कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सत्ता गठबन्धनबाट हामीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको छ : नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । अहिलेको अवस्थामा सत्ता गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी पनि पार्टीको भएको उनले बताए ।

सत्ता गठबन्धनबाट हामीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको छ : नेपाल

एकीकृत समाजवादीलाई बाहिर निकालेर सत्ता गठबन्धन कमजोर पार्ने प्रयास भइरहेको नेपालले बताएका हुन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एकीकृत समाजवादीले होसियार भएर अगाडि बढ्न नेताहरूलाई आग्रह गरेका थिए । वर्तमान सत्तारुढ गठबन्धन बनाउन आफूहरूले नै भूमिका खेलेको भन्दै जोगाउन पनि लाग्नुपर्ने उनको भनाइ थियो ।

‘आज गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ, त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु । त्यसैले गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो । गठबन्धन बनाउने काममा भूमिका हामीले नै खेलेको हो । अहिले पनि हामीले भूमिका खेलेको हो । हामी कसैले तानेर गएको होइन । हामीले तानेर ल्याएको हो । यो कुराप्रति गौरवबोध गर्नुपर्छ,' उनले भने ।

उनले गठबन्धनलाई जोगाउने, बढाउने काममा भूमिका खेल्नुपर्ने तर कमजोरी भएका छन् भने आलोचना गर्न सकिने उल्लेख गरे । 'बेठिक भए त्यसको पनि आलोचना गर्न सकिन्छ । आलोचना गर्नु भनेको कमजोरीलाई सुधार गर्नका लागि हो, मिलेर अघि बढ्नका लागि हो । हामीले लिने गरेको नीति के हो भने एकता पनि गर्ने, अनुचित कुराका बिरुद्धमा संघर्ष पनि गर्ने र संघर्ष गरेर नयाँ स्तरको उन्नत कम्युनिष्टहरुको एकता कायम गर्दै अघि बढ्ने हो । एकता, संघर्ष र उन्नत स्तरको एकता गर्ने हो’ उनले भने ।

त्यस्तै, अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाको रुपमा एमसीसी पास नगरेको भए नेपालको हात तल पर्ने, नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी गरेका छन् । व्याख्यात्मक घोषणापछि मात्रै पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको उनले बताए ।

‘विगतमा भएका सरकारहरूले केही सम्झौता गरेका थिए । त्यस सम्झौतालाई एमसीसी भनिन्छ । एमसीसीले जुन एउटा योजना ल्यायो, पहिले त्यो बेलामा कम्युनिस्ट पार्टीकै सरकार थियो । केपी ओलीकै सरकार पनि थियो । परराष्ट्रमन्त्री पनि थिए । कमीकमजोरी हामीले देख्यौँ । हाम्रो मुलुकको स्वाधीनतामा स्वाभिमानमा, परराष्ट्र नीतिमा असर पर्नेकुरा देख्यौं । त्यसपछि हामीले व्याख्यात्मक टिप्पणी भनेर त्यसको अंग बनाएर पारित गरेका छौं,' उनले भने ।

प्रकाशित : आश्विन १, २०८० १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?