२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९
सक्कली शरणार्थीको व्यथा

बन्दी छोरा भेट्न नपाएका आमाहरू

भुटान सरकार र अन्तर्राष्ट्रिय रेडक्रसले दिएको भ्रमण अनुमतिपत्र साथैमा भए पनि भारतले रोकेपछि शरणार्थी दुई आमाले चेम्गाङ जेलमा थन्किएका छोरा भेट्न पाएनन्

जयगाउँ, भारत — नक्कली शरणार्थीका नाममा ठूलो गोरखधन्दा चलिरहेका बेला झापा, बेलडाँगीको शिविरमा बस्ने दुई सक्कली शरणार्थी आमाहरूको हतारो आफ्नै काइदाको देखिन्थ्यो । वैशाखको अन्तिम आइतबार बिहान सखारै डम्बरकुमारी अधिकारी र कलावती मगर मेचीपुल नाघेर पानीटंकी–सिलिगुढीतिर जाने क्रममा थिए । 

बन्दी छोरा भेट्न नपाएका आमाहरू

यी आमाहरूका साथमा ५/७ वटा ठूला ब्याग र आ–आफ्ना हातेझोला थिए, भुटानी रंग–प्रकारको मजेत्रोले मुख ढाक्दै उनीहरू एकअर्कामा बात पनि मार्दै थिए– ‘आज अलिक चाँडै फुन्चोलिङ पुग्न पाए माथि जेलमा खबर पुग्थ्यो होला, भोलि बिहानै चेम्गाङ उक्लिन सजिलो हुन्थ्यो नि ।’

संयोगले आमाहरूसँगै हामी पनि बेलडाँगीबाट बाटो लाग्यौं– भारतको जयगाउँ, पासाखातिर । मेचीपुल तरेपछि झन्डै २ सय किलोमिटरको यात्रापछि पुगिन्छ जयगाउँ (भारत)–फुन्चोलिङ (भुटान) साँधसीमा । त्यो लामो बाटोमा सहयात्री बनेका उमेरले ६० नाघेका आमाहरूले मनमा थुप्रिएर बसेका वर्षौंवर्षका गुम्फनहरू निरन्तर पोखिरहे । ‘हाम्रा छोराहरू झेल (भुटानी लवज) मा छन्, १५ वर्ष बितिसक्यो खोरमा बसेको,’ डम्बरकुमारी बोल्दै थिइन्, ‘तिनेरलाई नभेटेको पनि ५ वर्ष छुनै लागेछ । त्यही भएर बल्लतल्ल मौका जुरेकाले हामी छोरा भेट्न हिँडेका नि ।’

जातीय सफायाको लुकेको पाटो : तीन दशकदेखि भुटानी जेलमा राजबन्दी

विगतमा वर्षको एक पटक वा कहिलेकाहीं दुई पटकसमेत जेलमा रहेका छोरा भेट्न जाने गरेकामा पछिल्ला वर्ष भने कोरोना र लकडाउनका कारण देखाएर भुटानले ‘विशेष कारणबाहेक’ देशभित्र कसैलाई पनि आवागमन अनुमति दिएकै थिएन । अहिले आएर शिविरका दुई आमाले भुटान सरकारको अनुमतिसँगै आईसीआरसीको पत्र पाएका रहेछन्– चेम्गाङ जेलसम्म जानका लागि । त्यही पत्र पनि आईसीआरसीको काठमाडौं कार्यालयले नयाँदिल्लीस्थित मुख्यालयबाट पाएको रहेछ, वर्ष दिनको तारन्तारपछि ।

भुटानको चेम्गाङ जेलमा रहेका छोरा भेट्न निस्केका झापा बेलडाँगी शिविरका डम्बर कुमारी अधिकारी र कलावती मगर आईसीआरसीको अनुमतिपत्र देखाउँदै। तर , उनीहरूलाई जयगाउँ–फुन्चोलिङ नाकाबाटै भारतले फर्काइदिएको छ । तस्बिर : देवेन्द्र भट्टराई/कान्तिपुर

