कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सुरुङमा ‘ब्रेक थ्रु’ को तयारी : राजधानीलाई राजमार्ग, मधेशलाई सिँचाइ

नागढुंगा–सिस्नेखोलामा ६ मिटर र सुनकोशी–मरिण डाइभर्सनमा ७८३ मिटर मात्र छिचोल्न बाँकी

काठमाडौं, सिन्धुली — मुलुकका दुई ठूला आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र सुनकोशी–मरिण डाइभर्सनमा सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी–मरिण डाइभर्सन सुरुङको एक महिनाभित्र ‘ब्रेक थ्रु’ हुने भएको छ । नागढुंगा सुरुङमार्गको आगामी वैशाख पहिलो साताभित्र काम सक्ने तयारी छ । 

सुरुङमा ‘ब्रेक थ्रु’ को तयारी : राजधानीलाई राजमार्ग, मधेशलाई सिँचाइ

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण पूरा भए नागढुंगा उकालोमा हुने घण्टौंको ट्राफिक जामको समस्या हट्नेछ भने सुनकोशी–मरिण डाइभर्सनबाट तराई–मधेशका खेतबारी सिञ्चित हुनेछन् । धादिङबाट काठमाडौं जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङ ६ मिटर मात्र खन्न बाँकी छ । नयाँ वर्षको अवसर पारेर ‘ब्रेक थ्रु’ गर्ने गरी काम भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । यसअघि १४ मिटर सुरुङ खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत माग राखेर एक महिना काम ठप्प पारेका थिए । जसका कारण गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने समय तालिका प्रभावित भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्थानीयसँग नौबुँदे सहमति भएपछि यही चैत ६ देखि पुनः निर्माण सुरु भएको थियो ।

सुरुङ खन्ने काम धमाधम भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले बताए । ‘यही दिन ब्रेक थ्रु गर्ने भन्ने समय तय भएको छैन,’ उनले भने, ‘अब धेरै समय लाग्दैन ।’ सुरुङ निर्माणमा अहिले राम्रो प्रगति भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । ‘कहिले ब्रेक थ्रु गर्ने भनेर मिति घोषणा गरिसकिएको छैन,’ उनले भने, ‘निर्माणको जिम्मा लिने जापानी कम्पनीसँग छलफल गरी ब्रेक थ्रुको मिति तय गर्नेछौं ।’

दैनिक डेढदेखि दुई मिटरसम्म सुरुङ खन्ने काम भइरहेकाले ब्रेक थ्रुको दिनलाई थोरै बाँकी राखेर अन्य खन्ने काम केही दिनमै सकिने उनको भनाइ छ । सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको उकालोमा हुने ट्राफिक जामको सामना गर्नु नपर्ने र समयको पनि बचत हुने उनको भनाइ छ । ‘यो सुरुङ हाम्रा लागि नयाँ हो, जुन सिकाइ र भोगाइका लागि ठूलो अवसर हो,’ उनले भने, ‘किनकि ढिलोचाँडो सुरुङ युगमा हामी जानैपर्थ्यो, त्यसको यो सुरुवात हो ।’

सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । सुरुङ बनेपछि मुख्य सडक साढे ७ किमि छोटिनेछ । मुख्य सुरुङको दूरी २.६८८ किमि छ । आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भइसकेको छ । थानकोटमा फ्लाइओभर निर्माणाधीन छ । सुरुङमार्ग प्रयोग गरेबापत शुल्क लिने/नलिने भन्नेबारे निर्णय भइनसकेको र छलफलको क्रममा रहेको आयोजनाले जनाएको छ ।

सुरुङ खनिसकेपछि त्यसको फिनिसिङ गर्न थप समय लाग्ने भएकाले यहाँ गाडी सञ्चालन गर्न ०८१ फागुन/चैत पुग्ने आयोजनाको भनाइ छ । यो सुरुङबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र मोटरसाइकल चल्न पाउने छैनन्  । यो आयोजना निर्माण सुरु भएको ५१ महिना बितिसकेको छ । आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भने गत साउन २२ मा भएर अहिले फिनिसिङको काम भइरहेको छ । जसको दूरी २५५७ मिटर छ । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि ०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्मलाई म्याद थपिएको छ । ०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो । तर तोकिएको समयमा कोभिड, बेलाबेला हुने अवरोधका कारण काम सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।

