कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

नेसपाले माओवादीसँग एकता गर्न लागेको हो : सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ — नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रसँग एकता गर्न लागेको बताएका छन् । नेसपाको एक पक्षमात्रै एकता गर्न लागेको भन्नेकुरा सत्य नभएको उनको भनाइ थियो ।

नेसपाले माओवादीसँग एकता गर्न लागेको हो : सहअध्यक्ष श्रेष्ठ

नेसपाले मंसिर ६ गते नै केन्द्रिय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको श्रेष्ठले बताए । उनले दुई पार्टीका बीचमा एकता गर्ने भनेर चुनावअघि नै सहमती भएको र पार्टी एकताको सर्तसहित आफूहरूले माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लडेको बताए ।

श्रेष्ठले आफूहरू पार्टी एकता गर्ने डेढ वर्ष अगाडिको सहमती अनुरुप अघि बढेको र चाँडोभन्दा चाँडो पार्टी एकता हुने जानकारी दिए । 'नेपाल समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक बसेको हो । यहाँ नेपाल समाजवादी पार्टीको गुटको बैठक बसेको होइन । नेसपा बैठक बस्दै गर्दाखेरी फलाना अध्यक्षको पक्षमा कति, अर्का अध्यक्षको पक्षमा कति भन्ने प्रश्न होइन । यो त नेसपाको एकता संयोजन समिति र नेकपा(माओवादी केन्द्र) एकता संयोजन समितिको बीचमा संयुक्त बैठक बसेको हो,' उनले भने, 'यहाँ अल्पमतको कुरा, बहुमतको कुरा, यो पक्ष त्यो पक्ष होइन । नेसपा एकतामा जाने हो । त्यो त हामीले मंसिरको ६ गते नै पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टी एकता संयोजन समिति बनाएका थियौँ र त्यो पार्टी एकता संयोजन समितिको बैठक विविध कारणले आजसम्म बस्न सकेको थिएन । आज बस्यो र यसले पार्टी एकता गर्ने निर्णय गर्‍यो । पार्टी एकता गर्ने भनेर चुनावअघि नै हामी तयार भएको हो ।'

नेसपा सहअध्यक्ष श्रेष्ठले माओवादीको चुनाव चिह्न लिएर चुनाव लडेकाले कानुनी रुपमा आफुहरू माओवादी केन्द्रको सांसद भएको पनि बताए । सत्ता स्वार्थको लागि पार्टी एकता गर्न नलागेको भन्दै उनले विगतको पार्टी एकता गर्ने निर्णयमा इमान्दार र प्रतिबद्ध भएर लागेको जानकारी दिए । ‘अहिले चाहेर पनि नेसपाको भनेर कानुनी रुपमा दाबी गर्ने ठाउँ रहँदैन । पार्टीगत हिसाबले नेसपा नेता हौँ तर कानुनी हिसाबले, संसदीय दलमा आवद्ध भएको हिसाबले हामीले एकल चुनाव चिह्नमा चुनाव लडेको कारण नेसपाको नभएर माओवादी संसदीय दलको सदस्य हौँ,' उनले भने, 'हामी चुनाव जितेर माओवादी केन्द्रको संसदीय दलको सदस्य भइसकेपछि महेन्द्रजी यहाँ मन्त्री हुनुभयो । अहिले पुर्नगठनमा पर्नु भएन । म आजको दिनसम्म बागमती प्रदेश सरकारको मन्त्री छु ।'

माओवादीसँग पदका लागि एकता गर्न लागेको भन्ने कुराको श्रेष्ठले प्रतिवाद गरेका छन् । 'हिजो हामीले यो मन्त्री पद लिँदाचाहीँ पद लोलुप नहुने, आज महेन्द्रजीको मन्त्री पद गइसक्यो । उहाँहरूले भनेको मन्त्री पदको लागि हो भने त महेन्द्रजीको पद गइसक्यो । सबैभन्दा रिसाएर पार्टी एकता नगर्ने भनेर त उहाँले भन्नुपर्ने हो नि,' उनले भने, 'मैले मन्त्री पद जोगाइदेउ बाबा भनेर म माओवादी केन्द्रसँग हारगुहार गर्न गएको छैन । राजनीतिक ढंगले हामीले जुन निर्णय गर्‍यौँ पार्टी एकता गर्ने, त्यो निर्णयमा इमान्दार भएर, प्रतिबद्ध रहेर हो । जो साथीहरू सत्ताको लागि भन्नुहुन्छ, उहाँ साथीहरूले पार्टी एकता चाहनु हुन्न, सत्य कुरा त्यो हो ।'

श्रेष्ठले नेसपा र माओवादबीच छिट्टै पार्टी एकता हुने जानकारी दिए ।

प्रकाशित : चैत्र ३, २०८० १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?