कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एसडी मुनिले खुलाए भारतले नाकाबन्दी लगाउनुका ३ कारण

मधेशकेन्द्रित नेता मधेशको इस्यूमा एकमत नहुँदा भारतले मतलब नगरेको मुनिको बुझाई
अजित तिवारी

जनकपुर — नेपाल मामिलाका जानकार भारतीय प्रोफेसर एसडी मुनिले संविधानसभाबाट संविधान जारी गर्ने क्रममा भारतले लगाएको नाकाबन्दीका तीन कारण औंल्याएका छन् । संविधानलाई लिएर मधेशमा असन्तुष्टि चुलिएका बेला भारतले २०७२ सालमा नाकाबन्दी लगाएको थियो ।

एसडी मुनिले खुलाए भारतले नाकाबन्दी लगाउनुका ३ कारण

भारतीय प्रोफेसर मुनिका अनुसार नाकाबन्दी लगाउनुको प्रमुख कारण मधेशको असन्तुष्टिलाई देखाइए पनि त्यसभित्र अरु दुई कारण रहेको बताएका छन् । ‘मधेशको असन्तुष्टिका कारण मात्रै नाकाबन्दी लगाइएको थिएन,’ नर्थ–साउथ क्लेक्टिभले आइतबार जनकपुरमा आयोजना गरेको नेपाल–भारत सम्बन्ध र मधेश विषयक मधेश विमर्श श्रृखलामा मुनिले भने,‘संविधानमा धर्म निरपेक्षता राख्नुहुन्न भने भारतको अडान थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा मधेश घुम्न र त्यहाँको जनतासँग अन्तरक्रिया गर्न चाहन्थे । यी दुबैबाट नेपाल पन्छिएपछि नाकाबन्दी लगाइएको हो ।’

उनले नाकाबन्दी लगाउनु गलत रहेको आफूहरुले सल्लाह दिएको पनि सुनाए । ‘त्यही नाकाबन्दीका कारण भारतसँग नेपाल फेरि चिढियो । बच्चा–बच्चाहरुले भारतले कारण नाकाबन्दीको बेला दुख पाएको, हजुरबुवा, आमाले औषधि खान नपाएको, बच्चाले दुध खान नपाएको बुझेका छन् । यो उनीहरुको दिमागबाट हटाउन भारतलाई अझै ४०–५० वर्ष लाग्छ ।’

मुनिका अनुसार भारतले मधेशलाई प्राविधिकरुपमा मात्र हेरेको छ । ‘भारतले मधेशलाई रणनीतिरुपमा हेर्नुपर्थ्यो । तर, प्राविधिकरुपमा मात्र प्रयोग गरिरहेको छ,’ उनले भने,‘मधेशलाई धेरै माया गर्‍यो भने संघीय सरकार चिढिने भारतको मनोविज्ञान छ । त्यसैले भारतले मधेशलाई प्राथमिकतामा राखेर खसआर्य सत्तालाई अरु देशतिर ढल्किन दिने मनसायमा छैनन् ।’

मुनिले संविधान जारी भइरहेको बेला भारतले तत्कालीन बिदेश सचिव जय शंकरलाई नेपाल पठाएर दबाब दिनु गलत भएको पनि बताए । उनले संविधानमा मधेशको इस्यू समेट्न सबै दलका मधेशी सांसदलाई मत प्रकट नगर्न लविङ गरेको भए भारतका लागि उत्तम हुने विचार राखे । ‘भारतसँग नेपाललाई दिइने समय नै सानो छ । त्यसमा मधेशका लागि सोचिराख्ने कुरै भएन,’ मुनिले भने,‘त्यसैले मधेशको इस्यूमा मधेशी नेता र दलहरु एकढिक्का नभएसम्म भारतको महत्वमा पर्दैन ।’

प्रकाशित : चैत्र ४, २०८० १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?