यसैगरी सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने काम एक महिनाभित्रै ब्रेक थ्रु हुने भएको छ । १३ दशमलव ३ किमिमध्ये शनिबारसम्म १२ दशमलव ५१७ किमि सुरुङ निर्माण भएको छ । अब सुरुङको काम ७८३ मिटर बाँकी छ । यस आयोजनामा कमलामाई नगरपालिका–२ कुसुमटारदेखि सुनकोशी गाउँपालिका–७ कानढुंग्रीसम्म सुरुङ बनिरहेको हो । कानढुंग्रीमा पुगेपछि सुनकोशी नदी भेटिन्छ । ०७९ असोज २८ बाट सुरु भएको सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखै खस्ने हुँदा सुरुङ खन्ने टीबीएम मेसिन अगाडि बढ्न नसक्दा काम रोकिएको थियो । सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकामा यही गतिमा गए ६ महिनाअगावै सम्पन्न हुने आयोजना प्रमुख मित्र बराल बताउँछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले शनिबार आयोजनाको निरीक्षण गरेका छन् । सरकारले प्राथमिकतामा राखेको आयोजना भएकाले यसको काममा रकम अभाव हुन नदिइने उनको भनाइ छ ।

सुनकोशी–मरिण डाइभर्सन आयोजना चुरे र महाभारत क्षेत्रमा निर्माण भइरहेकाले भौगोलिक कठिनाइ उत्पन्न भएको आयोजना प्रमुख बरालले जनाए । ‘अब बाँकी सुरुङको काम महाभारत रेन्ज नै भएकाले समस्या उत्पन्न हुन सक्छ,’ उनले भने, ‘कुनै समस्या नआए एक महिनामा सुरुङको पहिलो चरणको काम सकिन्छ । त्यसपछि डेढ वर्ष परीक्षणकाल र उपचारको काम हुन्छ ।’ हालसम्म आयोजना निर्माणमा ११ अर्ब ९१ करोड १९ लाख खर्च भएको छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड ३१ लाख छ । सुरुङ निर्माण, सुनकोशी नदीमा हेडवर्क्सको काम, सामाजिक काम र घर तथा जग्गा अधिग्रहणमा रकम खर्च भएको आयोजनाले जनाएको छ । आयोजना भौतिकतर्फ प्रगति २६.३८ र वित्तीय २४.१० प्रतिशत छ । यो समग्र आयोजनाको हो ।

०७७ फागुन २० मा कमलामाई नगरपालिका–२ कुसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भई आयोजना निर्माण सुरु भएको हो । प्राप्त बजेटबाट सुरुङ निर्माणदेखि सुनकोशीमा बाँध निर्माण, विद्युत् गृह, सिँचाइ, सामाजिकलगायत काम भएको आयोजनाले जनाएको छ । सुनकोशी र तामाकोशीको संगमस्थलभन्दा ९ सय मिटर तल कानढुंग्रीमा सुनकोशीमा बाँध बाँध्न ठेक्का सम्झौता भई निर्माण व्यवसायीले काम सुरु गरेको छ ।

उच्च प्रविधिबाट ५ दशमलव ५ डायमिटरको सुरुङमार्गमा गुणस्तरीय सेग्मेन्ट प्रयोग भएको आयोजनामा कानढुंग्रीमा सुनकोशी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट बिजुली पनि उत्पादन गरिने छ ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) अहिले दैनिक सरदर ३५ मिटरदेखि ४० मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनिरहेको छ । सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का पाएको थियो । १५ अर्ब ५९ करोड ४० लाख रुपैयाँको सुरुङ निर्माणको ठेक्का कोभेकले ३६ प्रतिशत घटेर लिएको हो । सुनकोशीमा बाँध निर्माणलगायत कामको १७ अर्ब ७५ करोडको ठेक्का रमण–पटेल जेभी उपक्रमले ३२ प्रतिशत घटेर १२ अर्बमा सकारेको छ । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिणखोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाका पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउनेछ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड छ ।

प्रकाशित : चैत्र १८, २०८० ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?