१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

बल्ल आमाका नामबाट नागरिकता

‘बाबु नहुँदा जति पीडा थियो, त्योभन्दा बढी नागरिकता नहुँदा भोग्नुपर्‍यो’

उदयपुर, धनकुटा — बाबुको पहिचान नहुँदा नागरिकता पाउन नसकेकी उदयपुरगढी गाउँपालिका–८ खोल्मेकी २२ वर्षीया कमलकुमारी मगरले बल्ल आमाका नामबाट नागरिकता पाएकी छन् । काठमाडौंमा स्नातक तेस्रो वर्ष पढिरहेकी उनले जिल्ला प्रशासन कार्यालय उदयपुरबाट मंगलबार आमा रमिला मगरको नामबाट नागरिकता लिएकी हुन् । 

बल्ल आमाका नामबाट नागरिकता

‘नागरिकता नहुँदा भविष्य नै अन्योल होला जस्तो थियो । बल्ल पढाइले सार्थकता पाएको छ, अब पढाइ पूरा गर्छु,’ उनले भनिन्, ‘बाबु नहुँदा जति पीडा थियो, नागरिकता नहुँदा त्योभन्दा बढी थियो ।’ भर्नादेखि परीक्षाका लागि भरिने फाराममा बुबाको नाम उल्लेख गर्नुपर्ने प्रावधानले बेलाबेला झस्काउने गरेको उनले सुनाइन् । क्याम्पसले स्नातक तेस्रो वर्ष पढ्दासम्म नागरिकता पेस गर्नुपर्ने सर्त राखेको थियो । ‘अब सबैभन्दा पहिले नागरिकता क्याम्पसमा लगेर बुझाउँछु,’ उनले भनिन्, ‘ढिलो भए पनि राज्यले न्याय गरेको छ ।’

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका हातबाट नागरिकता लिइरहँदा उनकी आमा ४० वर्षीया रमिला पनि छेउमै थिइन् । ‘छोरीको नागरिकता बनाउन काम लाग्ला भनेर बाउको एउटा फोटो राखेको थिएँ,’ रमिलाले भनिन्, ‘त्यो फोटो पनि घर आगलागी हुँदा जल्यो ।’ ठेगाना नै यकिन नभएका श्रीमान्को अनुहार पनि बिर्सेको उनले बताइन् । ‘घर कहिले रामेछाप, कहिले दोलखा भनेर ढाँटेकाले पतिलाई खोज्ने ठेगाना नै थाहा भएन,’ उनले भनिन् ।

०५६ सालमा एसएलसी उत्तीर्ण गरेकी रमिला नेपाल रेडक्रसको सहयोगमा गाउँमा अनौपचारिक शिक्षा पढाउँदै थिइन् । तालिमका सिलसिलामा जनकपुर पुगेकी उनको एक मंगोलियन अनुहारका युवकसँग सम्बन्ध भयो । गर्भवती भएपछि ४/५ महिना सँगै बसे पनि बस्दा भएका सबै प्रमाण नष्ट गर्दै बेपत्ता भएको उनले सुनाइन् । २०५८ चैतमा माइती घरमै उनले छोरी जन्माइन् । ४ महिनापछि नाबालक छोरी बोकेर पति खोज्न रामेछाप गए पनि पत्ता लगाउन नसकेको उनको भनाइ छ ।

‘नाम–थर–ठेगाना केही थिएन, सँगै बस्दा पहिचान गरेको अनुहार र एउटा फोटो मात्रै थियो,’ रमिलाले भनिन्, ‘त्यसरी खोज्न जाँदा कसरी भेट्नु ?’ छोरीको विद्यालय जाने उमेर भएपछि आमाको मात्रै नाम उल्लेख गरेर जन्मदर्ता गरिदिएको उनी बताउँछिन् । बाबु नहुँदा नागरिकता बनाउन भोगेको समस्याभन्दा बढी सामाजिक व्यवहारले पोल्ने गरेको उनले सुनाइन् ।

रमिला वैदेशिक रोजगारीका क्रममा १३ वर्षयता दुबईको एक होटलमा हाउसकिपिङको काम गर्छिन् । छोरीको नागरिकताका लागि उनी धेरै पटक नेपाल आइन् तर रित्तो फर्किइन् । पछिल्लो पटक नागरिकता ऐन संशोधन भएर लागू भएपछि गत महिना पुनः घर आएको उनले बताइन् । अब दुई दिनपछि दुबई फर्किने उनको योजना छ । ‘छोरीकै लागि भए पनि वैदेशिक रोजगारी रोज्नुपर्‍यो,’ उनले भनिन् ।तीन दिनयता जन्मसिद्ध नागरिकका छोराछोरी र स्वघोषणाका आधारमा आमाको नामबाट लिनेसमेत ४६ जनाले नागरिकता लिएका छन् ।

धनकुटा नगरपालिका–७ की १९ वर्षीया सन्ध्या सहनी तीन वर्षदेखि धेरै पटक वडा कार्यालयदेखि जिल्ला प्रशासन धाइन् । बाजेबराजु चार पुस्तादेखि धनकुटामा बस्दै आए पनि उनले नागरिकता पाउने आशा मारेकी थिइन् । हजुरबुबा रामचन्द्र आमासँग व्यापारको सिलसिलामा धनकुटामा पुगेका थिए । बाबु सुरेश धनकुटामै जन्मिए ।

बाबुले २०६४ सालमा जन्मसिद्ध नागरिकता पाएका थिए । आमा अनिताकुमारीले समेत वंशजका आधारमा नागरिकता पाएकी थिइन् । तर, वंशजका आधारमा सन्ध्याले नागरिकता पाउनुपर्ने माग गर्दै आए पनि कानुनी व्यवस्था नभएको भन्दै त्यसबाट वञ्चित थिइन् । नागरिकतासम्बन्धी नयाँ व्यवस्थाले भने उनले वंशज नागरिकता पाएकी छन् ।

‘नागरिकता अभावले जागिर तथा अन्य पेसा वा व्यवसाय गर्न कठिनाइ होला भन्ने पीर अब हटेको छ,’ स्नातक अध्ययनरत उनले भनिन्, ‘अब लोक सेवा तयारीमा लाग्छु ।’

१० कक्षा पढिरहेका उनका भाइ १७ वर्षीय सागर सहनीले पनि वंशजका आधारमा नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । यस्तै, धनकुटा–७ का नरेश तामाङ, ओम तामाङ र गणेश तामाङले आमा तारा तामाङका नामबाट वंशजको नागरिकता पाएका छन् । छथर जोरपाटी गाउँपालिका–५ की गौरी लिम्बूले पनि आमाको नामबाट वंशजको नागरिकता पाएकी छन् ।

प्रकाशित : असार १४, २०८० ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?