कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

सामाजिक विकासमन्त्रीले श्रीमतीलाई घरबाट निकालेपछि...

घरको ढोका बन्द भइसक्यो भन्दै मानसिक तनाव दिएपछि लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्रीविरुद्ध महिला आयोगमा उजुरी
दिपेन्द्र बडुवाल

भैरहवा — विहेमा दाइजो ‘अफर’ नगरेकाले हर्षित पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिका–९ बेलटारीका प्रेमचन्द्र गुप्ताले पाँच वर्षअघि श्री एयरलायन्सको हेलिकोप्टर चार्टर्ड गरेर छोरी–ज्वाइँको बिदाइ गरे । गुप्ताका अनुसार बेहुलालाई खुसी तुल्याउन त्यतिबेला ३ लाख ४० हजार रुपैयाँ भाडा तिरेर हेलिकोप्टर चार्टर्ड गरिएको थियो ।

सामाजिक विकासमन्त्रीले श्रीमतीलाई घरबाट निकालेपछि...

उनको खुसी बिहेको ५ वर्ष पनि बित्न नपाउँदै खोसिएको छ, जब छोरी कान्तिकुमारी गुप्ताले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रीसमेत रहेका श्रीमान् चन्द्रकेश (सीके) गुप्ताले हिंसा गरेको भन्दै बिहीबार राष्ट्रिय महिला आयोगमा उजुरी गरिन् ।

२०७५ वैशाख १४ मा भएको बिहे कति भव्य थियो भनेर बताउन स्थानीयहरू अहिले पनि रूपन्देहीको लुम्बिनीबाट १५ गाडीमा २ सय जन्ती दुलही लिन बेलटारी पुगेको कुरा सुनाउँछन् । तर यिनै स्थानीय त्यति भव्य बिहे गरेका श्रीमान्ले श्रीमतीमाथि हिंसा गरेको सुनेर चकित छन् । हेलिकोप्टर चार्टर्ड गरेर ज्वाइँलाई ‘सरप्राइज’ दिएको गुप्ता परिवारले अहिले आफूहरूका लागि ज्वाइँको घरको ढोका बन्द भएको गुनासो गरेका छन् ।

प्रेमचन्द्रकी साहिली छोरी ३४ वर्षीया कान्तिकुमारीले अनलाइनमार्फत आयोगमा गरेको उजुरीमा लामो समय शारीरिक र मानसिक हिंसा सहनुपरेको उल्लेख छ । निरन्तरको हिंसा सहन नसकेर दुई सन्तानसहित अहिले माइतीमा बसिरहेको उनले बताइन् । गत कात्तिक १४ गते बुबालाई साथमा लिएर लुम्बिनीस्थित पतिको घर गएको बताउँदै उनले कान्तिपुरसँग भनिन्, ‘घर पुग्नेबित्तिकै सासू र नन्दले हातपात गरे । घरबाहिर रहेका उहाँ (पति) लाई बुबाले फोन गर्दा तपाईंकी छोरीका लागि मेरो घरको ढोका बन्द भइसकेकाले डिभोर्स गर्ने बताउनुभयो ।’ बुबासित त्यसो भनेपछि तनावमा थपिएको उनले बताइन् ।

‘बिहे भएको एक महिना नबित्दै पाँच लाख रुपैयाँ माग्नुभयो । बिहेमा खर्च भएकाले आर्थिक अभाव भयो, सापटी भए पनि माइतीबाट ल्याउन भन्नुभयो,’ उनले भनिन्, ‘तीन महिनामै तिर्छु भनेपछि बुबालाई भनें । बुबाले गाउँघरमा खोजखाज गरेपछि त्यही पैसा ल्याएर दिएँ ।’

सापटी खोजेर माइतबाट ल्याएको पैसा ७/८ महिना पुग्दासमेत गुप्ताले फिर्ता गर्ने सुरसार गरेनन् । माइतमा जसले कान्तिका बाबुलाई पैसा सापटी दिएका थिए, उनीहरूले अत्याउन थाले । यस्तो कुरा सुनाउँदा पतिले पैसा नतिर्ने बरु ‘डिभोर्स’ दिने जवाफ फर्काएको उनले सुनाइन् । ‘आफ्नै घर हो, आज नभए भोलि वातावरण सहज होला भन्ठानेकी थिएँ,’ उनले भनिन्, ‘तर, विवाद बढ्दै जाँदा हातपात हुन थालेपछि माइतीमा बुबालाई भनेर नवलपरासी आएर बस्न थालेकी हुँ ।’ माइत आएर पतिलाई फोन गर्दा नम्बर ‘ब्लक’ भइसकेको उनले सुनाइन् । ‘त्यसबेला म तीन महिनाकी गर्भवती थिएँ,’ कान्तिले भनिन् ।

