बजेटले आर्थिक संकटको नाडी छाम्न सकेन : पूर्वअर्थमन्त्री पौडेल


काठमाडौँ — एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु पौडेलले बजेटले आर्थिक संकटको नाडी छाम्न नसकेको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संयुक्त सदनमा प्रस्तुत गरेको बजेटमाथि प्रतिक्रिया दिँदै पौडेलले मुलुकको आर्थिक समस्या र चुनौती एकातर्फ बजेट अर्कोतर्फ रहेको बताए ।


‘बजेटले अहिलेको समस्या समेट्दैन । अर्थतन्त्रको संकटलाई समाधान गर्ने पाटो छैन,’ उनले भने,‘समग्रमा भन्दा बजेटले अर्थतन्त्रको नाडी छाम्नै सकेन ।’ १७ खर्ब ५१ अर्बको बजेटमा स्रोत व्यवस्थापनको सुनश्चितता नै नभएको उनको दाबी छ ।
‘खर्चको अनुमान आयो । राजश्व परिचालनको सम्भावना पनि छैन,’ उनले भने,‘६ प्रतिशत आर्थिक वृद्धिदर सम्भावना नै छैन । बजेटमा नारा नै नारा छ । कार्यान्वयन हुने आधार देखिँदैन ।’
मुलुकमा आवश्यक नै नभएको हरेक क्षेत्रको लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको व्यवस्था राख्नु गलत भएको बताए । ‘जनप्रतिनिधि विधायीकामा केन्द्रित हुने हो । आयोजना छान्ने काम सांसदको होइन,’ पौडेलले भने,‘यसले विकृति निम्त्याएकोले हामीले स्थगित गरेका थियौं । फेरी ब्यूँताउने काम भएको छ ।’
