कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

जाँचबुझ आयोगले उठायो प्रश्न : सुन तस्करीमा संलग्न माओवादी र एमाले नेता अनुसन्धान बाहिरै

तस्कर नाइके जीवन चलाउनेले पूर्वआईजीपी तथा एमाले नेता सर्वेन्द्र खनालको नाम लिएपछि बयानको कागज च्यातियो, सीआईबीको सहयोगमा चलाउने फरार भएको भन्दै एआईजी किरण बज्राचार्यलाई कारबाही सिफारिस
अनुसन्धान गर्दा हाम्रा निकायले गम्भीर गल्ती गरेको प्रतिवेदनले औंल्याएको छ, प्रमाण नष्ट गर्नेसम्मको काम भएको देखिन्छ । -रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री

काठमाडौँ — सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्य र अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

जाँचबुझ आयोगले उठायो प्रश्न : सुन तस्करीमा संलग्न माओवादी र एमाले नेता अनुसन्धान बाहिरै

पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारी र पूर्वप्रहरी महानिरीक्षक तथा एमाले नेता सर्वेन्द्र खनाललाई उन्मुक्ति दिएकामा एआईजी बज्राचार्यमाथि कारबाही सिफारिस भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र तनहुँमा भएको निर्वाचनमा पूर्वआईजीपी खनाल एमालेबाट उम्मेदवार थिए ।

सुन तस्करीमा राजनीतिक, प्रशासनिक र सुरक्षा निकायका शक्तिशाली अधिकारीको जालो तोड्न माग गर्दै तत्कालीन प्रतिपक्षी एमाले र रास्वपाले गत साउनमा एक महिना संसद् अवरुद्ध गरेपछि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको थियो । तर आयोगले सुन तस्करीमा माओवादी र एमालेका नेताहरूमाथि कारबाही नगरेको भन्दै प्रहरीमाथि प्रश्न गरेको छ ।

सुन तस्करसँग सोझै सम्पर्कमा रहेको भन्दै अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई आयोगले दोषी मानेको छ । त्यस्तै अनुसन्धानमा लापरबाही गरेको भन्दै सीआईबी प्रमुख वज्राचार्य र अभियोजनमा त्रुटि गरेकामा काठमाडौंका जिल्ला न्यायाधिवक्ता जनकप्रसाद घिमिरे र वासुदेव शर्मालाई विभागीय कारबाही गर्न आयोगले सिफारिस गरेको छ । पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष महरा र पूर्वप्रहरी महानिरीक्षक तथा एमाले नेता खनाल सुन तस्करीमा संलग्न रहेको बयान आए पनि उनीहरूमाथि सीआईबीले अनुसन्धान नगरेको नेपाल प्रहरी, गृह मन्त्रालय र आयोगका अधिकारीहरूको भनाइ छ ।

सुन तस्करी सञ्जाललाई सरकारले संरक्षण गरेको भन्दै तत्कालीन प्रतिपक्षी एमाले र रास्वपाले आयोगको माग गरेका थिए । वर्तमान सत्तारूढ गठबन्धनमा रहेको एमाले र माओवादीका नेताहरूमाथि अनुसन्धान नगरेको भन्दै प्रहरी अधिकारीमाथि कारबाही सिफारिस भएकाले सरकारमाथि पनि प्रश्न उठेको छ ।

सीआईबी प्रमुखमाथि कारबाही गर्न सिफारिस भएको छ, सरकारले सीआईबी प्रमुखमाथि कारबाही गर्न सक्छ, तर उनले संरक्षण गरेका (माओवादी र एमाले) नेताहरूमाथि अनुसन्धान गर्नैपर्ने चुनौती सरकारमाथि आइलागेको छ । गृहका एक अधिकारीले भने, सीआईबी प्रमुखले जोगाएका नेता को हुन् ? उनीहरूमाथि स्पष्ट कारबाही भएन भने गृहमन्त्रीमाथि प्रश्न उठ्नेछ । जाँचबुझ आयोगले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको ‘संरक्षण र जानकारी’ मै दुई छोरा जितेन्द्र र दीपेश तथा वैदेशिक मामिला विज्ञ जीवनकुमार गुरुङसहितले पटक–पटक सुन तस्करी गरेको तथ्य सार्वजनिक भइसकेको छ ।

