कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

राजनीतिक दलहरूले संसद्‍लाई प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूलाई संसद्‍ प्रभावकारी बनाउने गरी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

राजनीतिक दलहरूले संसद्‍लाई प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे

संसद्‍ जनअपेक्षा अनुसार चल्न नसकेको आम अनभूति भइरहेको उल्लेख गर्दै उनले त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक पार्टीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

६५ औं संसद्‍ दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद्‍ जनप्रतिनिधिहरुको सर्वोपरी संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउन पूर्व संसद्‍ क्लवभित्र छलफल गर्न उपयुक्त हुने पनि बताएका थिए ।

राष्ट्र र जनताको आवश्यक्ता अनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्ने पनि सभामुख घिमिरेको भनाइ थियो ।

‘मलाई लाग्छ–संसद्‍ प्रभावकारी हुनुपर्छ । यसमा कुनै बहस र विवादको विषय छैन । प्रभावकारी कति हुँदा हुन्छ ? यसको नापो पनि यति हुनुपर्छ भन्ने हुन्न होला । तर जे भए पनि जनअपेक्षा अनुरुपको हुन सकिरहेको छैन भन्ने आम अनभूति छ जस्तो मलाई पनि लाग्दछ । यसलाई प्रभावकारी पार्नमा मूलतः राजनीतिक पार्टीहरुको भूमिका प्रभावकारी हुन्छ । पार्टीहरुमार्फत् नै जनताले विश्वास दिनु भएको छ । र, त्यो विश्वासको प्रतिनिधिको रुपबाट माननीय सांसदज्यूहरु आएर यहाँ भूमिका निर्वाह गरिरहनु भएको छ,' सभामुख घिमिरेले भने ।

संघीय संसद्‍ सर्वोपरी संस्था भएकाले यसले काम गर्न सकिरहेको छ कि छैन भनी छलफल र बहस आवश्यक रहेको उनले बताएका थिए । साथै संसद्‍ले आवश्यकता र खाँचो अनुसार काम गर्न नसकेको भए वा कानुनको अभाव भएमा कानुन बनाउनुपर्ने पनि उनको सुझाव थियो ।

साथै संविधान वा कानुन नै बाधक भए यस्ता विषयमा छलफल चलाउन पूर्व सांसद क्लव उपयुक्त हुने उनको सुझाव थियो ।

प्रकाशित : असार १६, २०८० १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?