कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

‘सुन–शासन’ ले राजनीतिक अवसान

पूर्वसभामुख, पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष महरा तीव्र गतिमा ओरालो लागेका थिए, अब सुन तस्करीमा परेसँगै उनको राजनीतिक अवसान निश्चितप्रायः भएको छ 

काठमाडौँ — सुन तस्करी प्रकरणमा लामो समयदेखि उन्मुक्ति पाउँदै आएका पूर्वसभामुख, पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार कपिलवस्तुको पकडीबाट पक्राउ परेका छन् । छोरा राहुल विद्युतीय चुरोट (भेप) मा राखी गरिएको ९ किलो सुन तस्करीमा गत भदौमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् । 

‘सुन–शासन’ ले राजनीतिक अवसान

भेपमा राखी गरिएको ९ किलो सुन तस्करीमा जोडिएका महराको ‘कनेक्सन’ ब्रेक–सुमा राखेर ल्याइएको ६१ किलो र विमानस्थलको शौचालयमा लुकाइएको १४ किलो सुन तस्करी गर्ने संगठित गिरोहसँग पनि देखिएको अधिकारीहरूले बताएका छन् । भेपमा लुकाएर ल्याइएको ९ किलो सुन भन्सारले रोकिएपछि महरा र उनका छोराले भन्सारका अधिकारीहरूलाई पटकपटक सम्पर्क गरेर सुन छाडिदिन दबाब दिएको पुष्टि भइसकेको थियो ।

सुन ल्याउने चिनियाँ नागरिक लीसँग व्यक्तिगत सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पुर्‍याउन विमानस्थल भन्सारका अधिकारी अरुण पोखरेललाई फोन गरेको अनुसन्धानमा खुलेको थियो । सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ । सुन तस्करको सञ्जाल र भन्सारका अधिकारलाई महरा बाबुछोराले २ सय ५६ पटक संवाद गरेको अभिलेख प्रहरीको सीआईबी र सरकारी वकिल हुँदै जिल्ला अदालतमा पुगेको थियो । तर, उनीहरूलाई अभियुक्त नबनाई उन्मुक्ति दिइएको थियो ।

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा पक्राउ गर्ने तयारी भइरहेका बेला काठमाडौं छाडेका महरालाई प्रहरीले कपिलवस्तुमा पक्राउ गरी भैरहवा विमानस्थल हुँदै काठमाडौं ल्याएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । महराले बिरामी रहेको बताएकाले उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएपछि उनी अहिले नर्भिक अस्पताल भर्ना भएका छन् ।

हाल पुर्पक्षका लागि थुनामा रहेका सुन तस्करीका नाइके दावा छिरिङले लगानी गरेको भियाना होटलको सवारीसाधन महराकै निर्देशनमा तत्कालीन उपराष्ट्रपति पुनका ‘वैदेशिक मामिला विज्ञ’ जीवनकुमार गुरुङको नाममा दर्ता गरेर सुन तस्करीमा प्रयोगमा ल्याइएको आयोगको जाँचबुझबाट खुलेको छ । ‘गाडी दावा, महरा र गुरुङमध्ये कसको नाममा दर्ता गर्ने भन्नेमा महराले सेटिङ गरेर गुरुङको नाममा दर्ता गर्न निर्देशन दिएको प्रमाण फेला परेको छ,’ आयोगका एक सदस्यले भने ।

तस्करीमा दावा, महरा, पुनका छोरा दीपेश, जितेन्द्र, राहुल तथा सल्लाहकार गुरुङको संयुक्त भूमिका रहेको दाबी गरिएको छ । दावाजिन वाङ ९ किलो र दावा छिरिङ ६१ किलो सुन तस्करी प्रकरणका नाइके चिनियाँ नागरिक हुन् । आयोग स्रोतका अनुसार डिजिटल फरेन्सिक ल्याब, सीडीआरमार्फत गरिएका अनुसन्धानबाट पनि महरा सुन तस्करीका योजना, कारोबार र ओसारपसारको नेटवर्कको संरक्षणको भूमिकामा थिए । महरा पक्राउसँगै यी घटनालाई केन्द्रमा राखेर प्रहरीले विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

सुन तस्करीमा मुछिएका माओवादी नेता महराका बाबुछोरालाई उन्मुक्ति

शुक्रबार गुरुङविरुद्ध १ सय ३८ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा विमानस्थल भन्सार कार्यालयले मुद्दा दायर गरेको थियो । तर उनी आइतबार १५ लाख धरौटीमा छुटेका छन् । १४ किलो सुन ल्याउँदै गर्दा गोरखाका चन्द्र घले विमानस्थलबाट पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा गुरुङ पनि योजनाकार रहेको खुलेको थियो । उनको संलग्नतामा पछिल्लो १ वर्षभित्र १ सय ३८ किलो सुन तस्करी गरिएको भन्सारले जनाएको छ । तर, आयोगले पनि भेप र ब्रेक सुबाट सुन तस्करी गरेको प्रकरणमा गुरुङ संलग्न रहेको जनाउँदै अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको छ ।

