नेतृत्वको आलोचना गरेरमात्र पार्टी सुदृढीकरण हुँदैन : नेता रिजाल


नेपालगन्ज — नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टीका कार्यकर्ताहरु अहिले आत्तिने र निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । यो बेलामा निराश नभई पार्टी बनाउने काममा सक्रिय हुनुपर्ने उनले बताए ।


नेपाली कांग्रेस बाँकेले आइतबार आयोजना गरेको भेटघाटमा सम्बोधन गर्दै रिजालले केही कार्यकर्ताहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा जानु विद्रोह र निराशाको आवाज भएको दाबी गरे । ‘घण्टीप्रतिको आकर्षण विद्रोह र निराशाको आवाज हो, अहिले नै निराश हुने र घण्टीसँग आत्तिनुपर्ने अवस्था केही छैन,’ रिजालले भने ।
पार्टी नेतृत्वको आलोचना गरेरमात्र पार्टी सुदृढीकरण नहुने उनको धारणा छ । यसका लागि सबैले आफ्नो अनुहार ऐनामा देखाउन आवश्यक रहेको उनले बताए ।
भुटानी शरणार्थी प्रकरणमा आरोपितमाथिको अनुसन्धानमा कसैले पनि बाधा पुर्याउन नहुने उनले बताए । सत्ताको आडमा अदालतलाई कुनै पनि दबाब दिन नहुने उनको सुझाव छ ।
यस्तै पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले नेतालाई गाली गरेरमात्र पार्टी रुपान्तरण हुन नसक्ने बताए । नेता, कार्यकर्ताहरु आफै रुपान्तरण हुनुपर्नेमा उनले जोड दिए ।