६१ किलो सुन तस्करीका अभियुक्त जीवन चलाउने र पूर्वआईजीपी खनालबीच कारोबारी सम्बन्ध रहेको सूचना पाए पनि सीआईबीले खनालमाथि अनुसन्धान गरेको थिएन । त्यतिमात्र होइन, चलाउने पक्राउ परेपछि उनले खनालको संलग्नताको विषयमा दिएको बयानको कागज च्यातेर उनलाई छाडिएको र पछि चलाउने नै फरार भएको प्रहरी अधिकारीहरूको भनाइ छ ।

चलाउनेलाई नियन्त्रणमा लिई बयान गराएको तर उनले प्रहरीका पूर्वआईजीपी खनाल पनि सुन तस्करीमा संलग्न रहेको भनेर दिएको बयानको कागज च्यातेको विषयमा सीआईबी प्रमुख वज्राचार्यको विषयमा प्रहरीभित्र पहिले नै प्रश्न उठेको थियो, सीआईबी प्रमुखलाई दोषी मानिएको ठीकै हो, तर उनले उन्मुक्ति दिएका विषयमा गृह मन्त्रालयले के गर्छ ? प्रश्न गम्भीर छ अनुसन्धानमा रहेका एक अधिकारीले कान्तिपुरसँग भने । खनालको नाम लिएपछि अचानक छाडिएका चलाउने त्यसपछि फरार भएका थिए ।

चलाउनेलाई उम्काउन सहयोग गरेको विषय प्रतिवेदनमै उल्लेख भएपछि गृह तथा उपप्रधानमन्त्री लामिछानेले शुक्रबार नै वज्राचार्यलाई सीआईबीबाट जिम्मेवारी मुक्त गर्ने तयारी गरेका छन् । तर सीआईबीले उन्मुक्ति दिएका माओवादी नेता महरा र एमाले नेता खनालमाथि कसरी अनुसन्धान हुनुपर्छ भन्ने प्रश्न उत्तिकै महत्त्वपूर्ण भएको छ ।

गत असोज १५ मा पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा गठित आयोगमा सहकुल थापा, किशोरजंग कार्की र प्रेमराज जोशी सदस्य थिए, जसलाई तीन महिनाको म्याद दिइएको थियो । पछि अढाइ महिना थप समय लिएर प्रतिवेदन तयार गरी आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई बुझाएको हो ।

प्रतिवेदन बुझेलगत्तै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी ‘ब्रिफिङ’ गरेका थिए । ‘प्रधानमन्त्रीले जे हो, त्यहीँ गर्नुस् भन्नुभएको छ,’ लामिछानेले कान्तिपुरसँग भने, ‘सुन तस्करीको विषयमा अनुसन्धान गर्दा हाम्रा निकायले गम्भीर गल्ती गरेको प्रतिवेदनले औंल्याएको छ । प्रमाण नष्ट गर्नेसम्मको काम भएको देखिन्छ ।’

प्रतिवेदनमा समावेश भएका नाम र त्यसभन्दा माथि पुग्नुपर्ने ठाउँमा पुगेर अनुसन्धान गर्ने उनले बताए । ‘प्रतिवेदन नै सार्वजनिक गर्नुपर्छ भन्ने पक्षको मान्छे हुँ म, तर मन्त्रिपरिषद्को क्षेत्राधिकारको विषय पनि छ,’ उनले भने, ‘मेरो प्रयास यो प्रतिवेदन सार्वजनिक गरेर सबैलाई अनुसन्धानको दायरामा ल्याउनेमै हुनेछ ।’

