कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

चरा र वन्यजन्तुको अवैध काराेबारलाई सौखिनहरूको प्रश्रय

२ लाख रुपैयाँसम्म बिक्री हुन्छन् चरा, २० वर्षमा ५५ भारतीय र २८ चिनियाँ नागरिक पक्राउ
पक्राउ परेका १२ सय ६५ मध्ये, ११ सय ७१ जना नेपाली, ५५ भारतीय, २८ चिनियाँ
गोविन्द पोखरेल

काठमाडौँ — कानुनले निषेध गरे पनि साेखका लागि चरा पाल्न खर्च गर्न अघि सर्नेहरूका कारण उपत्यकामा चरा तथा वन्यजन्तुको अवैध व्यापार चलिरहेकाे छ । यो अवैध व्यापारमा संलग्नहरू पक्राउ परेपछि यस्तो खुलेको हो । घरमा पिँजडा तथा साना खोरमा चरा र वन्यजन्तु पाल्नेहरूका कारण अवैध व्यापार निरुत्साहित हुन नसकेको वन कार्यालयकाे अनुसन्धानले देखाएको छ ।

चरा र वन्यजन्तुको अवैध काराेबारलाई सौखिनहरूको प्रश्रय

पिँजडामा राखेर चरा बेच्न हिँड्दै गरेको अवस्थामा गत साउन १३ गते मालीगाउँ प्रहरीले भारतको पटनाका मोहम्मद इजाजलाई पक्राउ गर्‍यो ।उनको साथबाट ३ वटा सुगा र ८ वटा मुनिया बरामद गर्दै जिल्ला वन कार्यालय काठमाडौंलाई बुझाइयो ।

स्वयम्भूका विभिन्न स्थानबाट चरा खरिद गरेर आफूले बेच्नका लागि डुलाउँदै हिँडेको बयान इजाजले दिए । उनको बयानकै आधारमा वन कार्यालय र प्रहरीले स्वयम्भू आसपासमा चराको अवैध व्यापार रोकथाम सम्बन्धी अपरेसन चलाउने तयारी गर्‍यो ।

साउन २४ गते विभिन्न स्थानमा एकैपटक छापा मार्दा चरा कारोबारी ५ जना पक्राउ परे । उनीहरूको साथबाट २ सय ६१ वटा चरा बरामद भयो । मोहम्मद राजु, अकबर खान, मोहम्मद शरफुद्दीन, गुड्डु खान र मोहम्मद तौफिक पक्राउ परे । जिल्ला वन कार्यालयले प्रजाति पहिचान गर्नका लागि चराहरू सदर चिडियाखानालाई पठाएको छ । त्यसैको आधारमा उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी छ । पक्राउ परेकाहरू सबै भारतीय नागरिक रहेको अनुसन्धान अधिकृत सरस्वती अर्यालले बताइन् ।

यसपटक पक्राउ परेमध्येका मोहम्मद राजु वन्यजन्तु एवं चराचुरंगीको अवैध व्यापार तथा ओसारपसारको घटनामा पहिले पनि पक्राउ परिसकेकाे खुलेकाे छ । यसअघि पक्राउ पर्दा उनी वन्यजन्तुको अवैध चोरी तस्करीमा ५ वर्षको कारागारमा थिए । २०७४ भदौ ४ मा महानगरीय अपराध महाशाखा काठमाडौंले उनलाई जीवित चरा, लेमुर र कालो दुम्सीसहित पक्राउ गरेको थियो ।

राजधानीको अति व्यस्त क्षेत्र स्वयम्भूमा राजुले एउटा घर भाडामा लिएका थिए । त्यहाँबाट वन्यजन्तुको अवैध कारोबार गर्दै आएको उनलाई पक्राउ गरेपछि खुलेको थियो । वन कार्यालय, वन्यजन्तु अपराध शाखाका अधिकृत अशोक पराजुलीका अनुसार त्यो बेला प्रहरीले ७० वटा चरा, २ वटा लेमुर र ४ वटा कालो दुम्सी बरामद गरेको थियो ।