२०७६ असोज २८ गते राति उनलाई सुत्केरी बेथाले च्याप्यो । माइतीले अस्पताल पुर्‍याए । अस्पतालको बेडबाट पटक–पटक पतिलाई फोन गरिन्, उठेन । बहिनीको नम्बरबाट फोन गर्दा सीकेले उठाए । ‘बेथा लागेर अस्पताल आएको सुनाएँ,’ उनले पीडा पोखिन्, ‘मतलब छैन, डिभोर्स दिन्छु भनेर फोन राखे ।’ शल्यक्रियामार्फत छोरी जन्माइन् । छोरी जन्मिएको खबरपछि सीके परिवारसहित अस्पताल आए पनि झगडा गरेर डिभोर्सकै कुरा गरे, अस्पतालमै छाडेर हिँडेको कान्तिले बताइन् ।

सुत्केरी भएर माइतीमा बस्न थालेको ७/८ महिनापछि सीके फेरि बैंकबाट ऋण लिने प्रक्रियाका कागजपत्र बोकेर बेलटारी आए । कागजमा पत्नीलाई हस्ताक्षर गर्न दबाब दिए । कागजसम्बन्धी कुनै जानकारी नभएकाले हस्ताक्षर नगर्ने अडान लिएपछि झगडा गरेर पति फर्किएको उनले बताइन् । यसपछि लामो समयसम्म पति सम्पर्कविहीन बनेको उनको भनाइ छ । यही अवधिमा नन्दको बिहे भयो । पतिलाई फोन गरेर बिहेमा किन नबोलाएको भन्दा ‘तिमी र तिम्रो घरका मान्छे आउनु पर्दैन’ भनेर जवाफ फर्काएको उनले बताइन् । बिहे सकिएको १० दिनपछि सीकेले नै कान्तिलाई घर बोलाए । त्यतिन्जेल कान्ति माइत बस्न थालेको तीन वर्ष भइसकेको थियो ।

‘यहीँ आएर हिँड् भनेपछि आफ्नै घर ठानेर सँगै आएँ,’ उनले भनिन्, ‘त्यसबेला स्थानीय तहको चुनाव (२०७९ वैशाख) आउन एक/दुई महिना बाँकी थियो, घरमा आएपछि चुनावका लागि माइतबाट ५ लाख दिलाइदेऊ भने । पहिलाको चुक्ता गर्न बाँकी थियो, यस्तोमा मैले कहाँबाट मगाउनू ? त्यसबेला पैसा दिन नसकेपछि झगडा सुरु भयो ।’ जनमत पार्टीबाट नगर प्रमुखको उम्मेदवार बनेका गुप्ता पराजित भए । त्यसपछि प्रदेश र संघीय निर्वाचन आयो । उक्त निर्वाचनमा खर्च गर्नका लागि माइतबाट १० लाख रुपैयाँ मगाउन दबाब दिए । त्यति ठूलो रकम मगाउन नसक्ने बताएपछि फेरि तनाव सुरु भएको उनले बताइन् । ‘कुटपिट सुरु भयो,’ उनले भनिन्, ‘त्यतिबेला बच्चा पेटमा थियो ।’ प्रदेशसभा सदस्यमा जनमत पार्टीबाट गुप्ता निर्वाचित भए, सम्बन्ध सहज बनेन । गर्भमा एउटा र अर्को नानी हातले डोर्‍याउँदै माइत आएको उनले बताइन् ।

यसबीच फर्केर लुम्बिनी आएका बेला २०७९ चैत १० गते सुत्केरी बेथा लाग्यो । सीके पत्नीलाई लिएर बुटवलस्थित आम्दा अस्पताल पुगे । शल्यक्रियाबाट छोरा जन्मिए । ‘लिन पनि आएनन्, घर जाम् पनि भनेनन्,’ उनले भनिन्, ‘बुबाआमाले माइत ल्याउनुभयो । चैतदेखि असारसम्म माइतमै बिताएँ ।’ गत असार २३ गते नानी र बाबु लिएर घर आएकी थिइन् । पतिले ‘किन आइस् ?’ भने । ‘फेरि डिभोर्सकै कुरा गरे,’ उनले भनिन्, ‘झगडा गरेर २/३ महिना कटाएँ ।’

