कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मृत्युको खबर आउँछ, शव आउँदैन

विराटनगर र नेपालगन्ज — दुई वर्षदेखि कतारमा कार्यरत झापा, बिर्तामोड–५ का ३३ वर्षीय गंगाराम अधिकारी त्यतैबाट रुस गएको तीन महिना भयो । तर पछिल्लो दुई महिनादेखि भने उनको अवस्था अज्ञात थियो । रुसी सेनामा भर्ती भएका अधिकारीको सरकारले बिहीबार मृत्यु भएको पुष्टि गरे पनि उनको परिवार भने अझै बेखबर छ । 

मृत्युको खबर आउँछ, शव आउँदैन

महिना दिनअघि दिदी लक्ष्मी पौडेलले भाइको खोजबिनका लागि काठमाडौंस्थित कन्सुलर विभागमा निवेदन दिएकी थिइन् । ‘मेरो भाइलाई के भयो र फोन गर्नु भ’को ?’ बिहीबार साँझ कान्तिपुरसँगको टेलिफोन सम्पर्कमा लक्ष्मीले भनिन्, ‘भाइलाई के भ’को हो प्रस्ट भन्दिनूस् न ।’ अधिकारीका वृद्ध बाआमा, श्रीमती र दुई नाबालक छोरा छन् । परिवारको दयनीय आर्थिक अवस्थाका कारण अधिकारी खाडी मुलुक गएका थिए । ‘घर–परिवारसँग सल्लाह गरेरै रुस गएको थियो,’ लक्ष्मीले थपिन्, ‘मनग्ये कमाइ हुन्छ, रुस जान्छु भनेपछि परिवारले स्वीकृति दिएको थियो ।’ उदयपुर चौदण्डीगढी–३ की चिना घिमिरे रुसमा मारिएका ४१ वर्षीय श्रीमान् पदमबहादुर घिमिरेबारे बेखबर छिन् । गत असोज ३० मा श्रीमती र तीन लालावाला छाडेर उदयपुरबाट दुबई हुँदै रुस उडेका उनको मृत्युबारे परराष्ट्र मन्त्रालयले पुष्टि गरिसकेको छ । तर, चिनालाई परराष्ट्रले दिएको खबर पत्यार लागेकै छैन । ‘मृत्युको खबर सुनिरहेकी छु तर मलाई विश्वास लागेको छैन,’ चिनाले कान्तिपुरसँग भावुक हुँदै सुनाइन् ।

रसुवाको नौकुण्डा गाउँपालिका–५ का सुन्दर मोक्तानको मृत्युबारे श्रीमती पातली थिङले दुई महिनाअघि ओमानमै थाहा पाइन् । खबर सुन्नेबित्तिकै अत्तालिएर घर आएकी उनी त्यसयता श्रीमान्को शव ल्याउन पहलका लागि परराष्ट्र मन्त्रालयदेखि कन्सुलर विभाग धाइरहेकी छन् । ‘मृत्युको खबर त आयो तर लास आएन,’ मृतकका साला जसुराम गोम्बोले भने, ‘दिदी–भाइ दौडेका दौडै छौं ।’ सुन्दर गत दसैंअघि मात्रै दुबईबाट रुस उडेका थिए । जाजरकोटका ३६ वर्षीय नवीन शाही पनि वर्ष दिनअघि दुबई गएका थिए । दुबईको काम छाडेर उनी रुस उडेको २ महिना बढी भएको छैन । नाताले भाइ पर्ने नरेन्द्र शाहीका अनुसार रुस जानेबित्तिकैदेखि बेपत्ता उनको खोजबिनका लागि फागुन २६ मा कन्सुलर विभागमा निवेदन दिइएको थियो । विभागले उनको मृत्यु पुष्टि गरेको छ । नवीनकी श्रीमती जोर्डनमा छिन् । उनका एक छोरी र एक छोरा छन् ।

बाँकेको बैजनाथ गाउँपालिका–६ का ३८ वर्षीय सञ्जय केसी असोज ११ मा भिसा लगाउन भन्दै घरबाट काठमाडौं हिँडेका थिए । सञ्जयले एकै पटक रुसी सेनामा भर्ती भएपछि घरमा खबर गरे । माघ २२ मा घटनामा परेको सुनेपछि परिवारजनले उनको अवस्था पत्ता लगाउन निकै खोजे । अनेक उपाय लगाउँदा पनि सञ्जयको अवस्थाबारे यकिन भएन । एकैचोटि फागुन ४ मा मोबाइलमा शव र मृत्युको कागज पाएको हो । परिवारले त्यसको भोलिपल्टै काजकिरिया गर्‍यो । ‘मृत्युको खबर पुष्टि भएपछि काजकिरिया गरेका हौं,’ मृतककी दिदी पार्वती केसीले भनिन्, ‘परराष्ट्रबाट मृत्यु भएकै हो भन्ने पत्राचार आएपछि हामीले भाइलाई गुमाइसकेको यकिन गर्‍यौं ।’ पुस २९ मा अन्तिम पटक कुराकानी हुँदा दुःख, समस्याबारे केही नबताएको पार्वतीले सुनाइन् । ‘त्यस्तो केही कुराकानी नै गरेन । त्यही दिनको फोन अन्तिम भयो,’ उनले भनिन् । सञ्जयकी पत्नी ३३ वर्षीया सपना केसीले श्रीमान् रुसी सेनामा भर्तीका लागि जान लागेको आफूलाई समेत थाहा नभएको बताइन् । ‘धेरैजसो फोनमा कुराकानी पनि हुन सकेन,’ सपनाले भनिन्, ‘लोकेसन ट्रेस हुन्छ भनेर फोन चलाउन पनि दिँदैनथ्यो रे ।’

नेपाली सेनाका जागिरे सञ्जय सशस्त्र द्वन्द्वकालमा अर्घाखाँचीको गोरुसिंगेमा भएको झडपमा एक साता बेपत्ता भएका थिए । उनले ज्यान जोगाउन भन्दै अढाइ वर्षमै सेनाको जागिर छाडेका थिए । मलेसिया र दुबईमा गरेर पाँच वर्ष वैदेशिक रोजगारीमा बसेका उनले पछि गाउँमै हार्डवेयरको व्यापार सुरु गरे ।

पाँच लाख ऋण खोजेर सुरु गरेको व्यवसायले घर–व्यवहार चलाउन समस्या भएपछि मानव तस्करमार्फत रुसी सेनामा भर्ती हुन गएका थिए । सञ्जयका बुवा अमर केसीले सरकारले शव मात्रै ल्याइदिए छोराको अन्तिम पटक मुख हेर्ने बताए । ‘सरकारलाई आफ्नो नागरिक कहाँ छ भन्ने थाहा छैन । काजकिरिया सकेर परराष्ट्रलाई शव मगाइदिन भन्दा पनि मरेको पुष्टि नहुँदासम्म शव ल्याउने कुरा हुन सक्दैन भनेर फर्कायो,’ उनले भने, ‘सरकारले बल्ल पुष्टि गर्‍यो । अब शव ल्याइदिए हुन्थ्यो ।’

प्रकाशित : चैत्र ३, २०८० ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?