अफ्रिकाको माडागास्कर र आसपासका द्वीपमा पाइने लेमुर नेपाल हुँदै भारत लैजान खोजिएको थियो । साइटिसको संकटापन्न वन्यजन्तुको सूचीमा रहेको उक्त जीवलाई वन कार्यालयले सोही वर्ष सदर चिडियाखानामा बुझाएको थियो । त्यसबेला आन्दजी ५ वर्ष उमेरका ती लेमुर करिब ३/४ वर्ष बाँचेको थियो ।

५ वर्षको जेल सजायबाट मुक्त भएर राजु पुनः वन्यजन्तु तथा चराचुरुंगीको अवैध व्यापारमा संलग्न भएको खुलेको छ । वन अधिकृतहरूले यो घटनालाई नयाँ रुपमा लिनुपर्ने बताएका छन् । पक्राउ परेका शरफुद्दीन र मोहम्मद तौफिक बाबु-छोरा हुन् । चराको अवैध कारोबार भने छुट्टाछुट्टै गर्दै आएको खुलेको अर्यालले जानकारी दिइन् । ‘उनीहरूको छुट्टाछुट्टै पसल रहेछ । हामीले शरफुद्दीन र तौफिकलाई पक्राउ गरेर वन कार्यालयमा ल्याएपछि उनीहरू बाबु-छोरा हुन् भन्ने खुलेको हो,’ अर्यालले कान्तिपुरसित भनिन् ।

भारतको पटना पुर्ख्यौली घर भए पनि उनीहरूको स्वयम्भू क्षेत्रमा जन्मे-हुर्केको अनुसन्धानबाट खुलेको छ । ‘जन्मे-हुर्केको नेपालमै भए पनि नागरिकता लिएका रहेनछन् । भारतीय आधार कार्ड भएकाले आरोपीहरूलाई भारतीय नागरिक नै भन्नुपर्‍यो,’ अर्यालले भनिन् ।

भारतका विभिन्न स्थानबाट चराहरू तराईका नाका हुँदै काठमाडौंमा भित्र्याउने गरेको अनुसन्धानमा खुलेको छ । यस्तै, वीरगन्जमा पनि केही प्रजातिहरू हुर्काएर काठमाडौंमा तस्करी हुने गरेको पनि शंका छ । तर त्यसको पुष्टि भइनसकेको अधिकृत पराजुलीले बताए ।

अनवर खानले सञ्चालन गरेको चरा बेच्ने पसलमा राजु कार्यरत रहेकाे खुलेकाे छ । अनवर भने हाल भारतमा रहेकाले पसल नातामा उनका भाइ पर्ने अकबर खानले चलाउँदै आएका थिए । राजुले प्रारम्भिक बयानमा चराको अवैध व्यापारबारे अनभिज्ञ रहेको बताएपछि थप अनुसन्धान हुँदा उनको पुरानो धन्दा खुलेको थियो । यस्तै, गुड्डु खानले स्वयम्भूमा ‘बिक एन्ड विङ्स’ पसल सञ्चालन गरेका थिए ।

२ लाख रुपैयाँसम्म बिक्री हुन्छन् चरा

सरकारले २०६८ मा जारी गरेको पन्छीपालन नीतिअनुसार कुखुरा, हाँस, बट्टाई, लौकाट, टर्की, परेवा, अस्ट्रिच, कालिज र च्याखुरा मात्रै पालन गर्न पाइन्छ । अन्य चराहरू पाल्न नपाइने कानुनमा स्पष्ट छ । नीतिमा उल्लेख भएबाहेकका चराको व्यापार व्यवसाय गरे कानुनअनुसार कारबाही हुने व्यवस्था छ ।

सोखका रूपमा पालन गरिने चराको माग बढेपछि व्यापार पनि फैलँदो छ । जिल्ला वन कार्यालयको पछिल्लो २० वर्षको तथ्यांक हेर्ने हो भने हरेक वर्ष सयभन्दा बढी विभिन्न प्रजातिका चराहरू किनबेचका क्रममा छापा मार्दा बरामद हुने गरेका छन् । यो अवधिमा १९ सय १९ वटा चरा बरामद भएको वन कार्यालयको तथ्यांकमा छ ।

बजारमा सबैभन्दा बढी रुपमा अवैध बिक्री हुने 'लभ बर्ड्स' चराको एक जोडी १५ सय रुपैयाँमा किनबेच हुने गरेको खुलेको छ । चरासँगै त्यसलाई चाहिने खोर र दानापानीमा खर्च हुने भएकाले यिनको वार्षिक खर्च मात्रै हजारौं हुन्छ । चरा किनबेच गर्नेले पिँजडा र दानाको पनि कारोबार गर्दै आएका छन् ।

