कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

कागखोलामा पहिरो फुट्दा कागबेनीमा बाढी

गोविन्द पोखरेल

काठमाडौँ — पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बजारस्थित कागखोलामा आइतबार राति ७ बजेर ४० मिनेटमा एक्कासि बाढी आएको थियो । बाढीका कारण कागबेनी लोमान्थाङ जाने पक्की पुल र काठे पुल बगाएको छ । बजार क्षेत्र लेदोमग्न भएको नेपाली सेनाले जनाएको छ ।

कागखोलामा पहिरो फुट्दा कागबेनीमा बाढी

भारी वर्षाका कारण मुक्तिनाथ क्षेत्रमा बाढी आएको चर्चा चलेपनि प्रारम्भिक अनुसन्धानमा खोला फुटेर एक्कासि बाढी आउँदाको असर रहेको पाइएको हो । जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट सनिल पोखरेलले कागबेनी दोभानमा कालीगण्डकीसँग मिसिने कागखोला मुक्तिनाथ क्षेत्रमा थुनिएर एक्कासि फुट्दा तटीय क्षेत्रमा बाढी आएको बताए ।

'कागखोला माथितिर खोला थुनिएर त्यहाँ जम्मा भएको लेदोसहितको गेग्रान फुट्दा एक्कासि बाढी आयो,' वरिष्ठ हाइड्रोलोजिस्ट पोखरेलले कान्तिपुरसित भने,'एक्कासि बाढी आउँदा तटीय क्षेत्रमा असर गरेको हो । भारी वर्षालेभन्दा पनि पहिरो फुटेर यो बाढी आएको हो ।'

कागबेनीमा कागखोला र कालीगण्डकीको दोभान छ । त्योभन्दा माथि मुक्तिनाथ क्षेत्र हुँदै कागखोला आउँछ । कागखोलामा पहिरो खसेर थुनिँदा एक्कासि पहिरो फुट्दा तटीय क्षेत्रमा बाढी आएको विभागले जनाएको छ ।

विभागले कागबेनीदेखि करिब १२ किलोमिटर तल रहेको जोमसोम जलमापन केन्द्रमा पानीको जल सतह घटना घटेपछि राति ८ बजेर १० मिनेटमा मापन गर्दा २.३५ मिटर रहेको थियो । जबकि राति ९ बजे घटेर १.६५ मिटर पुगेको थियो । पुनः राति साढे ९ बजे जलसतह वृद्धि भएर २ दशमलव १० मिटर पुगेको थियो भने राति ११ बजे एक्कासि जलसतह अधिकतम २ दशमलव ७७ मिटर पुगेको थियो । जबकि गत वर्षको असोजमा जोमसोम जलमापन केन्द्रमा जलसतह ३ दशमलव ५२ मिटर हुँदा यति धेरै क्षति गरेको थिएन । विभागले जमेको पानी फुटेर निस्किँदा असर गरेको जनाएको हो ।

विभागले यही जल सतहमा भएको एक्कासि घटबढलाई आधार मान्दै माथिल्लो तटीय क्षेत्रमा पहिरो फुटेको जनाएको छ । विभागका अनुसार कागखोलाको माथिल्लो क्षेत्र थुनिएर पानी जम्मा भएर ताल निर्माण भएर फुटेको जनाएको छ । एक्कासि ताल फुट्दा गेग्रान र लेदोसहितको बाढी आएको पोखरेलले जानकारी दिए ।

कागबेनी क्षेत्र जलमग्‍न भएपछि नेपाली सेनाको सहयोगमा स्थानीयलाई करिब ५ सय मिटरमाथि पर्ने कागबेनी-मुक्तिनाथ सडक खण्ड नजिक सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिएको जनाएको छ । सेनाले सोमबार बिहानैदेखि सो क्षेत्रमा उद्धार कार्य गरिरहेको जनाएको छ ।

सेनाका अनुसार हालसम्म कुनै पनि मानविय क्षति नभएको र भौतिक क्षतितर्फ कागबेनी बस्तीमा ३१ वटा घर/होटल जोमसोम कोरोला सडकको पक्की पुल, झोलुंगे पुल, २ वटा गाडी र ३ वटा विद्युतीय पोल बगाएको छ ।

प्रभावित क्षेत्रमा जताततै बाढीग्रस्त हुँदा सबै ठाउँमा पुग्न कठिनाइ भएको र तथ्यांक संकलन गर्न गाह्रो भएको सेनाले जनाएको छ ।

प्रकाशित : श्रावण २९, २०८० १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?