन्, ‘तर, उहाँलाई प्रहरीले निर्दोष हो भन्ने थाहा पाएपछि पनि अदालतको आदेश नआई छाड्न मिल्दैन भनेर राखेको राख्यै गरेपछि बाध्य भएर हामी सर्वोच्चसम्म आउन पर्‍यो ।’

अदालतले कैद कार्यान्वयनका लागि पठाएको कैदी पुर्जीको काजगतमा काले सार्की र पक्राउ परेका वृद्ध एउटै व्यक्ति हुन भन्ने सम्बद्ध मानव वेचविखन मुद्दा लगायत कुनै पनि ठोस, वस्तुनिष्ठ, निश्चयात्मक र भरपर्दो प्रमाणबाट नदेखिएको भन्दै कृष्णबहादुरलाई थुनामुक्त गर्न आदेश जारी गर्‍यो ।

‘कैद ठहर भएको भनिएका व्यक्तिको स्पष्ट रूपमा पहिचान र यकिन नभएको अवस्थामा शंका र अनुमानका आधारमा कुनै अर्को व्यक्तिलाई थुनामा राख्ने कार्यले व्यक्तिको वैयक्तिक स्वतन्त्रतामा आघात पार्ने हुन्छ’ सर्वोच्चले भनेको छ,‘व्यक्तिको स्पष्ट पहिचान नगरी थुनामा राख्ने कार्यलाई कानूनी रूपमा थुनामा राखेको भन्न नमिल्ने मात्र होइन व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरित हुने गरी प्रवृत्त धारणाकै रूपमा थुनामा राखेको मान्नुपर्ने हुन्छ ।’

यति भन्दै सर्वोच्चले कृष्णबहादुर थुनामुक्त हुने आदेश गर्दा साँझ ६ बज्नै लागेको थियो । हतारहतार इजलाशको आदेशलाई अधिवक्ताद्वय थापा र कोइरालाले रजिष्ट्रार नारायण पन्थीका समक्ष पेश गरे । पन्थीले मिसिल पढेर कृष्णबहादुर रिहा हुने कागजमा सही गरे । त्यो चाखपूर्वक हेरिरहेका कृष्णबहादुरले अन्तमा मिसिलमा सहीछाप ठोके । र, घाम डुब्नै लाग्दा उनलाई प्रहरीले साथै राखेर सिन्धुपाल्चोक लगे ।

‘राज्यको असावधानीले निर्दोष व्यक्ति थुनामा पर्नु पर्‍यो’ छोरा अम्बरले भने, ‘यतिका दिन बुबालाई भएको कैद सजायको क्षतिपूर्ति कसले दिन्छ ?’ अदालतले जारी गरेको संक्षिप्त आदेशमा कृष्णबहादुरलाई थुनामुक्त गर्ने बाहेक कुनै क्षतिपूर्ति भराउने आदेश आएको छैन ।

‘यस मामिलामा राज्यले क्षतिपूर्ति त स्वयं बुझेर र क्षमा मागेर नै दिनु पर्ने हो’ अधिवक्ता थापा भन्छिन्, ‘तर, यसका लागि पनि अदालत धाउन र मुद्दामामिला गर्न पर्छ, कमजोर आर्थिक अवस्थाका कृष्णबहादुरसँग त्यो सब गर्न सक्ने क्षमता छैन, यो अन्याय त्यसै रहने भयो ।’

चौतारा प्रहरीले कृष्णबादुरलाई सोमबार राती जिल्ला सदरमुकाम पुर्‍याई छोराको जिम्मा लगाएर छाड्ने भएको छ । यो समाचार तयार पार्दासम्म (राति १०ः२५ बजे) कृष्णबहादुरलाई चौतारा पुर्‍याउन बाँकी नै थियो ।

प्रकाशित : चैत्र १९, २०८० २३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?