कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यक्तिले गरेको गल्तीको दोष सिंगो प्रणालीलाई दिन मिल्दैन : मन्त्री शर्मा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिनु गलत हुने बताएकी छिन् । उनले व्यक्तिले गरेको गल्तीका आधारमा सिंगो गणतन्त्रलाई नै बदनाम गराउने काम भइरहेकोप्रति सरकार सचेत रहेको बताइन् ।
सामुदायिक सूचना नेटवर्क (सीआईएन)को १५ औँ स्थापना दिवसको सन्दर्भमा आइतबार आयोजित कार्यक्रममा मन्त्री शर्माले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानुनी कामलाई लिएर सिंगो गणतन्त्रलाई नै बदनाम गर्न नमिल्ने दाबी गरिन् ।

व्यक्तिले गरेको गल्तीको दोष सिंगो प्रणालीलाई दिन मिल्दैन : मन्त्री शर्मा

उनले सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने र त्यस्तो व्यवस्थासमेत गणतन्त्रमा मात्रै सम्भव हुने बताइन् ।

'गणतन्त्रको विकल्प गणतन्त्र मात्रै हो । गणतन्त्र दिवस मनाउनु हिजोका राजा महाराजाको जन्मदिन मनाएको जस्तो होइन,' गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा मन्त्री शर्माले भनिन्, 'संघीय गणतन्त्रप्रति आमनागरिकको अपनत्व बढाउनुपर्नेछ, त्यसका लागि सरकार प्रयत्नशील छ । गणतन्त्रको अपनत्व बढाउनकै लागि तीन दिनसम्म भव्यताका साथ गणतन्त्र दिवस मनाउने सरकारको तयारी छ ।'

मन्त्री शर्माले पछिल्ला वर्षहरुमा प्रविधिको विकासलगायत कारणले रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्यप्रति प्रश्न उठ्ने गरेको बताइन् । तर आम नागरिकका समस्याको उठान गर्ने र गुणस्तरीय सामग्री उत्पादन गर्न सके रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्य अझैपनि उज्यालो रहेको उनको भनाइ छ ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले पछाडि रहेका व्यक्ति वा समुदायको कुरा बाहिर ल्याउँदा नै सुशासन कायम गर्न सकिने भन्दै लुकेका कुरा बाहिर ल्याउँदा सरकार जिम्मेवार बन्ने बताए । उनले सरकार, संसद्, सरोकारवाला र सञ्चारलाई सँगै लिएर अघि बढ्न सके सामूहिक रूपमा सुशासन प्रवर्द्धन हुने बताए ।

त्यस्तै, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको मूल प्रवाहिकरणका लागि सरकारले अझै पनि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रमको कार्यान्वयन हुन नसकिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै यसमा सञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अप्ठ्यारो बेलामा रेडियोबाट आउने सामग्री औषधिको रूपमा आउने भएकाले औषधि जोगाउन आवश्यक रहेको बताए । उनले संकटको साथी रेडियो भएकाले यसको व्यवस्थापनमा जुट्नुपर्ने बताए । राज्य सबै क्षेत्रको अभिभावक हुनुपर्नेमा जोड दिँदै उनले रेडियोलाई दिगो रूपमा टिकाउन राज्यले सहयोग गर्नुपर्ने बताए ।

सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका अध्यक्ष अर्जुन गिरीले ग्रामीण तहमा रहेका रेडियो जोगाउन आवश्यक रहेकोमा जोड दिए । उनले विपद्का बेला रेडियो समुदायको सबैभन्दा नजिकको साथी भए पनि सरकारका विभिन्न नीतिलगायत धेरै कारणले मारमा परिरहेको भन्दै सामुदायिक रेडियो बचाउन तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए ।

भूकम्प लगायतका विपद्का बेलामा रेडियोले सचेतनाको काममा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । विपद्लगायत दुःखका बेलामा रेडियोले आम नागरिकको भरोसा बनेको स्मरण गर्दै उनले सामुदायिक रेडियोलाई सरकारले अझै पनि चाहेको जस्तो सहयोग नगरेको गुनासो गरे ।

सो अवसरमा सीआइएनले तीन जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । सीआईएनकर्मी सुनिल राजभारत, रेडियो खुला आकाश जुम्लाका मानबहादुर कुँवर र रेडियो मध्यपश्चिम दाङका सुशीला ओली उत्कृष्ट पत्रकार पुरस्कारबाट पुरस्कृत भएका छन् । पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ छ ।

प्रकाशित : जेष्ठ १४, २०८० १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?