कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

त्रिपालमै ३८ भूकम्पपीडितको मृत्यु :  चिसो छल्न चर्किएकै घरमा फर्कंदै

चिसोका कारण दीर्घरोगी, गर्भवती, सुत्केरी र बालबालिका बिरामी, गतिलो बास, उचित खानपिन र स्याहारको अभाव
टहरा बनाउन सरकारले दुई किस्तामा ५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने भनिए पनि कार्यविधि अभाव र सरोकारवाला निकायको बेवास्ताका कारण आवास निर्माण सुस्त 

सुर्खेत, सल्यान — भूकम्पले घर भत्किएको चार महिनामा समेत ओत बनाउन नसकेर अलपत्र पीडितहरूमध्ये चिसोका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । अधिकांशले ज्वरो, निमोनिया, दम, क्षयरोग, रक्तचापका कारण ज्यान गुमाएका हुन् । कात्तिक १७ को भूकम्पपछि त्रिपाल र टहरामा ओत लागेर बसिरहेका पीडितले गतिलो बास, उचित खानपिन तथा स्याहार पाउन सकेका छैनन् । चिसाकै कारण अधिकांश पीडित बिरामी छन् । 

त्रिपालमै ३८ भूकम्पपीडितको मृत्यु :  चिसो छल्न चर्किएकै घरमा फर्कंदै

मृत्यु हुनेमा जाजरकोटका ३२ र रुकुम पश्चिमका ६ जना छन् । सबैभन्दा धेरै जाजरकोटको कुशे गाउँपालिकामा ९ जनाको ज्यान गएको छ । त्यस्तै जुनेचाँदेमा ५, नलगाडमा ४, भेरीमा ३, बारेकोटमा ४ र छेडागाडमा ७ जनाको मृत्यु भएको हो । रुकुम पश्चिमको आठबिसकोटमा ३, बाँफिकोटमा १ र सानीभेरीमा २ जनाको त्रिपालमा बसिरहेकै अवस्थामा ज्यान गएको छ ।

जाजरकोटको कुशे र बारेकोट क्षेत्रको माथिल्ला भेगमा हिमपात हुने गर्छ । जसका कारण अत्यधिक चिसोले धेरैको ज्यान गएको आधारभूत विद्यालय कुशे–६ का शिक्षक अमर ओलीले बताए । ‘अत्यधिक चिसो हुने ठाउँको जाडो त्रिपालले कसरी छेकिन्थ्यो ?,’ उनले भने, ‘चिसोका कारण बिरामी नभएका पीडितका त्रिपाल भेटाउनै मुस्किल छ ।’ कतिपय दीर्घरोगीले नियमित औषधि सेवन गर्न नपाउँदा पनि ज्यान गुमाएको उनले बताए । उनका अनुसार वडा ४ मा झन्डै ९ सय परिवार घरबाहिर रहेकामा मुस्किलले २ सय मात्र टहरा निर्माण भएका छन् ।

सरकारले अस्थायी टहरा बनाउन दुई किस्तामा ५० हजार रुपैयाँका दरले खर्च उपलब्ध गराउँदै आए पनि कार्यविधि अभाव र सरकारी कर्मचारीले तदारुकता नदेखाउँदा आवास निर्माणले गति पाएको छैन । दीर्घरोगीहरूको चिसोमा स्याहार र नियमित औषधि सेवन नहुँदा ज्यान गएको छेडागाड आधारभूत अस्पतालका प्रमुख डा. प्रिय शाहीले बताए । ‘न राम्रो खानपान छ, न न्यानो लुगा नै,’ उनले भने, ‘दीर्घरोगी, गर्भवती, सुत्केरी र बालबालिकाको त बिजोगै भयो ।’ उनका अनुसार अस्पतालमा दैनिक सय जनासम्म चिसोका बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।

छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्काले चिसोका कारण भूकम्पपीडितको अकालमा ज्यान जान नदिन सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको बताए । भेरी नगरपालिकाकी स्वास्थ्यकर्मी सरिता शर्माले भूकम्प प्रभावित गाउँमा शुद्धीकरण नगरिएको पानी उपभोग गर्नु, सन्तुलित भोजन नहुनु, जथाभावी शौच गर्नुलगायत कारण झाडापखाला, ज्वरो, रुघाखोकीका बिरामी बढिरहेको बताइन् । ‘धन्न हाम्रो सावधानी र पर्याप्त औषधि भएकाले स्थिति नियन्त्रण बाहिर गएको छैन,’ उनले भनिन्, ‘चिसोका कारण देखिएका स्वास्थ्य समस्यालाई प्रकोपको रूप लिन नदिन सबै सचेत हुन जरुरी छ ।’

