कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपतिको जलहरीबारे अख्तियारले छानबिन गरिरहेको छ, संसद्‌‌मा उठ्नु उचित होइन : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरमा जलहरीमा राख्ने सुनमा भ्रष्टाचार भएको भनिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताएका छन् । उनले उक्त विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर संसद्मा प्रश्न उठ्नु सही नभएको बताए । 

पशुपतिको जलहरीबारे अख्तियारले छानबिन गरिरहेको छ, संसद्‌‌मा उठ्नु उचित होइन : प्रधानमन्त्री दाहाल

प्रतिनिधिसभाको शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले पशुपतिनाथमा जलहरी राख्ने क्रममा भएको अनियमितताको अख्तियारले स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने बताए ।

उनले पशुपति विकास कोषससँग सम्बन्धित उक्त विषयको छानबिनमा सरकारले सघाउने पनि बताए । 'पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानीत सदनमा चर्चा उठेको छ । पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास को‍षको हो र सोही संस्थाले काम गरेको विषयमा विवाद छैन,' उनले भने, 'जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन भइरहेको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ । पशुपति विकास कोषमा लगाइएको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसद्को रेकर्डबाट हटाउने व्यवस्था पनि रहेकै छ ।'

प्रधानमन्त्री दाहालले बाँकी विषय नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा राख्ने बताउँदै संसद्को रेकर्डबाट उक्त विषय हटाउन सकिने बताएका थिए । जेठ १० को प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालमा पशुपतिनाथमा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको र सुनको ठाउँमा पित्तल राखेको बताएका थिए ।

प्रकाशित : जेष्ठ १३, २०८० १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?