कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

चिकित्सक र कर्मचारीसँग पदाधिकारीले ४ बुँदे सहमति गरेपछि बीपीको आन्दोलन फिर्ता

बन्द रहेका ओपीडीसहित सेवाहरू सञ्चालनमा 
प्रदीप मेन्याङ्बो

(सुनसरी) — सामूहिक राजीनामा दिएर एक महिनादेखि आन्दोलनरत बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका चिकित्सक र कर्मचारीसँग पदाधिकारीले बेग्लाबेग्लै सहमति गरेपछि सोमबार (आज) देखि नै नियमित उपचार सेवा, पठनपाठन सञ्चालन भएको छ । 

चिकित्सक र कर्मचारीसँग पदाधिकारीले ४ बुँदे सहमति गरेपछि बीपीको आन्दोलन फिर्ता

चिकित्सकहरुको हकमा सात वर्षदेखि र कर्मचारीहरुको हकमा १५ वर्षदेखि रोकिएको पदोन्नतीको विषयमा लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । तर गत असोज २६ गते १७७ चिकित्सकहरुले स्वास्थ्य मन्त्रालयमा सामूहिक राजिनामा दिएपछि दैनिक ४ हजार जनाले उपचार पाउने प्रतिष्ठानको ओपीडी सेवा ठप्प भएको थियो ।

पदाधिकारीहरूले चिकित्सक तथा कर्मचारीहरुसँग पटकपटक वार्ता गरेपनि ‘लोकसेवा आयोगसँग राय लिएर पदोन्नतीको प्रक्रिया सुरु गर्ने’ भन्ने वाक्य सहमतिपत्रमा लेख्ने कि नलेख्ने भन्ने विषयमा एकमत हुन नसकेपछि विना निष्कर्ष वार्ता टुंगिदै आएको थियो ।

नेपालकै इतिहासमा करिव करिव १० दिनसम्म सम्पुर्ण ओपिडी नै बन्द भएपछि सर्वसाधारणको स्वास्थ्य उपचारमा खेलवाड भएको भन्दै धरानका नागरिक समाजका अगुवाहरुले एकसातादेखि लगतार समस्या समाधान गर्न तिव्र दबाब दिंदै आएका थिए । अन्ततः चिकित्सक र कर्मचारीहरुसँग चार बुँदे सहमति भएपछि ओपीडी सेवासँगै अन्य विभागको पनि नियमित सेवा सुरु भएको छ ।

प्रतिष्ठानमा ओपीडी ठप्प हुँदा करिव ६० हजार बिरामी उपचारबाट बन्चित भएका थिए । दैनिक ८० भन्दा बढी शल्यक्रिया हुने प्रतिष्ठानमा करिव हजार जनाको रुटिन अप्रेसन अनिश्चितकालका लागि सारिएको थियो ।

चिकित्सक, कर्मचारी र पदाधिकारी बिच भएको चार बुँदे सहमतिमा मन्त्रीस्तरीय निर्णयानुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत १७ गते प्राप्त पत्रसहितको कर्मचारीको प्रस्तावित नियमावली २०७९ को मस्यौदालाई प्रतिष्ठानका कर्मचारी कल्याण समाजलाई ७ दिन समयसीमा दिई सुझाव संकलन गर्न दिने, संकलित सुझावसहितको मस्यौदा प्रतिष्ठान कार्यकारिणी समितिको सिफारिससहित संचालक परिषदमा स्वीकृतिका लागि पेश गर्ने उल्लेख छ ।

यसैगरी कर्मचारीहरुको आन्तरिक स्थायी बढुवाका लागि मिति २०७२ पुस २० गते प्रतिष्ठानले प्रकाशित गरेको विज्ञापनमा समावेश रहेकामध्ये अन्तर्वार्ता हुन बाँकी रहेका सबै स्थायी तथा पफर्मेन्स करार सेवाका पदहरुका कर्मचारीहरुको अन्तर्वार्ता आगामी पुष ०१ गतेदेखि शुरु गरी सोही महिनाको मसान्तसम्ममा सम्पन्न गर्ने र अन्तर्वार्ता सम्पन्न पश्चात एक महिनाभित्र संचालक परिषद्को बैठक बस्न पहल गरी तत्पश्चात नतिजा प्रकाशन गर्ने सहमति भएको छ ।

यसैगरी, करार सेवाको कर्मचारीहरुको अन्तर्वार्ता आगामी मंसिर १ देखि सुरु गरी मंसिर महिना भित्रै सम्पन्न गर्ने, आन्दोलनका कारण प्रतिष्ठान व्यवस्थापनले कर्मचारी कल्याण समाज, समाजको सदस्य र कुनै कर्मचारीप्रति पूर्वाग्रह नराख्ने उल्लेख छ । सहमतिको चौंथो बुदामा हाल आफ्ना मागहरु उठान गरी आन्दोलनरत सम्पूर्ण पक्षहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु आजै (सोमबार) का दिन देखिनै स्थगन गरी आ–आफ्नो कार्यमा संलग्न हुने उल्लेख छ ।

शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराजअहमद खान र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजकले वार्ता सफल गराउन भूमिका खेल्ने धरानका नागरिक समाजका अगुवा, जनप्रतिनिधिहरुलाई धन्यवाद दिंदै भविष्यमा यस्तो आन्दोलन गर्नु नपर्ने गरी प्रतिष्ठानको हितमा सबै लागिपर्नु पर्ने बताए ।

स्वास्थ्य मन्त्रालय, प्रदेश र संघीय सरकारले समेत प्रतिष्ठानको समस्या तत्काल समाधान गर्न चासो नदिएपछि धरानका नागरिक समाजका अगुवाहरु पुर्व नगरप्रमुख कुमारबहादुर कार्की, समाजसेवी सरला कायस्थ, उद्योग बाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ, महासचिव सरोज श्रेष्ठ, संघकै कृष्ण अग्रवाल, पुर्व नगरप्रमुख तिलक राई, गोकुल श्रेष्ठ, राजविमल श्रेष्ठलगायतले प्रतिष्ठानको आन्तरिक समस्या आन्तरिक रुपमै समाधान गर्न दबाब दिंदै आएका थिए ।


प्रकाशित : कार्तिक २०, २०८० १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?