चिसोका कारण अकालमा ज्यान जान नदिन स्वास्थ्यकर्मीलाई पर्याप्त औषधिसहित परिचालन गरिएको दाबी आठबिसकोट नगरपालिका प्रमुख रवि केसीको छ । ‘यस्तो चिसोका बेला घरभित्रै भएकाहरू त बिरामी छन्,’ उनले भने, ‘झन् अस्थायी टहरा र त्रिपालमा जीवन जोखिममा हुन्छ नै, हामी त्यसतर्फ सचेत छौं ।’ उनका अनुसार आठबिसकोटमा ९ हजार ६ सय ६७ अस्थायी टहरा निर्माण भएका छन् । पालिकामा अहिले त्रिपालमा कोही नरहेको उनको दाबी छ ।

भूकम्पका कारण जाजरकोट भेरी नगरपालिका–३ का धनबहादुर बस्नेतको ६ जनाको परिवार झन्डै अढाई महिना त्रिपालमा बस्यो । त्रिपाल वरिपरि पुराना लुगा र परालले टालेपछि केही मात्रामा चिसो छेकिएको थियो । तर गत साता परेको वर्षाका कारण बढेको अत्यधिक चिसो भने उनीहरूले थेग्न सकेनन् । ‘घर चर्किएको छ, त्यहाँ बसे फेरि भूकम्प आएर परिवारै सिध्याउने हो कि भन्ने डर छ,’ उनले भने, ‘त्रिपालमा चिसोले बस्नै सकिन्न, धेरै चिसो भएको दिन चर्किएको पहिलेकै घरमा गएर सुत्ने गरेका छौं ।’

भेरी नगरपालिका–२ का चित्रबहादुर कार्कीलाई पनि त्यही समस्या छ । झन्डै साढे ३ महिनादेखि त्रिपालमा बस्दै आएका उनीहरू हिउँदे वर्षाका कारण त्रिपालमा बस्नै नसकिने भएपछि केही दिन चर्किएको घरमा गएर बसे । तर फेरि भूकम्प आउने हो कि भन्ने डरले एक सातादेखि त्रिपालमै फर्किएका छन् ।

बैंकमा खाता खोल्ने, प्रहरी मुचुल्का बनाउने, वडाको सिफारिसलगायत सबै प्रक्रिया पूरा गरे पनि अस्थायी आवासका लागि पहिलो किस्ताको २५ हजार रकम पाउन नसकेको उनको गुनासो छ । ‘फेरि पानी परे चर्किएको घरमा बस्न जानुको विकल्प छैन,’ उनले भने, ‘त्रिपालमा चिसो थेग्नै मुस्किल भयो, परिवारमा दैनिकजसो कोही न कोही बिरामी परिरहेका छौं ।’ त्रिपालमा बस्दा ७ जनाको परिवारलाई ज्वरो आउने, रुघाखोकी, पखालालगायत समस्या देखिरहेको उनको भनाइ छ ।

दुई साताअघि भएको वर्षाका कारण त्रिपालमा बस्दै आएका केही पीडित भत्किएका र चर्किएका घरमा फर्किएका थिए । जाजरकोटमा ४२ हजार ५ सय २४ जना लाभग्राही कायम भएका छन् । त्यसमध्ये २० हजार अस्थायी आवास मात्र निर्माण भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार ३२ हजार ९ सय ८ लाभग्राहीले सम्झौता गरेकामा ३१ हजार ९ सय ६१ परिवारले मात्र २५ हजार रकम पाएका छन् । १ अर्ब ३ करोड रुपैयाँ आएकामा पालिकाहरूले ७९ करोड ९० लाख रुपैयाँ मात्र पीडितलाई भुक्तानी दिएका छन् । ‘चिसो अचाक्ली छ,’ भेरी–१ रावत गाउँका कलबहादुर विकले भने, ‘त्यसैले पुरानै घरमा फर्किन बाध्य भयौं ।’ उनले दुई सातादेखि चर्किएको घरमा बस्नुपर्ने बाध्यता भएको गुनासो गरे ।