भुटानको दागानामा जन्मे–हुर्केकी डम्बरकुमारी र गेलेफुको ललै ब्लककी कलावती सन् १९९२ अप्रिलमा भुटानबाट लखेटिएका आमाहरू हुन् । आ–आफ्ना स–साना लालाबाला लिएरै शरणार्थी शिविरमा आइपुगेका उनीहरू सुरुमा गाँस–बास–कपासकै जोहो गर्न लागिपरे । डम्बरकुमारीका छोरा ओमनाथ र कलावतीका छोरा सुकमान साथीसाथी थिए, शिविरमा पनि । यी दुईसहित शिविरका ११ जना केटाहरू आफ्नो पुरानो थातथलो हेर्न भुटान गएका बेला साम्जोङ्खर बोर्डरमा पक्राउ परेका थिए ।

सन् २००८ मार्चमा पक्राउ पर्नेमा ओमनाथ, सुकमानसहित बिर्खबहादुर क्षत्री, हस्तबहादुर राई, सन्मान गुरुङ, चतुरमान गुरुङ, नन्दलाल बस्नेत, गोविन्द निरौला, आइतराज राई, खगेन्द्र खनाल र कुमार गौतम थिए । देशद्रोही, आतंककारी र राजनीतिक उपद्रवकारीको अभियोग लागेका यी सबैलाई आजीवन कारावास तोकिएको छ, यसको अवधि कति हो भन्ने कसैलाई थाहा छैन । चेम्गाङ जेल भुटानको राजधानी थिम्पूबाट ७ किलोमिटर दूरीमा छ ।

‘हो, त्यो बेलादेखि यी सबै छोराहरू चेम्गाङ जेलमै बसेका छन्, जेलमा बसेका अरू छोराका आमाबाबु वा घरपरिवार आज शरणार्थी शिविरबाटै अमेरिका र अरू देशमा पुगिसकेका छन्, म र कलावती भने जेलको छोरो फर्किएला र सँगै केही गरौंला भनेर शिविरमै पर्खिबसेका छौं,’ डम्बरकुमारीले सुनाइन् ।

यी दुई आमाले बल्लतल्ल भुटान जेलमा जान पाएको खबर शिविरभित्र केही दिनमै फैलिएको थियो । अनि यो खबर अमेरिका, क्यानडासम्म पनि पुगेको थियो । अनि त आ–आफ्ना छोराका लागि ‘यो पोको लगिदिनु है’ भन्दै देशदेशावरबाट सामान आउन थालिहाल्यो । त्यही भएर ५/७ वटा भरिभराउ ब्यागमा आफ्ना छोराहरूसहित डम्बर पुलामी, बिर्ख क्षेत्री, चतुरमान तामाङ, भीमबहादुर राई, मधुकर मगर, भक्त राई र अरूहरूका जुत्ताचप्पल, टिसर्ट, ज्याकेटदेखि चिउरा–भुजियासम्मका पोका–पुन्तुरा उनीहरूकहाँ थुप्रिएका रहेछन् । ‘जो जे होस्, जेलमा सँगै बसेका सबै छोराहरू हामीलाई आमा आइछ भन्दै छाँद हाल्न आउँछन्, अनि सबैका लागि मायाको चिनो लैजानैपर्‍यो नि,’ कलावती थप्दै थिइन् ।

१५ वर्षदेखि चेम्गाङ जेलमा रहेका सुकमान मगर ।

यसरी शिविर छाडेर हिँड्दा डम्बरकुमारीको छाप्रोमा एउटी छोरी धनमाया र नाति मात्रै कुरुवाझैं बसेका थिए । ज्वाईं भने पुनर्बासमा अस्ट्रेलिया गइसकेका छन् । कलावतीका छोरा सुकमानको भने बेलडाँगी छँदै विवाह भएर एउटी छोरीसमेत जन्मिएकी थिइन् । अहिले बुहारी हेमादेवी र नातिनी अमेरिका पुनर्वासमा पुगेका रहेछन्, शरणार्थी शिविरको छाप्रोमा कलावती र बाबु नरबहादुर मात्रै बस्ने गरेका छन् ।