आयोगको सिफारिसका आधारमा महरालाई नियन्त्रणमा लिइएको सीआईबी प्रमुख श्याम ज्ञवालीले जनाए । ‘उहाँलाई पहिले पनि अनुसन्धान गरिएको थियो, आयोगले थप अनुसन्धान गर्न भनेकाले छानबिन गर्न नियन्त्रणमा लिएका हौं, बयान लिन्छौं,’ उनले भने । सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले उनीमाथि लागेका आरोप र भेटिएका प्रमाणहरूका आधारमा अदालतमा मुद्दा पेस गरिने बताए ।

माओवादी नेताहरूका गुरु

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री वर्षमान पुन, नेकपा महामन्त्री नेत्रविक्रम चन्दलगायत माओवादी नेताहरूका राजनीतिक गुरु हुन् कृष्णबहादुर महरा । २०४८ सालमै उनी तत्कालीन संयुक्त जनमोर्चाबाट संसद्मा आएका थिए । २०६४, २०७० र २०७४ मा पनि उनी निर्वाचित सांसद हुन् ।

२०४८ देखि नै पुष्पकमल दाहालका विश्वासपात्र महरा तत्कालीन विद्रोही माओवादीले सरकारसँग वार्ता गर्न २०५८ र २०६३ मा पठाएको वार्ता टोलीका संयोजक र २०६० मा सदस्य तथा प्रवक्ता थिए । शान्तिपूर्ण राजनीतिमा आएपछि अधिकांश समय सत्ता र शक्तिमा रहँदै आएका उनी पछिल्लो आधा दशकमा भने तीव्र गतिमा पतनको मार्गमा छन् ।

महरा २०४८ सालको संसदीय चुनावमा पहिलो पटक निर्वाचित भएका थिए । शान्ति सम्झौतापछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा माओवादी पहिलो पटक सरकारमा जाँदा महरा सूचना तथा सञ्चारमन्त्री थिए । त्यस्तै २०६४ को निर्वाचनपछि माओवादी नेतृत्वमै सरकार बनेपछि पनि उनी सूचना तथा सञ्चारमन्त्री थिए ।

सुन तस्करसँग पूर्वसभामुख महराको २२ र छोराको २३४ पटक फोन संवाद

त्यसपछि झलनाथ खनालको नेतृत्वमा गृह (२०६७), दाहाल नेतृत्वमा अर्थ (२०७३), शेरबहादुर देउवा नेतृत्वमा परराष्ट्र (२०७४) सहित चार पटक उनी उपप्रधानमन्त्री तथा मन्त्री भए । २०७४ मा उनी सभामुख भए, तर संसद्कै एक कर्मचारीसँगको विवादास्पद सम्बन्धका कारण गिरफ्तार भएपछि उनी सभामुखको पदबाट अलग हुन बाध्य भए । अदालतबाट सफाइ पाए पनि सामाजिक दबाबमा परेका महरा आफ्नो निर्वाचन क्षेत्र दाङ र गृहजिल्ला रोल्पाबाहेक सार्वजनिक कार्यक्रममा पनि कमै देखिन्थे ।

२०७८ पुसको महाधिवेशनले महरालाई केन्द्रीय सदस्यमा मनोनीत गर्‍यो । २०७९ असारमा उनले पार्टी उपाध्यक्ष र प्रवक्तासँगै विचार मिल्ने दलसँग एकता गर्ने संयोजकको जिम्मेवारी पाए । उनले नेत्रविक्रम चन्दलाई गत असारमा समाजवादी मोर्चामा सामेल गराएका थिए । उनले क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग पनि एकताका लागि प्रयास थालेका थिए । सशस्त्र युद्ध र त्यसपछि माओवादीमा कमजोर हुँदै आएको वैचारिक व्यावहारिक शुद्धीकरणलाई बेवास्ता गर्दा शीर्ष नेताहरू विवादमा पर्दै गएको माओवादी सचिव राम कार्कीको भनाइ छ । ‘मूल्य, मान्यतामा आधारित वैचारिक संघर्षले पार्टी र नेतालाई ठीक ठाउँमा राख्छ,’ उनले भने, ‘व्यक्ति नै महान् भन्ने प्रवृत्तिले व्यक्ति त सकिन्छ नै, पार्टी पनि सकिन्छ ।’

राजनीतिशास्त्रका प्राध्यापक खड्ग केसी पार्टीका मूल्य, मान्यता र आदर्शलाई लत्याएर पद र शक्तिको दुरुपयोगले यस्तै घटना निम्त्याउने बताउँछन् । ‘राजनीतिक संस्कार, मूल्य, मान्यता सबभन्दा ठूलो कुरा हो,’ भन्छन्, ‘महरा मात्र होइन, अरू नेता तथा कार्यकर्तामा पनि राजनीतिक संस्कार स्खलन भइरहेको छ ।’

प्रकाशित : चैत्र ६, २०८० ०६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?