२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

सशस्त्र र कुरुवाको भरमा हिल्सा

चीनले मानसरोवरको प्रवेश नखोलेका कारण हिल्सामा पर्यटकीय चहलपहल शून्य, १४७ घरधुरी बेंसी झरे
कृष्णप्रसाद गौतम

सुर्खेत — चिनियाँ सीमास्थित हुम्लाको हिल्सामा अहिले झन्डै ३ फिट हिउँ छ । दुई दर्जन पर्यटकीयसहित झन्डै ३५ होटल छन् । ती होटलमा व्यवसायीले १० लाखदेखि २ करोडसम्म लगानी गरेका छन् । तर, कात्तिक दोस्रो साता हिमपात सुरु भएसँगै व्यवसायीहरू बेंसी झरे । जसका कारण हिल्सास्थित नाका ४ महिनाभन्दा लामो समयदेखि सशस्त्र प्रहरी र करिब १० जना कुरुवाको भरमा छ । 

सशस्त्र र कुरुवाको भरमा हिल्सा

कोभिड महामारीका कारण झन्डै ४ वर्ष बन्द भएको हिल्सा नाका गत वैशाखमा मात्र खुलेको थियो । तर नाका खुले पनि पर्यटकीय आवागमन नहुँदा हिल्साका होटल लामो समयदेखि सुनसान छन् । मानसरोवर कैलाश दर्शन गर्न जाने प्रमुख रुट यही हो । ‘चीनले नाका खोले पनि भारतीय दर्शनार्थीका लागि मानसरोवर प्रवेशको अनुमति दिएको छैन,’ होटल व्यवसायी विजय लामाले भने, ‘अन्य देशका पर्यटक पनि आएका छैनन्, हुम्लाका स्थानीय पनि चीनतिर जान नपाउँदा होटल चल्नै पाएका छैनन् ।’

कोभिडअघि बर्सेनि झन्डै १५ हजार पर्यटक हिल्सा नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न जाने गरेका थिए । अर्का व्यवसायी कर्मा लामाका अनुसार महामारीअघि हिल्सा नाकामा पर्यटक र स्थानीयको निकै चहलपहल हुने गरेको थियो । ‘त्यतिबेला बजारमा पर्यटक, भरिया र स्थानीयको बिहान सबेरैदेखि राति १० बजेसम्म चहलपहल हुन्थ्यो । कोभिडका कारण नाका बन्द हुँदा ठूलो नोक्सानी बेहोर्‍यौं, हिमपात हुनुअघि पनि नाका खुलेको महिनौं बिते पनि पर्यटकीय चहलपहल निकै न्यून थियो ।’ उनका अनुसार चीनले मानसरोवरको प्रवेश नखोल्दासम्म हिल्सामा पर्यटकीय चहलपहल हुने सम्भावना छैन ।

हिल्सामा मानसरोवर कैलाश दर्शनको समयमा १० वटा हेलिकोप्टरले झन्डै डेढ सय उडान भर्ने गरेका थिए । हिल्सामा स्थापना भएको मानसरोवर होटलका कुरुवा याक्योङ लामाले वैशाखसम्म हिल्सामा आफूहरू मात्र हुने बताए । ‘अहिले त यहाँ बाक्लो हिउँ परेको छ, यो हिउँ नपग्लुन्जेल होटल साहुहरू कोही आउँदैनन्,’ उनले टेलिफोनमा भने, ‘हामी पनि दिनभरि आगो तापेर घरभित्र बस्ने हो, कहिलेकाहीँ सशस्त्र प्रहरीले बजारमा गस्ती गर्छन् ।’ कुनै व्यापार व्यवसाय नहुने र त्यसै बस्नुभन्दा आफूहरूको जिम्मा लगाएर होटल सञ्चालक सदरमुकाम सिमकोट, नेपालगन्ज, सुर्खेतलगायतका स्थानमा झरेका उनले बताए ।

हिल्सामा होटल र अन्य सर्वसाधारणसमेत गरी झन्डै एक सय घरधुरी बस्दै आएका थिए । हिल्सास्थित सीमा अध्यागमन, भन्सार, प्रहरी चौकीलगायत कार्यालय पनि सदरमुकाम सिमकोटमा विस्थापित भइसकेका छन् । हिल्सामा ३ वर्षअघि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको थियो । हिल्सा नजिकैका न्यालु र नारा लेकमा पनि झन्डै ३ फिटसम्म हिउँ परेको छ । जसका कारण नाम्खा गाउँपालिका–६ स्थित लिमी भ्यालीको आवतजावत बन्द भएको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

तामाङका अनुसार लिमीस्थित हल्जी, जाङ र तिलगाउँका झन्डै १ सय ४७ घरधुरीका स्थानीय पनि बेसी झरिसकेका छन् । ‘३ वटै गाउँमा १०/१२ जना कुरुवा मात्र छन्, आसपासका दुईवटै लेकमा बाक्लो हिउँ जमेका कारण सदरमुकामबाट त्यहाँ जाने बाटो बन्द भइसकेका छन्,’ उनले भने, ‘अब गर्मी सुरु भएपछि वैशाखतिर मात्र स्थानीय गाउँ जानेछन् ।’ उनका अनुसार लिमी जाने झण्डै ४ हजार ६ सय मिटर र ५ हजार मिटर अग्लो न्यालु लेकमा जमेको हिउँ गाउँपालिकाले बर्सेनि डोजर लगाएर हटाउने गरेको छ । लिमीमा गाउँ कुरेर बसेकासँग नियमित टेलिफोन सम्पर्क भइरहेको उनले जनाए ।

प्रकाशित : चैत्र ८, २०८० ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?