कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

शुल्कवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन (तस्बिरहरू)

तस्बिर : केशव थापा

काठमाडौँ — नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मंगलबार त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशिधर राम जोशीको कार्यकक्ष परिसरमा प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघका विद्यार्थीले डिन जोशीको पुत्ला बनाएर विरोध जनाएका हुन् ।

शुल्कवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन (तस्बिरहरू)

जोशीको पुत्ला पुल्चोक क्याम्पसबाट बालुवाटारसम्म लैजाने तयारी भए पनि क्याम्पसबाहिर निस्कनासाथ प्रहरीले प्रदर्शनकारीको हातबाट पुत्ला खोसेको थियो । विद्यार्थीहरूको प्रदर्शन अहिले काठमाडौंस्थित माइतीघर मण्डलतर्फ अगाडि बढेको छ ।

आईओईले गरेको शुल्कवृद्धिको विरोधमा ८ दिनदेखि आमरण अनशनमा बसेका सुलभ चापागाईंको स्वास्थ्य कमजोर बन्दै गएपछि गएराति वीर अस्पतालमा भर्ना गरिएको नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लले जनाए ।

शुल्क वृद्धि फिर्ता लिन एकसूत्रीय माग राख्दै नेविसंघका पुल्चोक क्याम्पस इकाई सभापति तथा सिभिल इन्जिनियरिङ सातौं सेमेस्टरका चापागाईं अनशनमा बसेका हुन् । इन्जिनियरिङ डिन कार्यालयले वृद्धि गरेको शुल्क फिर्ता लिन सबैजसो विद्यार्थी संगठनले माग अघि सारेका छन् ।

आइतबारदेखि समाजवादी मोर्चा निकट अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी संगठनका ४ विद्यार्थीले पनि पुल्चोकमा आमरण अनशन सुरु गरेका छन् । विद्यार्थी आन्दोलनको कारण क्याम्पसमा प्राध्यापक, विद्यार्थीभन्दा सुरक्षाका लागि खटिएका प्रहरीको संख्या धेरै देखिन्छ ।

विद्यार्थीको एक समूहले आन्दोलनका क्रममा डिन कार्यालयमा तोडफोडसमेत गरेपछि डिन कार्यालय क्षेत्र अशान्त बनेको छ । विद्यार्थी आन्दोलन चर्कंदै गएपछि आगामी शैक्षिकसत्रको प्रवेश परीक्षा पनि स्थगित गरिएको छ । त्यसले आंगिकमा पढ्ने करिब २ हजार विद्यार्थीसहित १० वटा निजी इन्जिनियरिङ कलेजको प्रवेश परीक्षा अनिश्चित बनेको छ ।

साउन २५ गतेको निर्णयअनुसार स्नातक इन्जिनियरिङको शिक्षण शुल्क ३ लाख १८ हजारबाट वृद्धि गरेर ७ लाख ७७ हजार पुर्‍याइएको डिन कार्यालयले जनाएको छ । पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा आंगिक इन्जिनियरिङ क्याम्पसहरू सञ्चालनमा छन् । डिन कार्यालयबाट सम्बन्धन पाएका निजी क्याम्पसले स्नातक इन्जिनियरिङको शुल्क १६ लाखसम्म लिँदै आएका छन् ।

मल्लले निजी कलेजमा समेत शुल्क वृद्धि गर्ने उद्देश्यले सरकारी क्याम्पसको शुल्क वृद्धि गरिएको हो कि भन्ने आंशका गरे । डिन कार्यालयले क्याम्पसहरू आर्थिक रूपमा सञ्चालन हुन नसक्ने अवस्थामा पुगेकाले शुल्क वृद्धि गर्न बाध्य भएको जनाएको छ ।


प्रकाशित : भाद्र १२, २०८० १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?