कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पाल्पाको रानीमहल नजिकै बैकुन्ठे भीरमा भएको जिप दुर्घटनामा ६ को मृत्यु, एक घाइते

माधव अर्याल

पाल्पा — पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जिपका चालक घाइते भएको जनाएको छ । 

पाल्पाको रानीमहल नजिकै बैकुन्ठे भीरमा भएको जिप दुर्घटनामा ६ को मृत्यु, एक घाइते

मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । मृतकको परिचय भने नखुलेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । वाग्मती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइसकेको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेको र उद्दारमा कठिनाई भएकाले थप विवरण आउन बाँकी रहेको छ ।

जिपमा भएका यात्रु र उनीहरुको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको पाल्पाका एसपी हेरम्ब शर्माले जानकारी दिए । बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

बैकुन्ठे भीरमा ग्रेड नमिलेको र ठाडै उकालो सडक रहेको छ । छेउतर्फ सुरक्षाका लागिसमेत कुनै सतर्कता अपनाइएको छैन भने केही समययता सडकसमेत बिग्रेर छियाछिया बनेको छ । दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ ।

तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहलसम्म लुम्बिनी प्रदेश सरकारको सहयोगमा गतवर्ष कालोपत्रे सकिएको हो ।

तस्बिरहरू : माधव अर्याल/कान्तिपुर

प्रकाशित : कार्तिक ५, २०८० १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?