२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

इजरायलको कृषि क्षेत्रमा कामदार भर्ना स्थगित : विभाग

काठमाडौँ — वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीबाट इजरायलको कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया स्थगित गरिएको जनाएको छ । विभागले मंगलबार बिजनेस टु बिजनेस(बी-टु-बी)  माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भई अध्ययन भइरहेकोले हाललाई भर्ना प्रक्रिया स्थगित गरिएको जनाएको हो ।

इजरायलको कृषि क्षेत्रमा कामदार भर्ना स्थगित : विभाग

विभागले इजरायलको विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति, संस्था तथा समूहले गैरकानुनी रुपमा प्रलोभन दिई रकम उठाएमा विभागलाई जानकारी दिन अनुरोध गरिएको छ । विभागले पहिलोपटक कृषि क्षेत्रमा दुई सय जना कामदार पठाउनको लागि छनोट गर्न काठमाडौं इन्टरनेसनल इन्कर्पोरेट प्रालिलाई अनुमति दिइएको थियो । यो पनि रोकिएको छ ।

इजरायलमा सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) र विश्वविद्यालयमार्फत 'लर्न एन्ड अर्न' कार्यक्रममा मार्फत कृषि क्षेत्रमा विद्यार्थी मात्रै जाने व्यवस्था छ । १४ वर्षपछि म्यानपावर कम्पनीले इजरायलमा कामदार पठाउन पाउने गरी ल्याइएको कार्यविधिलाई नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले अध्यययन गर्ने भन्दै समिति गठन गरेका हुन् ।

‘इजरायलको विषयमा इजरायली राजदूतसँग केही दिन अगाडि शिष्टाचार भेटमा कुरा गरेँ । त्यसमा इजरायली राजदूतले आश्चर्यजनक कुराहरू राख्नुभयो । त्यसमा मन्त्रालयका सहसचिवज्युहरू हुनुहुन्थ्यो,’ श्रम मन्त्रालयमा हालै आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले भने,‘मन्त्रालयकै कर्मचारीहरू, जसले इजरायलको भिसासम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभयो । उहाँ पनि साक्षी हुनुहुन्छ । यसमा इजरायल र नेपालका म्यानपावरबीच कुनै पनि बी–टु–बी (म्यानपावर मार्फत)मा काम गर्ने गरी कुनै पनि सम्झौता आदनप्रदान भएको छैन ।’

मन्त्री अर्यालका अनुसार केयरगिभर र 'लर्न एन्ड अर्न' बाहेकका क्षेत्रमा बाहेक अरु संयन्त्र मार्फत कामदार जाने पाउने जानकारी मन्त्रालयसँग छैन । मन्त्री अर्यालले इजरायलमा म्यानपावरको संलग्नतासम्बन्धी फाइलमा छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित : चैत्र १४, २०८० १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?