भूकम्पले भेरी–३ थाप्लेका किरणकुमार भण्डारीको घर भत्किएपछि उनको परिवार पनि त्रिपालमै बस्दै आएको छ । उनको घर नापी कार्यालयले भाडामा लिएको थियो । घर भत्किएपछि दैलेख निवासी अमिन एलिना भण्डारी र उनका भाइ प्रबल शाहीको ज्यान गयो । उनले अझै भत्किएको घरको भग्नावशेषसमेत पन्छाउन सकेका छैनन् । ‘अनुदान पाए कम्तीमा टहरा बनाएर बस्न हुन्थ्यो, अझै कहिले दिने भन्ने पनि टुंगो छैन,’ उनले भने, ‘चिसोले सबै जना बिरामी भएका भयै छौं ।’ चिसोका कारण सुत्केरी, गर्भवती, बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिक धमाधम बिरामी परिरहेको स्वास्थ्य सेवा कार्यालयकी प्रमुख डा. प्रतीक्षा भारतीले बताइन् । उनका अनुसार जिल्लाभरि झन्डै हजार भूकम्पपीडित चिसोका कारण रुघाखोकी, निमोनिया, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्याबाट पीडित छन् । ‘स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढेको बढ्यै छ,’ उनले भनिन्, ‘धन्न औषधि पुगिरहेको छ, स्वास्थ्यकर्मी पर्याप्त छन् र केही अप्रिय घटना हुन पाएको छैन ।’

शिवालय गाउँपालिकाले ३ हजार ३ सय लाभग्राहीका लागि २५ हजारका दरले पहिलो किस्ताको ८ करोड २७ लाख रुपैयाँ निकासा लिए पनि वितरण गर्न सकेको छैन । छेडागाडले ३ हजार ६ सय घरधुरीको ९ करोड १६ लाख र बारेकोटले ५ हजार ५ सय घरधुरीका लागि १३ करोड ९६ लाख निकासा लिए पनि वितरण गर्न सकेका छैनन् । त्यस्तै कुशेमा ५ हजार २ सय घरधुरीको १३ करोड २१ लाख र भेरी नगरपालिकाले ७ सय २६ लाभग्राहीको १ करोड ८२ लाख रुपैयाँ लिए पनि अझै वितरण गर्न नसकेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।उनका अनुसार केही ठाउँमा राजनीतिक विवाद, लाभग्राहीको बैंक खाता नहुनु, लाभग्राही बढेको बढ्यै हुनु, वडा कार्यालयले पीडितलाई समयमै सिफारिस नदिनुलगायत कारण अस्थायी टहरा निर्माणको पहिलो किस्ताको रकम वितरणमा समस्या भएको हो । उनले नलगाड नगरपालिका र जुनेचाँदे गाउँपालिकाले अहिलेसम्म रकम निकासा नै माग नगरेको जानकारी दिए । नलगाडमा ८ हजार ९७ र जुनेचाँदेमा ५ हजार ४ सय ६ लाभग्राही रहेको तथ्यांक छ । खाता नभएकालाई नगदै रकम दिने सरकारले निर्णय गरे पनि स्थानीय सरकारले सबै लाभग्राहीलाई खाता खोल्न लगाएका छन् ।

बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले रकम निकासा भए पनि वडाहरूले लाभग्राहीको विवरण संकलनको काम नसकेकाले ढिलाइ भएको बताए । अस्थायी आवास निर्माण कार्यविधि–२०८० अनुसार स्वघोषणासहितको अनुसूची फाराम–१, २ र ३ भर्नुपर्ने भएकाले ढिलाइ भएको उनको भनाइ छ । अनुदान लिनका लागि नागरिकतालगायतका कागजात चाहिने तर कतिपयका कागजात भत्किएका घरमा पुरिएको र मजदुरीका लागि भारत गएका कतिपयले नागरिकता नै नबनाएकाले पनि समस्या भएको छ । नलगाड

नगरपालिका प्रमुख डम्बरबहादुर रावतले वडा तहमै पीडितको पहिचानमा ढिलाइ हुँदा समस्या भएको बताए । रुकुम पश्चिममा २७ हजार ३६ लाभग्राही कायम भएकामा १८ हजार ९ सय ६६ वटा अस्थायी आवास बनाइएको छ भने ८ हजार ७० परिवार अझै त्रिपालमै रहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

सल्यानको दार्मा गाउँपालिकामा २ हजार बढी घरमा क्षति भएको थियो । सरकारले अस्थायी टहरा बनाउन पहिलो किस्ताबापत २५ हजार उपलब्ध गराएपछि १ हजार बढीले टहरा बनाएर बस्दै आएका थिए । चिसोका कारण अहिले तीन सय बढी चर्किएका घरलाई मर्मत गरेर फर्केका छन् । यस्तै बाग्चौर नगरपालिकामा ६ सय बढी घर क्षति भएकामा दुई सय बढी र कुमाखमा सय बढी चर्किएको घरमा फर्केका छन् ।

प्रकाशित : फाल्गुन १०, २०८० ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?