नेपालमा तस्करहरूले उत्तर र दक्षिण अमेरिकामा पाइने लामो पुच्छर हुने रंगिबिरंगी मकाउ पनि बेच्ने गरेका छन् । मकाउ चरा २ लाख रुपैयाँसम्ममा किनबेच हुने गरेको खुलेको छ । यस्तै, ग्रे प्यारोट १ लाख रुपैयाँसम्म र रैथाने सुगाका प्रजाति २५ सय रुपैयाँसम्ममा किनबेच हुने गरेको छ । यस्तै, युरोप र उत्तर अमेरिकामा पाइने सुगाका विभिन्न प्रजाति तस्करहरूले ५० देखि ७० हजार रुपैयाँसम्म बिक्री गर्दै आएको अनुसन्धान क्रममा खुलेको छ ।

पुस्तौंदेखिको पेसा

बरामद चराको प्रजातिको आधारमा वन कार्यालयले ५ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी छ । आरोपीहरूको पुस्तैनी पेसा नै चरा पक्रने, डुलाउने र बेच्ने भएको खुलेपछि कसरी मुद्दा अगाडि बढाउने भन्नेमा बहस पनि भइरहेको छ । नेपालको कानुनद्वारा निषेधित काम गरेको पाइएकाले मुद्दा चलाउन विभिन्न काेणबाट अनुसन्धान अघि बढाइएको छ ।

अर्याल भन्छिन्,‘५/५ वर्ष जेल सजाय भोगेर निस्किएको मान्छे फेरि त्यही पेसामा लाग्छ भने हाम्रो संरक्षणको दायरालाई अब नयाँ ढंगबाट सोच्नु जरुरी छ । यो घटनालाई पनि हामीले फरक किसिमले लिएका छौं ।’

कार्यालयका वन्यजन्तु अपराध शाखाका अधिकृत पराजुली भन्छन्,‘यो घटनामा बाबुछोरा नै पक्राउ परेका छन् । उनीहरूले हजुरबुबाको पालादेखि चरा बेच्दै जीविकोपार्जन गर्दै आएको खुलेको छ ।’

शरफुद्दीन पटनाबाट १३ वर्षको उमेर हुँदा नेपालमा आएको देखिन्छ । उनले बाबुकै पेसा पछ्याएका हुन् । उनको छोराले पनि त्यही काम गरेको पाइएको छ । 'हामीले यो केसलाई भिन्न तरिकाले एड्रेस गर्नुपर्ने अवस्था आएको छ,’ अर्यालले भनिन् ।

२० वर्षमा ५५ भारतीय, २८ चिनियाँ नागरिक पक्राउ

वन्यजन्तुको अवैध व्यापार तथा ओसारपसारको घटनामा २० वर्षमा काठमाडौंमा ५५ जना भारतीय नागरिक पक्राउ परेका छन् । यस्तै, २८ जना चिनियाँ नागरिक पक्राउ परेको जिल्ला वन कार्यालयले जनाएको छ । अपराधका घटनामा १२ सय ६५ जना संलग्नमध्ये ११ सय ७१ जना नेपाली नागरिक रहेको पराजुलीले बताए ।

सबैभन्दा बढी आरोपीहरू नुवाकोटका छन् । पक्राउ परेकाहरूमध्ये १ सय ५९ जना नुवाकोटका र दोस्रोमा १ सय १६ जना काठमाडौं बस्ने संलग्न थिए ।

काठमाडौंको हकमा सबैभन्दा बढी घटनाहरू बालाजुमा २४, गोंगबुमा १६, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७ र स्वयम्भूमा १६ वटा भएका थिए । माछापोखरीमा ११ र कलंकीमा १० वटा वन्यजन्तु अपराध सम्बन्धीका घटनामा आरोपीहरू पक्राउ परेको वन कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

सोही अवधिमा १९ सय १९ वटा चरा, १३६ वटा चितुवाका अखेटोपहार, रेडपान्डाका १२० वटा, सालकका ८१ वटा र गैंडाका ३१ वटा अखेटोपहार बरामद भएको वन कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र ४, २०८० १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?