कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमाली भेगमै बढ्यो गर्मी

सोलुखुम्बु, काठमाडौं — देशभर तापक्रम बढिरहेका बेला विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा पनि गर्मीले जनजीवन कष्टकर हुन थालेको छ । प्रायः चिसो भइरहने नाम्चे बजारमा एक सातादेखि असह्य गर्मी महसुस गरिएको छ । 

हिमाली भेगमै बढ्यो गर्मी

‘१२ वर्ष अगाडि एक पटक यस्तै गर्मी भएको थियो,’ एक स्थानीयले भने । एक सातादेखि यहाँ टन्टलापुर घाम लागिरहेको छ । दैनिक तापक्रम १२ डिग्री सेल्सियससम्म पुगेको छ । ‘बिहान ८ बजेदेखि साँझ ५ सम्म चर्को घाम लाग्छ, हिमाली भेगका स्थानीयका लागि यो धेरै गर्मी हो,’ स्थानीय व्यवसायी लामाकाजी शेर्पाले भने ।

यसअघिका वर्षमा यो समय यहाँको औसत तापक्रम ४ देखि ५ डिग्री सेल्सियससम्म हुने गर्थ्यो । गर्मीले गर्दा स्थानीय दिउँसो घरबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको स्थानीय छिमिकाल्देन शेर्पा बताउँछन् ।

समुद्र सतहबाट ३४ सय मिटर उचाइमा रहेको नाम्चेमा समेत गर्मी बढ्दा कृषि कर्ममा समेत असर गरेको छ । ‘अहिले आलु गोड्ने सिजन हो, घरबाट खेतबारीसम्म जानै कठिन छ,’ शेर्पाले भने । उच्च हिमाली भेगमा समेत तापक्रम उच्च हुँदा विदेशी पर्यटकले पनि असहज महसुस गरिरहेका छन् ।

आरोहणको सिजन लगभग सकिए पनि अहिले दैनिक १५–२० जना विदेशी पर्यटक नाम्चे पुग्ने गरेका छन् । यता नाम्चेमा तत्काल वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हल्का वर्षाको संकेत देखिए पनि तापक्रम घट्ने गरी पानी पर्ने सम्भावना नदेखिएको मौसमविद् बिनु महर्जनले कान्तिपुरलाई बताइन् । ‘नाम्चेमा छिटपुट वर्षाको सम्भावना त देखिन्छ, तर यसले तापक्रम गिरावटमा योगदान गर्ने देखिँदैन,’ उनले भनिन् ।

त्यसैगरी, सोलुखुम्बुकै स्याङबोचेमा पछिल्ला तीन दिनयता तापक्रम निरन्तर उकालो लागिरहेको छ । मंगलबार १४.१ डिग्री सेल्सियस मापन गरिएको तापक्रम शुक्रबार १५.२ डिग्री पुगेको छ । लुक्ला उपत्यकाको अधिकतम तापक्रम भने शुक्रबार २३.६ डिग्री सेल्सियस पुगेको छ । यहाँ बिहीबार २४.२ डिग्रीसम्म अधिकतम तापक्रम रेकर्ड भएको थियो ।

उता, मुस्ताङको जोमसोममा पनि पछिल्लो चार दिनयता तापक्रममा लगातार वृद्धि भइरहेको छ । मंगलबार १९.२ डिग्री अधिकतम तापक्रम रहेको जोमसोममा बुधबार बढेर २२.४, बिहीबार २२.७ हुँदै शुक्रबार २३.८ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुगेको छ ।

पोखरामा २३ वर्षयताकै गर्मी

पोखरामा पनि २३ वर्षयताकै गर्मी रेकर्ड भएको छ । शुक्रबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३५.९ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ । ‘झन्डै २३ वर्षपछि पोखराको तापक्रम यति धेरै पुगेको हो,’ मौसम विज्ञान कार्यालय प्रमुख मीनकुमार अर्यालका अनुसार सन् १९९९ अप्रिल २८ मा हालसम्मकै बढी ३७.४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । बिहीबार तापक्रम ३५.७ पुगेको थियो ।

अर्यालका अनुसार झन्डै एक सातादेखि पानी नपरेको पोखरामा आगामी बुधबार, बिहीबार बदली भई वर्षा हुने सम्भावना देखिन्छ । मनसुन सक्रिय नभए पनि स्थानीय वायुको प्रभावले वर्षा हुन पनि सक्ने उनले बताए । अत्यधिक गर्मीका कारण बजारमा सर्वसाधारणको चहलपहल घटेको छ ।

देशभर नवलपरासीको नवलपुरमा शुक्रबार सर्वाधिक तापक्रम ४४ डिग्री सेल्सियस मापन भएको छ । सर्लाहीको सिमरामा शुक्रबार ४१.४ तथा कपिलवस्तुको तौलिहवामा ४२.४ डिग्रीसम्म पुगेको छ ।

स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव बिस्तारै देखिन थालेपछि देशका केही ठाउँमा छिटपुट पानी पर्न सक्ने भए पनि आइतबारसम्म तापक्रम अझै बढ्न सक्ने जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ २७, २०८० ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?