गत असोज २७ गते सीके भैरहवा गएका थिए । त्यही बेला सासूले छोरीका लागि समेत भान्साबाट खाना निकाल्न नदिएर कुटपिट गरेको उनले बताइन् । ‘मैले फोन गरें, ब्लक भइसकेको थियो,’ उनले भनिन्, ‘त्यसपछि छिमेकी अंकलको फोनबाट सम्पर्क गर्दा किन फोन गरिस् भने ।’ बिहान पति आएपछि सासूससुराले गरेको व्यवहार सुनाउन नपाउँदै ‘तँ गलत छस्’ भनेपछि दुइटा बच्चा लिएर गत असोज २८ गते माइत आएको उनले बताइन् । लामो समय छोरीको पढाइ नभएपछि विद्यालयबाट फोन आउन थाल्यो ।

त्यसपछि गत कात्तिक १४ गते नानी, बाबु र माइतका बुबासहित लुम्बिनी आइन् । ‘घर पुग्नेबित्तिकै सासू र साहिली नन्दले कुटपिट गरेर घरबाट बाहिर निकाले,’ उनले भनिन् ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री गुप्ताले कुनै पनि पारिवारिक समस्या नरहेको तर ‘म्याडम’ रिसाएर माइत गएको बताए । ‘हामी दुवै जनालाई अगाडि राखेर कुरा गर्नेबित्तिकै सत्य कुरा थाहा भइहाल्छ,’ गुप्ताले भने, ‘मैले पैसा मागेको र दुःख दिएको गलत हो ।’ घरमा आमाबुबा भएकाले झगडा हुने क्रममा रिसाएर माइत गएको उनले दाबी गरे । रिसाएका बेला मुखबाट त्यस्ता कुरा निस्किएका हुन सक्ने उनको भनाइ छ । ‘मैले उहाँलाई छाडेको छैन,’ उनले भने, ‘यो सब कुरा झूट हो ।’ माइतबाट पत्नी र छोराछोरी ल्याउन शुक्रबार बिहान गाडी पठाएको उनले बताए ।

शान्तिसुरक्षा र कारबाही माग

बिहीबार आयोगमा पठाइएको निवेदनमा पालनपोषण र शिक्षादीक्षाको साटो कुटपिट र हिंसा गरिएको उल्लेख छ । निवेदनको अन्तिम निर्णय नभएसम्म आफ्नै घरमा बसोबास व्यवस्था, खाने–लाउने व्यवस्था, कुटपिट हिंसा नगर्ने, शिष्ट र सभ्य व्यवहारका साथै गाली र अपशब्द प्रयोग गर्न नपाइने आदेश गरेर बाँच्न पाउने अधिकारको संरक्षण गर्न माग गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दाङ, जिल्ला प्रहरी रूपन्देही, इलाका प्रहरी लुम्बिनी, लुम्बिनी सांस्कृतिक नगरपालिकालाई जानकारी गराउन माग गरिएको छ । यसबाहेक घरेलु हिंसा कानुनअनुसार सजाय ऐन, २०६६ को दफा ६ नम्बरअनुसार आन्तरिक संरक्षणात्मक आदेश माग गरिएको छ । साथै विपक्षीले पत्नी, नाबालक छोराछोरीमाथि घरेलु हिंसा गरेका कारण सो कार्य गरेतर्फ घरेलु हिंसा (कसुर–सजाय) ऐन, २०६६ को दफा १३ नम्बर बमोजिम हदैसम्मको सजायसमेत गरी घरेलु हिंसा (कसुर–सजाय) ऐन २०६६ को दफा १० नम्बरबमोजिम क्षतिपूर्तिसमेत दिलाई न्याय गरिपाउँ भनेर उजुरीमा उल्लेख गरिएको छ ।

कान्तिले कारबाही र सुरक्षा माग गरेर महिला आयोगमा उजुरी गरेको जानकारीपछि मन्त्री गुप्ताले शुक्रबार ससुरालीमा पुगेर अबदेखि आफू र परिवारले कुनै किसिमको दुःख नदिने भन्दै सम्झाइबुझाइ गरेर पत्नीलाई फकाएर घरमा ल्याएका छन् । शुक्रबार साँझ लुम्बिनी आएपछि कान्तिले सञ्चारकर्मीको सहयोगले घर फर्किने मौका मिलेको बताइन् । उनले आयोगमा दिएको उजुरी भने फिर्ता नलिएको बताइन् ।

कान्तिका बाबु प्रेमचन्द्र गुप्ताले मन्त्री गुप्ताले आगामी दिनमा कुनै किसिमको दुर्व्यवहार नगर्ने प्रतिबद्धता जनाएर ५/६ घण्टा घरमै बसेपछि छोरीलाई पठाएको बताए । उनले अझै विश्वासको वातावरण नबनेकाले आयोगमा बुझाएको उजुरी फिर्ता नलिने बताए ।

प्रकाशित : कार्तिक २५, २०८० ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?