कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बिमा रकम लिन आफ्नै टिपरमा आगजनी, पोल खुलेपछि तीन पक्राउ

टिपरमा आगजनी भएको र बिमा प्रयोजनका लागि सिफारिससमेत मागेकाे निवेदनमा शंका लागेपछि प्रहरी अनुसन्धान
लिला श्रेष्ठ

ललितपुर — चार महिनादेखि बिग्रिएर थन्किएको आफ्नो टिपर मर्मत गर्नुको साटो आफैं आगो लगाइ बिमाको रकम लिन षड्यन्त्र गरेको गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिपरधनी, उनका चालक भाइ र एक जना सहयोगी छन् ।

बिमा रकम लिन आफ्नै टिपरमा आगजनी, पोल खुलेपछि तीन पक्राउ

काठमाडौंको कोटेश्वर बस्ने रामेछापको मन्थली-१२ का ३४ वर्षीय प्रदीपकुमार खत्रीले १३ महिनाअघि प्रदीपले मासिक किस्ता तिर्ने गरी १३ लाख रुपैयाँमा एउटा टिपर किनेका थिए । बा३ख २८९४ नम्बरको उक्त टिपर उनका टीकाथली बस्ने ३३ वर्षीय भाइ भीमसेन खत्रीले चलाइरहेका थिए । उक्त टिपर बिग्रियो । मर्मत गर्न धेरै पैसा लाग्ने भयो । नबनाएपछि टिपर ललितपुरको गोदावरी-१२ ठेंचोस्थित नख्खुखोला करिडोर सडकखण्डमा चार महिनादेखि थन्कियो । उनीहरुले मर्मत गराएनन् ।

एउटा रात उक्त टिपरमा आगो लाग्यो । टिपरमा आगो लगाउने व्यक्तिहरूको खोजी गरी कारबाही गर्न माग गर्दै प्रदीपकुमार खत्री प्रहरी वृत्त चापागाउँमा पुगे । उनले निवेदनमा बिमा प्रयोजनार्थसमेत आवश्यक सिफारिस गरिदिन अनुरोध गरेका थिए । खत्रीले पेस गरेको निवेदनमा प्रहरीलाई शंका लाग्यो ।

अनुसन्धान अघि बढाउँदा बिमा रकम हात पार्न आफ्नै टिपरमा आगजनी गरेको खुलेको प्रहरीले जनाएको छ । टिपर चलुन्जेल चलाए, बिग्रिएपछि उनीहरु बनाउनेतिर लागेनन्, बरु बिमा रकम हत्याउने योजना बनाए । टिपर सञ्चालक प्रदीपको योजनाबमोजिम रंगबहादुर र भीमसेनको मिलेमतो र संलग्नतामा साउन १२ गते राति सवा १ बजे पेट्रोल छर्केर आगो लगाइएको अनुसन्धानमा खुलेको ललितपुर प्रहरी प्रवक्ता एसपी नवराज कार्कीले बताए ।

घटना खुलेपछि तीन जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा खत्री दाजुभाइसँगै टीकाथली बस्ने सिन्धुली दुधौली-१४ का २५ वर्षीय रंगबहादुर बुढाक्षेत्री छन् । उनीहरुविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा चलाउन ललितपुर जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए ।

प्रकाशित : श्रावण ३१, २०८० २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?