१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सभापति पाँच पटक प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नुपर्छ : महामन्त्री शर्मा

अमृता अनमोल

बुटवल — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले पाँच पटक प्रधानमन्त्री भइसकेका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने दौडमा सहभागी नभएर युवाहरूलाई अगाडि सार्नुपर्ने बताएका छन् । उनले सभापति देउवाले प्रधानमन्त्रीमा अरुलाई नै अगाडि सारेर शालिनता देखाउनुपर्ने बताए ।

सभापति पाँच पटक प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नुपर्छ : महामन्त्री शर्मा

कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री शर्माले सभापति देउवा प्रधानमन्त्रीको दौडमा लाग्न नहुने बताए । 'सभापतिज्यु शालिन र सह्रृदयी हुनुहुन्छ । कमैया, मधेश र एकताकाको विद्यार्थी आन्दोलन उहाँले सफल पार्नुभयो,' देउवालाई महामन्त्री शर्माले आग्रह गरे, '५-५ पटक प्रधानमन्त्री हुनुभयो, अब प्रधानमन्त्रीको दौडमा दौडनु हुँदैन । अब शालिनता देखाएर समकालीन कोही छ भने जाऊ, नत्र युवाहरू अगाडि बढ भन्नुपर्छ ।'

त्यस्तै, जनताले बदलिएको कांग्रेस र बदलिएको नेतृत्व हेर्न चाहेको पनि शर्माको भनाइ थियो । कांग्रेस सांसदसमेत रहेका महामन्त्री शर्माले नागरिकले अवस्थामा परिवर्तनको अपेक्षा गरेको धारणा राखेका थिए । उनले गणतन्त्रमा कतिपय कुरा कमजोरी भए पनि जनताको जीवनमा परिवर्तन भइरहेको बताए । 'देश बनेको छैन, केही भएन भन्नेहरू होसियार,' उनले भने, 'भगवान् गौतम बुद्धको आशीर्वाद प्राप्त देश हो । अब कांग्रेस कार्यकर्ताहरूले हामीले बनाउने हो भन्ने अभियान चलाउनुपर्छ ।'

९ प्रतिशतको घरमा बत्ती बालेको राजाको शासनबाट अहिले ९५ प्रतिशत घरमा बजिुली पुर्‍याएको, विकासका ढोका खुलेको बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले धेरै काम सम्भव गरेको शर्माको भनाइ थियो ।

जनताको मानसिकता बुझ्दै अब कांग्रेस पनि बदलिनुपर्ने उनको भनाइ थियो । संगठन र संगठनको शैली बदल्न सभापति देउवा तयार हुनुपर्ने उनको आग्रह थियो ।

महामन्त्री शर्माले नागरिकले अहिले अवस्थामा परिवर्तन खोजेकाले त्यसको रफ्तार छोपेर कांग्रेस नागरिकमा उत्साह थप्न लाग्नुपर्ने बताए । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलले मिसन ८४ को नारा लगाए पनि कांग्रेस चुनाव नभई अहिले देशमा आएको समस्या समाधानको अभियान लिएर अगाडि बढ्ने बताए ।

प्रकाशित : मंसिर १६, २०८० १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?