कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

लुम्बिनीमा बुम्चोक पूजा गर्दै हलिउड अभिनेता

मनोज पौडेल

कपिलवस्तु — लुम्बिनीमा बिहीबारदेखि सुरु भएको बुम्चोक पूजामा ६० वर्षे हलिउड अभिनेता जेट ली पनि सहभागी भएका छन् । महायानीअन्तर्गत महागुरुको स्मृतिमा सुरु भएको ५ दिने शान्ति पूजामा सहभागी उनी बिहान ७ देखि साँझ ५ बजेसम्म ध्यानमग्न छन् । दिउँसो एक घण्टा खाना खानेबाहेक बाँकी समय ध्यानमै लीन भइरहेका छन् ।

लुम्बिनीमा बुम्चोक पूजा गर्दै हलिउड अभिनेता

उनीसोमबारसम्म लुम्बिनीमा रहने बताइएको छ । पाँच दिनमा एक लाख मन्त्रोच्चारण र एक लाख दियो बाल्ने बुम्चोक पूजामा उनी सहभागी भएका हुन् ।

स्रोतका अनुसार बौद्ध धर्मगुरु छोग्न्यी रिम्पोचेसँग बुद्ध दर्शनको कक्षा लिन काठमाडौं आएका बेला छोरी र केही सहयोगी लिएर जेट ली लुम्बिनीमा बुम्चोक पूजामा सरिक भएका हुन् । क्रिसमस मनाउन काठमाडौं आएको बेला पारेर लुम्बिनी पनि आएको उनले बताए ।

बौद्ध धर्मावलम्बी उनी तिब्बतीयन बुद्धिज्मका अनुयायी हुन् । धार्मिक तीर्थयात्रामा आएकाले अहिले धेरै केही कुरा नबोल्ने उनले बताए । यस पटक नेपाल आउनुलाई आफ्नो जीवनको विशेष अवसर ठानेको छोटो टिप्पणी गरे ।

‘नेपाल मन पर्छ, शान्तिका अग्रदूत जन्मेको ठाउँ हो,’ उनको भनाइ उद्धृत गर्दै लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले भने, ‘लुम्बिनी आउन पाउँदा निकै आनन्दित र प्रफुल्लित छन् । शान्तिको उद्गम स्थलको माटोलाई ढोग्ने इच्छा पूरा हुँदा आफू संसारकै भाग्यमानी भएको उनको भनाइ छ ।’ उनी यसअभि २०१७ जुलाईमा पनि नेपाल आएका थिए ।

चीनमा जन्मेर सन् २००३ देखि ६ वर्ष अमेरिकाको नागरिकता लिएका जेट ली हाल सिंगापुरका नागरिक हुन् । मार्शल आर्टिस्ट समेत रहेका जेट लीको पछिल्लो फिल्म ‘मुलान’ २०२० मा रिलिज भएको थियो । विश्वप्रसिद्ध कलाकार लुम्बिनी आउँदा राम्रो प्रचार भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बताए ।

‘उहाँजस्तो ख्यातिप्राप्त हलिउड कलाकार बुद्ध जन्मस्थलमा आउँदा लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ हुन्छ । उहाँका प्रशंसकहरू पनि घुम्न आउँछन्,’ उनले भने, ‘यसले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा ठूलो सघाउ पुग्ने विश्वास छ ।’

चीनको ५ पटक उसु च्याम्पियन बनेका उनी अन्तर्राष्ट्रिय फिल्म स्टारका रूपमा विश्व चर्चित छन् । उनले सन् १९८२ मा चिनियाँ फिल्म ‘शाओलिन टेम्पल’ बाट आफ्नो अभिनयको सुरुवात गरेका थिए ।

सन् २००० को ‘रोमियो मस्ट डाइ’ उनको लिडिङ रोलमा पहिलो हलिउड फिल्म थियो । त्यसपछि उनले २००१ मा ‘द वन’ २००७ मा ‘वार’ मा जेसन स्ट्याथम र २००८ मा ‘द फोरबिडन किंगडम’ मा ज्याकी च्यान, तीनवटै ‘द एक्सपेंडेबल्स’ फिल्ममा अमेरिकन सिल्भेस्टर स्ट्यालोनसँग सहअभिनय गरे र खलनायकका रूपमा काम गरेका थिए ।

जेट लीको सबैभन्दा सफल चलचित्र ‘लेथल विपन–४’ हो । जसले १ सय ३० मिलियन डलर कमाएको थियो ।

१९६३ अप्रिल २६ मा चीनको बेइजिङमा जन्मेका उनको खास नाम ली लियान जी हो । उनको इस्टाग्राममा ३ लाख र एक्समा करिब एक लाख फलोअर्स छन् भने उनको अफिसियल युट्युब च्यानलमा १ लाख ६३ हजार सब्सक्राइबर छन् । उनी चिनियाँ रेडक्रसका परोपकारी दूत पनि हुन् ।

अन्तर्राष्ट्रिय रेडक्रसले पनि सन् २०१० मा उनलाई पहिलो गुडविल एम्बेस्डर बनाएको थियो । जेट लीको कुल सम्पत्ति २ सय ५० मिलियन डलर भएको विकिपिडयाले उल्लेख गरेको छ । २००७ देखि उनी परोपकारी काममा लागेका हुन् । उनले वन फाउन्डेसनमार्फत प्राकृतिक प्रकोप राहत, वातावरण संरक्षण, चिकित्सा उपचार, शिक्षा र गरिबी समस्याका लागि सहयोग गर्छन् । ८ वर्षको उमेरदेखि नै उसु खेल्न थालेका जेट ली सबैभन्दा ठूलो हतियार मुस्कान र सबैभन्दा ठूलो शक्ति प्रेम मान्छन् ।

प्रकाशित : माघ १४, २०८० १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?