नियमअनुसार जयगाउँ–फुन्चोलिङ सीमावर्ती बिन्दु भारतको अध्यागमनबाट पारि गएर भुटानतर्फ आईसीआरसीको अनुमतिपत्र बुझाउनुपर्ने रहेछ । आईसीआरसीले दिल्ली र काठमाडौंबाट यी आमाहरू चेम्गाङ जेलमा छोरा भेट्न जाँदै गरेको खबर गरिसकेको हुने रहेछ । भुटान छिरेपछि भुटान सरकारकै प्रहरी–प्रशासनले आफ्नै गाडीमा राखेर चेम्गाङ लैजाने रहेछ ।

भुटानी जेलका राजबन्दीबारे परिवारजन ‘बेखबर’

जेलमा पुगेपछि एउटा पाहुना घरमा राखिने रहेछ, जहाँ आ–आफ्ना छोराहरू दुई दिन दुई रात सँगै बस्न आउने रहेछन् । अनि सँगै पकाउने, खाने र वर्षौंवर्ष रोकिएको आमाछोराको संवाद दिनरात नभनी चल्ने रहेछ । त्यही बेला आफूले चिनेका र शिविरबाट गएर थुनामा परेका जोसुकै छोराहरू पनि भेट्न चाहेमा भेट्न सकिने रहेछ । ‘चाडपर्व आउँछ, घरपरिवारको भेला चल्छ,’ आमाहरू एकै सारमा भन्दै थिए, ‘तर छोरो हुन्न । त्यो पनि कहाँ हो कहाँ, जेलमा थन्किएको छ भन्ने सम्झेर मन रुन्छ मात्रै । यसरी अनेक जोडबलले पाएको अवसरमा भुटानको माटो मात्रै छुन पाउँदा पनि छोराको नजिकै पुगेजस्तो हुन्छ, फुन्चोलिङ गेट छोएमात्रै पनि जेलभित्रको छोरो भेटिएजस्तो हुन्छ ।’

भुटानभित्र थुनिएका राजबन्दीसहित अरू बन्दीहरूका बारेमा बहस पैरवी गर्दै आएका अन्तर्राष्ट्रिय रेडक्रस, एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट वाच कसैले पनि भुटानभित्रको जेल निरीक्षण गर्न नपाएको वर्षौं भइसकेको छ । नियमअनुसार आईसीआरसीले हरेक वर्ष भुटानको केन्द्रीय जेल चेम्गाङ भ्रमण गर्न पाउने गरेको भए पनि यो प्रबन्ध १३ वर्षयता अवरुद्ध छ ।

कम्तीमा नेपालका शरणार्थी शिविरमा रहेकामध्ये भुटानी जेलमा बस्नेका परिवार सदस्यले बर्सेनि जेल भ्रमणमा जान पाउने गरेका थिए । त्यही व्यवस्था पनि कोरोना र लकडाउनका कारण स्थगित भएको चार वर्ष भइसकेको छ । यस पटक त्यही पुरानो अनुरोधको सूचीमा परेर दुई आमाले भुटान प्रवेशको अनुमति पाएका हुन् ।

‘यो विगत लामो समयदेखि अल्झिएको प्रक्रिया सदर भएको अवस्था हो, हामीकहाँ अनुरोध गर्दा चार परिवारले भुटान जेल भ्रमणका लागि निवेदन पठाउनुभएको थियो, यसबीचमा अरू दुई परिवार विदेश गइसक्नुभएको रहेछ, हामीले हाम्रो मुख्यालयबाट पाएको पत्रमा चार जनाकै नाम थियो, त्यसले पनि अप्ठ्यारो पारेको हुन सक्छ,’ आईसीआरसीको काठमाडौं कार्यालयका अधिकारीले भने, ‘यसरी भारतीय नाका अध्यागमनले शरणार्थी प्रमाणित प्रतिनिधिलाई भुटान जानबाट रोक लगाएको पनि यो पहिलो घटना हो । हामीले यसबारेमा दिल्लीस्थित मुख्यालय र भुटानमा पनि अवगत गराएका छौं । अब चाँडै आमाहरूलाई आफ्ना छोरा भेट्न पाइने प्रबन्धसहितको व्यवस्था गर्नेतर्फ कुराकानी अघि बढेको छ ।’