सुन तस्कर र सरकारी अधिकारीबीच बिचौलियाको भूमिका निर्वाह गर्ने चलाउनेभन्दा माथिल्लो जालो र पूर्वउपराष्ट्रपतिको सचिवालयका अधिकारीहरूमाथि कति निर्मम रूपमा प्रस्तुत हुन्छन् भन्ने विषयले अनुसन्धानको बाटो तय हुने देखिन्छ । चलाउने पूर्वआईजीपी खनालनिकट रहेको आयोग स्रोत बताउँछ । ‘जीवन चलाउने फरार हुँदा उनीभन्दा माथिको नेक्ससमा अनुसन्धान प्रवेश नै गरिएन । कसले संरक्षण गरेको थियो भन्ने अनुसन्धानको गर्भमै छ । आयोग पनि यो विषयमा मौन छ,’ स्रोतले भन्यो ।

पूर्वउपराष्ट्रपतिका छोराहरू सुन तस्करीमा

आयोग अध्यक्ष आचार्यले जाँचबुझका क्रममा अनुसन्धान गर्नुपर्ने अरू थुप्रै विषय देखिएको तर समय अभावले प्रवेश गर्न नसकिएको बताए । ‘पछिल्ला दिनमा आएका र अरू थप विषयमा अझै धेरै काम गर्न आवश्यक छ, यो विषयलाई हामीले सुझावमा समेटेका छौं,’ उनले भने । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति र उनको सचिवालयका कर्मचारी जोडिएको घटना र विषय समय अभावका कारण आफूहरूले समेट्न नसकेको उनले बताए । ‘हामीलाई खासगरी विद्युतीय चुरोट (भेप) र ब्रेक सुलगायतमा लुकाएर ल्याएको सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न कार्यादेश दिइएको थियो । त्यसमा पनि असोज १४ अघिका घटनालाई मात्रै हामीले हेरेका हौं,’ आचार्यले भने, ‘यसबाहेक अरू विषयमा प्रवेश गर्न सकेनौं ।’

आयोगले कार्यादेश नभएको बताए पनि पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश ब्रेक सु प्रकरणकै आरोपी हुन् भने उनका दाइ जितेन्द्रको पनि हाल सुन तस्करी गरेको ४ वर्षअघिको भिडियो सार्वजनिक भएको छ । अर्कोतर्फ सुन तस्कर दावा छिरिङकी पत्नी अमला रोक्का पूर्वउपराष्ट्रपति पुनको घरबाट सम्पर्कविहीन भएकी थिइन् । दावा छिरिङले उपराष्ट्रपति पुनका जेठा छोरा जितेन्द्रकी पत्नी जुना मगरसँग भाइटीकासमेत लगाएको प्रमाण प्रहरीसँग छ । आयोग यो सम्बन्ध स्थापित गर्न र अर्को तहमा अनुसन्धान अघि बढाउन ‘अनिच्छुक’ देखिएको छ ।

‘आयोगले बयान/सोधपुछ र कागज गराएकामध्ये केहीलाई पुनः अनुसन्धान गरी अभियोजन गर्नुपर्ने देखियो । केही प्रहरी र कर्मचारीलाई विभागीय कारबाही गर्नुपर्ने देखियो,’ आचार्यले भने, ‘यसअघि प्रहरीले अनुसन्धान दायरामा नल्याएकालाई पनि दायरामा ल्यायौं । सीमा क्षेत्रको भद्रगोल अवस्था देखियो । त्यसको लाभ तस्करले उठाएका छन् ।’

आयोग प्रतिवेदनअनुसार सुन तस्करी हुने मुख्य ११ नाका :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौं)

रसुवागढी (रसुवा)

तातोपानी (सिन्धुपाल्चोक)

लामाबगर (दोलखा)

काँकडभिट्टा (झापा)

किमाथाङ्का (संखुवासभा)

रानी (मोरङ)

वीरगन्ज/सुक्खा बन्दरगाह (पर्सा)

बेलहिया (रूपन्देही)

कालीदह (रूपन्देही)

जमुनाह/सुक्खा बन्दरगाह (बाँके)

प्रकाशित : चैत्र २, २०८० ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?