कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभामुख घिमिरेलाई स्थानीयले सोधे- 'तातोपानी नाका सर्वसाधारणका लागि कहिले खुल्छ ?'

तातोपानी नाका खुलिसक्यो भनेर खबर पढेको थिएँ, यहाँको समस्या स्थानीयबाट सुनेपछि मात्रै अनुभव गरेँ, सर्वसाधारणका लागि नाका खोल्न पहलकदमी गर्नेछौं : सभामुख देवराज घिमिरे
अनिश तिवारी

सिन्धुपाल्चोक — तातोपानी नाका अझैसम्म नखुलेको विषयमा सीमाक्षेत्रका बासिन्दाले सभामुख देवराज घिमिरेसँग गुनासो गरेका छन् । भोटेकोशी गाउँपालिकाको हिन्दीस्थित एक विद्यालयको कार्यक्रममा सहभागी हुन मंगलबार आएका सभामुख घिमिरेलाई स्थानीय अगुवाले नाकाको जीर्ण अवस्थाबारे ध्यानाकर्षणसमेत गराए ।

सभामुख घिमिरेलाई स्थानीयले सोधे- 'तातोपानी नाका सर्वसाधारणका लागि कहिले खुल्छ ?'

‘बाहिरचाहिँ नाका खुल्यो भनेर व्यापक हल्ला छ तर यहाँ नाकाबाट निर्यात हुन सकेको छैन, आयातसमेत घट्दा स्थानीय र व्यवसायी निराश छन्, साँच्चिकै सभामुखज्यू सर्वसाधारणको लागि नाका कहिले खुल्छ ?,’ स्थानीय व्यवसायी तथा अगुवा दोर्जे लामाले मञ्चमा बसेका सभामुखलाई प्रश्न गरे । कार्यक्रममा सभामुखसहित जिल्लाका प्रशासन, प्रहरी प्रमुख, चिनियाँ राजदूतावासका काउन्सिलर मिस्टर सि वाङ्ग, थर्ड सेत्रेटरी मिस्टर वाङ जुन्फलगायत सहभागी थिए ।

भूकम्पको झण्डै आठ वर्षपछि यही वैशाख १८ मा भोटेकोशी-२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट हप्तादिनअघि मुडा, म्याट्रेसजस्ता सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात खुलाइएको थियो । त्यस दिनबाहेक नेपालबाट केही पनि निर्यात हुन नसक्दा स्थानीय र व्यवसायी निराश छन् । भूकम्प र परकम्पले बन्द हुनुअघि तातोपानीबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामग्री चीनको खासा, सिगात्से र ल्हासा बजारमा निर्यात हुने गर्थ्यो ।

‘यही नाका खोल्छु भनेर धेरैले चुनाव जितेर मन्त्री भए, सभामुख भए तर नाकाको अवस्था अझै सहज बन्न सकेन हजुर, नाका नखुल्दा गाउँ रित्तिन थाल्यो,’ लामाले भने । लामासहित अन्य स्थानीयले सभामुखलाई नाकामा भएको असहजता र कन्टेनरमा निश्चित कम्पनीको सिण्डिकेट, जीर्ण सडक, बाढीपहिरोजस्ता विषयमा समस्या राखेका थिए । भोटेकोसी-२ का अध्यक्ष कुमार श्रेष्ठले नाकाबारे भएको सम्पूर्ण समस्या सभामुखसामु राखेको र उनले प्रतिबद्धता दिएको बताए । ‘नाका नखुल्दा युवा सबै विदेशिए, गाउँमा बुढाबूढीमात्रै भेटिन्छन्, यो समस्या डरलाग्दो हुने देखिन्छ, यसबारे सरकार गम्भीर बन्न हामीले आग्रह गरेका छौं,’ वडाध्यक्ष श्रेष्ठले भने ।

‘नाकाको बिजोग यहाँ आएपछि मात्रै थाहा पाएँ’

सभामुख देवराज घिमिरेले तातोपानी नाकाको दुर्गतिबारे भोटेकोसी गाउँपालिका आएपछि मात्रै आफूले थाहा पाएको बताएका छन् । ‘यसअघि तातोपानी नाका खुलिसक्यो भनेर खबर पढेको थिएँ, यहाँको समस्या स्थानीयबाट सुनेपछि मात्रै अनुभव गरेँ, सर्वसाधारणको लागि नाका खोल्न पहलकदमी गर्नेछौं,’ सभामुख घिमिरेले भने ।

विद्यालयको वार्षिकोत्सव कार्याक्रममा प्रमुख अतिथि भएर आएका उनले संसद्‌मा नाकाको सुखद् खबरमात्रै सुन्दै आएको र अब यसबारे सरकारलाई कूटनीतिक पहलमा जुटाउन आफू अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे । भूकम्प र पराकम्पनपछि शून्यमा झरेको तातोपानी नाका विपद्ले खुम्चाएको र यसलाई उठाउन आवश्यक भौतिक र प्राविधिक तयारीमा कदम चाल्नुपर्ने उनको कथन थियो ।

त्यसैगरी चिनियाँ राजदूतावासका काउन्सिलर मिस्टर सि वाङ्गले चीन नाकाबारे सकारात्मक रहेको बताएका छन् । उनले चीनमा अध्यागमनका भवन, झाङ्मु पोर्ट, पार्क र अत्याधुनिक नापतौल मेसिन राख्ने काम चीन अत्याधुनिक प्रविधि प्रयोग गरेर काम गरिरहेको जानकारी दिएका छन् ।

भूकम्पको चार वर्षपछि मालवाहक रुपमा खुलेको तातोपानी नाकामा सडक,बन्दरगाहदेखि मितेरी पुल चीनको दुई कम्पनी ताइन सुन र सिआरसीसीले बनाइदिएका थिए । ‘चीन नेपालसँगको आपसी मित्रताप्रति संवेदनशील छ, नाकाबारे चीनले सकारात्मक कदम चाल्नेछ,’ उनले भने ।

प्रकाशित : जेष्ठ १६, २०८० १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?