यस पटक आईसीआरसीले दिएको भ्रमण अनुमतिपत्रमा चेम्गाङ थुनामै रहेका सुकमान गुरुङ र खगेन्द्र खनालका परिवार सदस्यको पनि नाम थियो । उनीहरू यसै वर्ष अमेरिका/क्यानडा पुनर्वासमा गइसकेका छन्, आफ्ना छोराहरूलाई भुटानी जेलभित्रै छाडेर ।

अनेक हन्डर–ठक्कर बेहोर्दै आमाहरू झापाबाट हिँडेको साँझ जयगाउँ–फुन्चोलिङ पुगेका थिए । उनीहरू आईसीआरसीले दिएको पत्र र आफ्नो शरणार्थी परिचय बोकेर सीमावर्ती भारतीय अध्यागमन कार्यालय पुगे तर त्यहाँ पुग्नासाथै भारतीय अधिकारीले चर्को स्वरमा भनेछन्, ‘आईसीआरसीको यो पत्रमा शरणार्थीका चार परिवार भनिएको छ । तिमीहरू यहाँ दुई जना छौं । अरू दुई जना कहाँ गए ? ती अर्कै बाटोबाट भुटान छिरिसकेको हुन सक्छ, तिमीहरू पनि त्यही बाटोबाट जानू ।’

अक्क न बक्क हुँदै दुवै जना आमाले जयगाउँकै होटलमा त्यो रात बिताए । भोलिपल्ट बिहान अध्यागमन खुल्नासाथै फेरि त्यहीं हाजिर भए । यो पटक त झन् अब पासपोर्ट र भिसा लिएर आउनु, अनि मात्रै पारि जान पाइएला भनेर भारतीय अधिकारीले झपार्दै फर्काइदिएछन् । ‘हामीले थुप्रै पटक अनुरोध गर्‍यौं, विगतमा थुप्रै पटक यही पत्रका भरमा भुटान गएको कुरा सुनायौं तर कसैले सुनेन,’ आमाहरूले व्यहोरेको हैरानी सुनाए, ‘अनि दोस्रो रात पनि जयगाउँ होटलमा बास बस्दै तेस्रो दिन फेरि बेलडाँगी फिर्‍यौं । साथमा लगेका झोलाहरू जयगाउँमै एक जना चिनारु नेपालीकहाँ छाडेर आयौं ।’

१५ वर्षदेखि चेम्गाङ जेलमा रहेका ओमनाथ अधिकारी ।

यसरी छोरा भेट्न हिँडेका आमाहरू भारतीय प्रशासन र अधिकारीको नचाहिँदो झमेला व्यहोरेर अहिले बेलडाँगी शिविर फिरिसकेका छन् । ‘सर, अब फेरि कहिले पो ओमनाथ र सुकमानलाई भेट्न चेम्गाङ जान पाइएला ? कि ती छोरा नभेटी हामी माथि पो जाने हौं कि ?’ बेलडाँगी आएर पनि डम्बर र कलावतीले आईसीआरसी काठमाडौंका प्रतिनिधिहरूलाई फोनमा बिन्ती सुनाउँदै थिए, ‘अब भने भारतले नरोक्ने गरी कागज बनाइदिनुहोला, जेलका छोरा भेट्न आएका आमा भनेर भुटानले त बरु नरोक्ला ।’

प्रकाशित : जेष्ठ १३, २०८० ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?